देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक रोजगारमा कोभिड– १९ संकट र समाधान

देशान्तर

गत वर्षको अन्त्यमा चीनको बुहानमा देखा परेको कोरोना भाइरस (कोभिड– १९) चार महिनाकै अवधिमा विश्वव्यापी महामारीमा परिणत भएको छ । कोभिड—१९ फैलनुअघि विश्व जनसंख्याको ३.५ प्रतिशत करिब २५ करोड मानिस विदेशमा थिए । यसरी विदेशमा रहेकामध्ये ६३.५ प्रतिशत कामको सिलसिलामा श्रमिकको रूपमा रहेको विश्व श्रम संगठनको तथ्यांक छ ।

नेपाली कामदारका प्रमुख श्रम गन्तव्य कच्चा तेलमा आश्रित अर्थतन्त्र भएका Gulf Co-Operation Council का सदस्य रहेका साउदी अरब, यूएई, कतार, ओमान, कुवेत, बहराइन तथा एसिया प्यासिफिक क्षेत्रका मलेसिया, जापान तथा दक्षिण कोरिया हुन् । यी देशमा करिब ३० लाख नेपाली नागरिक कार्यरत रहेको अनुमान छ । कोरोना भाइरसको महामारीले सबै आर्थिक गतिविधि रोकिँदा र कच्चा तेलको मूल्यमा आएको विश्वव्यापी गिरावटले नेपाली कामदारको प्रमुख गन्तव्य Gulf Co-Operation Council का सदस्य देशको आर्थिक गतिविधि पनि गम्भीर रूपमा प्रभावित भई आर्थिक संकट दिनप्रतिदिन गहिरिँदै गएको छ ।

यी देशमा ठूला–ठूला परियोजनाहरूको काम स्थगित भएको छ । साउदी अरेवियाले आफ्नो गिर्दो अर्थतन्त्रलाई टिकाइराख्न ५ प्रतिशतमा रहेको भ्याटलाई वृद्धि गरी १५ प्रतिशतमा पु¥याएको छ भने सरकारी कर्मचारीहरूको सुविधा पनि कटौती गरिसकेको छ । खाडीको सबैभन्दा ठूलो अर्थतन्त्र साउदी अरेवियाले गरेको भ्याट वृद्धि, ठूला परियोजना स्थगित र कर्मचारीको समेत सुविधामा कटौती गरेको घटनाले अन्य देशहरूलाई पनि नकारात्मक रूपमा प्रभाव पार्ने देखिएको छ ।

रोजगार गन्तव्यमा आएको यो प्रतिकूलताले वार्षिक ८.७९ खर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गर्ने नेपाली अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । कोभिड— १९ का कारण नेपालीहरूले पठाउने वार्षिक ८.७९ खर्बको रेमिट्यान्स मात्र होइन सीप र अनुभवजस्ता सामाजिक रेमिट्यान्स पनि गुमेको अवस्था छ । यसले विगत केही वर्षयता नियमित रूपमा रेमिट्यान्स पाउँदै गरेको करिब ५६ प्रतिशत घरधुरी प्रभावित भएको छ । यसको नकारात्मक असर वृद्धवृद्धाहरूको हेरचाह, बालबालिकाहरूको शिक्षा, पोषण, स्वास्थ्य उपचार र जीवनस्तरमा पर्नेछ ।

विदेशमा रहेका नेपालीको संख्या

२०७६ सालको फागुन महिनासम्म श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४२,२५,७८१ पुरुष र २,४०,०८४ महिला गरी ४४,६५८६५ जनालाई श्रम स्वीकृति दिएको छ । सरकारी श्रम स्वीकृतिबाहेक अध्ययन गर्न र भ्रमणका गएका नेपालीहरूले समेत विदेशमा काम गरिरहेका छन् । विगत १० वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको औसत अनुपात २५ प्रतिशत रहेको छ ।

हाल विदेशमा रहेका नेपालीको संख्या निम्नबमोजिम रहेको अनुमान छ :

नेपालीको वैदेशिक रोजगारी

नेपालीहरू वैदेशिक रोजगारीका सिलसिलामा विश्वका १८० भन्दा बढी मुलुकहरूमा पुगेका छन् । तर मलेसिया र खाडीका राष्ट्रहरूका साथै दक्षिण कोरिया र जापान नै नेपालीहरूको मुख्य गन्तव्यका रूपमा रहेका छन् । यी मुलुकहरूले नेपालको वैदेशिक रोजगारको करिब दुई तिहाइभन्दा बढी हिस्सा ओगटेका छन् । कोरोना भाइरसका कारण रोजगारी गुमाएको भनी बेरोजगार भत्ता दाबी गर्ने अमेरिकी नागरिकहरूको संख्या तीन करोड पचास लाख पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विशेषगरी कतार, साउदी अरब, यूएई, कुवेतमा अर्थतन्त्रको वृद्धिदर नकारात्मक (३.९५) हुने प्रक्षेपण गरेको छ । त्यस्तै मलेसियाको अर्थतन्त्र पयर्टन र औद्योगिक उत्पादकमा निर्भर रहेकाले अर्थतन्त्रको वृद्धिदर खाडी राष्ट्रभन्दा कम नकारात्मक (१.७) हुने प्रक्षेपण गरेको छ ।

