देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीरगञ्जमा मेयर एकपछि अर्को विवादमा मुछिदै, सानो पाइलाले लगायो झुठ बोलेको आरोप

देशान्तर

वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एकपछि अर्को विवादमा फस्दै गएका छन् । कोभिड १९ रोकथामामा गैरजिम्मेवारपूर्ण भूमिका निर्वाह गरेको आरोप लाग्दै आएका सरावगीले कहिले पत्रकारलाई प्रतिबन्ध लगाउने तर कहिले क्वारेन्टाइनमा बसेकाहरुको जिम्मेवारी नलिने अभिव्यक्ति दिएका विवादमा तानिदै आएका छन् । पछिल्लो समयमा उनले रेडियोमार्फत झुठौ तथ्य सार्वजनिक गरेको भन्दै चर्को आलोचना भएको छ ।

सरावगीले एक संस्थालाई कुनै पनि रकम सहयोग नगरिकनै २५ लाख सहयोग गरेको औपचारिक जानकारी दिएपछि उक्त संस्थाले त्यसप्रति आपत्ति प्रकट गरेको छ । वीरगञ्जमा संक्रमितहरुलाई पौष्टिक भोजन खुवाउन सानो पाइलाले प्रदेश सरकारबाट रु. २५ लाख लिएको भन्ने रेडियोबाट जानकारी दिएपछि सरावगीको उक्त भनाईप्रति सनो पाइला नामक संस्थाले कडा आपत्ती जनाएको छ ।

सानो पाइलाले शनिबार विज्ञप्ति जारी गरी वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीले एउटा रेडियो अन्तर्वार्ता दिएकोमा सानो पाइलाको गंभिर ध्यानाकर्षण भएको जनाएको छ । सानो पाइलाले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता निशुल्क भोजन, स्वास्थ्य सामाग्री वितरण, एकिकृत हेल्प डेस्कसहित कोभिड–१९ का संक्रमितहरुलाई वीरगञ्ज र जनकपुरमा पौष्टिक भोजन खुवाउदै आएको जनाउँदै सानो पाइलाका यी सबै लगायत कोभिड–१९ लक्षित कार्यक्रमहरु समुदायको स्वस्फुर्त सहयोगमा संचालन भइरहेका जानकारी दिएको छ ।

विशेषगरि कोभिड–१९ का संक्रमितहरुलाई पौष्टिक आहार कार्यक्रम वीरगञ्जबासीको सहयोगबाट सुरुवात भएको र यो कार्यक्रमका लागि सरकारी संयन्त्रबाट सानो पाइलाले नीतिगत बाहेक कुनै भौतिक र आर्थिक सहयोग नलिएको जनाएको छ ।

‘तर, यही कार्यक्रमका लागि सानो पाइलाले प्रदेश सरकारबाट रु. २५ लाख लिएको भन्दै वीरगञ्ज महानगरपालिकाका मेयर श्री विजय सरावगीले एउटा रेडियो अन्र्तवार्ता दिएकोमा सानो पाइलाको गंभिर ध्यानाकर्षण भएको छ। हामीले समेत विभिन्न संचारमाध्यम मार्फत प्रदेश सरकारले नारायणी अस्पताललाई रकम दिएको विषय जानकारी पाएका हौं। यो रकम सानो पाइलालाई नभई नारायणी अस्पताललाई प्रदेश सरकारले उपलब्ध गराएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारको रकम हस्तानान्तरण कार्यक्रममा स्वयम उपस्थित रहनु भएका मेयर सरावगीले हाल आएर समुदायको सहयोगबाट संचालित कार्यक्रममा प्रदेश सरकारले सहयोग गरेको र रकम लिएको भन्ने भ्रामक र झुठो कुरा सार्वजनिक माध्यममा बोल्नु खेदपूर्ण छ।’

यसरी एकजना जिम्मेबार व्यक्तिको गलत अभिब्यक्तिले जोखिम मोलेर फिल्डमा खटिएकाहरूको मनोबल खस्किने भएकाले हामी सबैमा सचेत र जिम्मेबार भएर सार्वजनिक अभिब्यक्ति दिन अनुरोध समेत गरेको छ । ‘हामी हाम्रा समस्त सहयोगीहरुमा यो भ्रामक र झुठो प्रचारमा विश्वास नर्गन विनम्र अनुरोध गर्दछौं। साथै हामीलाई यहाँहरुले गर्नु भएको सहयोगको विस्तृत विवरण सानो पाइलाको आधिकारीक फेसबुक र टुईटर अकाउन्टबाट नियमित सार्वजनिक गरिरहेको ब्यवहोरा समेत यहाँ अनुरोध गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

सनो पाइलाका सबै कार्यक्रमहरु निरन्तर रहेको प्रदेश सरकारका जिम्मेबार व्यक्तिहरुबाट सानो पाइलाका कार्यक्रमहरु प्रदेश २ का आठवटै जिल्लामा संचालनका लागि अनुरोध भएको पनि जनाइएको छ।