देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशमा कोरोना संक्रमणबाट यो साता १३ नेपालीको मृत्यु

देशान्तर

कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६, भारतमा ५, ओमानमा एक र कुवेत एक नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ मुलुकमा रहेका १४३ नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो ।

हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्नेदर न्यून हुँदै गइरहेको तथ्यांक छ । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।

नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हाल सम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै ३४ जनाले ज्यान गुमाएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार २ सय ९३ जनाको उद्धार
यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्‍न देशमा रोकिएका नेपालीको उद्धारको क्रम तीव्र बनाइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीति नियोगको संयुक्त पहलबाट जुन पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्धार गरिसकिएको छ ।

अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यान्मार, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साउदी अरब, सिंगापुर, हङ्‍कङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपालीहरु स्वदेश फर्किएका छन् ।

यसैबीच विदेशमा मृत्यु भएका ३ सय ५२ नेपालीमध्ये १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी छ । तीमध्ये १ सय ३२ नेपालीको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।