सुस्त पर्यटन गतिविधि र औद्योगिक उत्पादनमा कमीको कारणले मलेसियाको अर्थतन्त्र पनि धर्मराइरहेको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण विश्वका अन्य मुलुकहरूमा पनि रोजगारीको अवसर खुम्चिँदै गइरहेका छन् । संसारभरिकै सामाजिक तथा आर्थिक गतिविधिका अतिरिक्त मानव आवागमनसमेत ठप्प भएको अवस्था छ । परिणामस्वरूप कतिपय कम्पनीहरू बन्दको अवस्थामा पुगेका, कतिपयले रोजगार कटौती गरेका छन् भने कतिपयले श्रमिकलाई बेतलबी बिदा ल्य ध्यचप ल्य एबथ निती लागू गरेका छन् ।

न्यून आयस्रोत भएका नेपाली कामदार भारत, मध्यम आय वर्गका कामदार मलेसिया तथा खाडी मुलुक र उच्च आयस्रोत भएका कामदार जापान, कोरिया, युरोप गएको देखिन्छ । विप्रेषणले नेपाली अर्थतन्त्रमा धेरै सकारात्मक प्रभावहरू परेको छ । गरिबी कम गर्न, आर्थिक असमानता हटाउन, बेरोजगारी समस्या समाधान गर्न, शिक्षामा सुधार गर्न, स्वास्थ्यको स्तरमा वृद्धि गर्न, सम्पत्तिमा र निर्णय प्रक्रियामा महिलाको भूमिका बढाउन र आन्तरिक बसाइँसराइमा वृद्धि गर्नमा विप्रेषण आप्रवाहले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । त्यसैगरी, कुल राष्ट्रिय बचत अनुपात, उपभोग, आयात, सरकारी राजस्व, विदेशी विनिमय सञ्चितिमा वृद्धि र बैक तथा वित्तीय संस्थाको विकासमा विप्रेषणले ठूलो भूमिका खेलेको छ ।

वैदेशिक रोजगारी तथा विप्रेषण आप्रवाहका कारण खेतीयोग्य जमिन बाँझो रहनु, नेपालमा श्रमशक्तिको अभाव हुनु, श्रमको लागत बढ्नु, उपभोग गर्ने संस्कृतिको विकास हुनु, पारिवारिक सम्बन्धमा विचलन आउनु, आर्थिक परनिर्भरता बढ्नुजस्ता नकारात्मक परिणाम पनि देखा परेका भए पनि वार्षिक करिव ९ खर्ब रेमिट्यान्स स्वदेश भित्रिँदा ती पक्ष ओझेलमा परेका छन् ।

नेपालीहरू मुख्य रूपमा निर्माण क्षेत्र, उद्योग, होटल र सेक्युरिटी सेवामा वैदेशिक रोजगारीको क्षेत्रमा जाने गरेको देखिन्छ । कामको आधारमा निर्माण क्षेत्रमा २१.१ प्रतिशत, उद्योगमा १७.३ प्रतिशत, होटलमा ९.३ प्रतिशत, कार्पेन्टरमा ८.३ प्रतिशत र सेक्युरिटी गार्डका लागि ७ प्रतिशत वैदेशिक रोजगारीमा गएको देखिन्छ । अन्य काम (क्लिनर, घरायसी कामदार) को लागि १६.६ प्रतिशत गएको देखिन्छन् । देशगत रूपमा हेर्दा साउदी अरब, यूएई, कतार र कुवेतमा निर्माण क्षेत्रमा, मलेसियामा उद्योगमा र सेक्युरिटी गार्डमा बढी कामदार जाने गरेका छन् ।

कोभिड– १९ को प्रभाव

रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागवाट विदेश अनुमति प्राप्त गरी गरेका १,१५,००० कामदार कोरोना भाइरस महामारीको कारणले विदेश जान पाएका छैनन् भने पूर्ब स्वीकृति प्राप्त गरेका ३,२८,६८१ जना कामदार पठाउनेसम्बन्धी सबै कार्य वन्द छ । सम्भवतः यी कामदार अब जान पाउने छैनन् । विदेशस्थित नेपाली कूटनैतिक नियोगहरूले अहिले नै कति नेपालीले रोजगार गुमाउनेछन् भन्ने तथ्यांक दिन नसकिने र यस महामारीले कस्तो रूप लिन्छ र कहिलेसम्म रहन्छ भन्ने निश्चित भए पछि वास्तविक तथ्यांक दिन सकिने वताए पनि विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार देशगत रूपमा पारेको प्रभावको विश्लेषण तल गरिएकोे छ ।

यूएई

यूएईको अर्थतन्त्र तेलमा मात्र आधारित नभएको र त्यहा“को अर्थतन्त्रमा सेवा क्षेत्रको ठूलो योगदान रहेकाले सन् २०२१ मा यूएईको आर्थिक वृद्धि दर ३ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो । नेपाली कामदारले रोजगारी पाइरहेका होटल, रेस्टुरेन्ट, सुरक्षा गार्ड, मल अन्य सेवा क्षेत्रको व्यापार राम्रो रहेकाले प्रक्षेपण गरिएअनुसारको वृद्धिदर कायम रहेमा यूएईबाट भित्रिने विप्रेषणले निरन्तरता पाउने अवस्था रहेकोमा कोरोना भाइरस महामारीको कारणले यो सम्भावना अन्त्य भएको छ । प्रकोपका कारण निजी क्षेत्र धराशायी हुने वातावरण देखिए पनि त्यहाँको सरकारले कस्तो रणनीति अपनाउँछ भन्ने हिसाबले पनि रोजगारीमा असर गर्ने देखिएको छ । कोरोना महामारीको कारणले होटल, रेस्टुरेण्ट, सुरक्षा गार्ड, मल तथा अन्य सेवा क्षेत्र नराम्ररी प्रभावित भएकाले यूएईमा कार्यरत करिब ३० प्रतिशत कामदारहरूले रोजगारी गुमाउने देखिएको छ ।

साउदी अरेविया

तेलमा आधारित अर्थतन्त्र भएको साउदी अरेविया कोरोनाको महामारी र पेट्रोलियम पदार्थमा आएको मूल्यको गिरावटले गहिरो आर्थिक संकटतर्फ धकेलिँदैछ । कोरोना (कोभिड–१९) भाइरसका विश्व अर्थतन्त्रमा आएको सुस्तता र तेलको मूल्यमा आएको गिरावटले साउदी नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति त्यहाँको सरकारले लिएको छ । सरकारले अघि नै साउदी कम्पनीहरूले रोजगारीमा साउदी नागरिकलाई रोजगारी प्रोत्साहन गर्नुपर्ने र १० जनाभन्दा वढी कामदार रहेको प्रतिष्ठानमा निश्चित प्रतिशत साउदी नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । यसबाट साउदीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आई विप्रेषण आप्रवाहमा समेत प्रतिकूल प्रभाव पर्ने सम्भावना देखा परेको छ । साउदी अरेबियामा कार्यरत करिब २० प्रतिशत आप्रवासी कामदारहरूले रोजगारी गुमाउने देखिएको छ ।

कतार

कतारले पेट्रोलियम निर्यातमा निर्भरता कम गर्दै व्यापार, पर्यटन र निर्माण क्षेत्रतर्फ आफ्नो अर्थ व्यवस्थालाई क्रमशः विविधीकरण गर्दै लगेको छ । सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीका लागि कतारको निर्माण क्षेत्रमा उच्च वृद्धि कायमै रहे पनि अन्य सेवा क्षेत्र सुस्ताउने देखिन्छ । विश्व बैंकका अनुसार सन् २०१९ मा कतारको अर्थतन्त्र २ प्रतिशतले वृद्धि हुने र मध्यम अवधिमा ३ प्रतिशतभन्दा बढीले वृद्धि हुने प्रक्षेपण गरिएको थियो । त्यसले रोजगारीको आशा बढाएको थियो । तर परिस्थिति बदलिएको छ । पेट्रोलियम पदार्थको मूल्य गिरावट र कोभिड—१९ को महामारीको कारणले पर्यटन व्यवसाय बन्दको अवस्था छ । जसका कारण कतारमा पनि करिब २० प्रतिशत आप्रवासी कामदारहरूले रोजगारी गुमाउने देखिएको छ ।

कुवेत

कुवेतमा झन्डै ८० हजार नेपाली कार्यरत छन् । यसमध्ये १२ देखि १५ हजार गैरकानुनी कामदार रहेको अनुमान गरिएको छ । घरेलु महिला कामदार सबैभन्दा बढी गैरकानुनी रूपमा रहेका छन् । कोभिड— १९ को रोकथाम गर्न भनी झन्डै ३ महिनादेखि लकडाउन गरेको कुवेतले गैरकानुनी कामदार फिर्ता गर्ने नीति लिएकाले कुवेतमा पनि करिब २० प्रतिशतले रोजगारी गुमाउने देखिन्छ ।

ओमन
ओमनको अर्थतन्त्र तेलमा निर्भर भएकोले कोरोनाको महामारी र तेलको मूल्यमा आएको गिरावटले ओमन पनि गहिरो आर्थिक संकटतर्फ धकेलिँदैछ । ओमन सरकारले अर्थतन्त्रलाई सहयोग पु¥याउन नगरपालिकाको कर, सरकारी शुल्क र औद्योगिक क्षेत्रका कम्पनीहरूका लागि भाँडा भुक्तान आउँदो ३ महिनाको लागि स्थगित गरेको छ । ओमनमा झन्डै १७ हजार ५०० नेपाली कामदारहरू तेल, ग्यास, निर्माण र सेवा क्षेत्रमा कार्यरत छन । ओमनमा घरेलु महिला कामदार सबैभन्दा धेरै गैरकानुनी रूपमा रहेका छन् । ओमनमा कार्यरत करिब १० प्रतिशतले रोजगारी गुमाउने देखिन्छ ।

बहराइन
जीसीसी राष्ट्रहरूमध्ये आकर्षक गन्तव्य बहराइनको मुख्य आय स्रोत पर्यटन हो । बहराइनमा मुख्यतः सेवा क्षेत्रहरू, होटल र रेस्टुरेन्टमा नेपाली कामदारहरू कार्यरत छन् । खाडी राष्ट्रहरूमा सबैभन्दा धेरै कोरोना भाइरसबाट प्रभावित मुलुकमध्ये बहराइन पनि एक हो र सबैभन्दा धेरै ल्य ध्यचप ल्य एबथ मा बस्ने कामदारहरू पनि बहराइनमा छन् । बहराइनमा करिब १२ प्रतिशतले रोजगार गुमाउने आकलन गरिएको छ ।

मलेसिया
मलेसियाको अर्थतन्त्र कृषि, पयर्टन र औद्योगिक उत्पादनमा निर्भर छ । मलेसियाका उद्योगहरू निर्यातमा निर्भर रहेका र विश्वमा आउने आर्थिक मन्दीको कारणले माग घटन गई धेरै उद्योगहरू बन्द हुने अवस्था देखिएकोले मलेसियामा धेरै रोजगारी गुम्ने सम्भावना छ । मलेसियामा पयर्टन तथा सेवा क्षेत्रमा तत्काल रोजगारी सिर्जना नभए पनि स्वास्थ्य उपचारमा प्रयोग हुने यन्त्र उपकरण, मास्क, पञ्जा र अन्य चिकित्सा उपकरण उत्पादन गर्ने उद्योगहरू र खाद्यान्न उत्पादन जारी रहेकाले नेपालीहरूले रोजगारी गुमाउने सम्भावना खाडी मुलुकभन्दा न्यून रहने आकलन गरिएको छ ।

मुख्य श्रम गन्तव्य मुलुकमा नेपाली श्रमिकको संख्या र रोजगार कटौतीको सम्भावना

सीप र दक्षता

रोजगारीमा विदेश गएका नेपालीमध्ये ३३.५ प्रतिशत अदक्ष श्रमिकको रूपमा रहेका छन् । १३.६ प्रतिशत सुरक्षा गार्ड, २.३ प्रतिशत कृषि मजदुर, २.३ प्रतिशत घरेलु कामदारको रूपमा, ३.५ प्रतिशत क्लिनरको रूपमा र बाँकी अन्य पेसा तथा क्षेत्रमा कार्यरत रहेको देखिन्छ । नेपाली कामदारहरूको दोस्रो ठूलो माग हुने क्षेत्र सुरक्षा गार्ड रहेको छ । यस्तै सामान्य प्रकृतिको दक्षता आवश्यक पर्ने पेन्टर, सिकर्मी, वेटर, ड्राइभरजस्ता क्षेत्रमा समेत ठूलै संख्यामा नेपाली कामदारहरू विदेश जाने गरेका छन् । ड्राइभरको रूपमा जाने ९.५ प्रतिशत, पेन्टर/सिकर्मी ६.४ प्रतिशत, सेल्समेन ३.८ प्रतिशत तथा वेटर÷कुक ४.९ प्रतिशत रहेका छन् । उच्चस्तरको सीप तथा ज्ञान आवश्यक पर्ने सुपरभाइजर, प्राविधिक÷मेकानिक्स तथा टेवल वर्कजस्ता कामको लागि विदेश जानेको संख्या विगतको तुलनामा वृद्धि भए तापनि खासै ठूलो प्रगति भने भएको देखिँदैन । रोजगारीमा गएका मध्ये १०.१ प्रतिशत प्राविधिक तथा मेकानिक्सको रूपमा, ४.१ प्रतिशत सुपरभाइजरको रूपमा तथा ३.२ प्रतिशत कार्यालयमा काम गर्ने कामदार रहेका छन् । त्यसैगरी, प्रहरी तथा सिपाहीको रूपमा २.० प्रतिशत विदेश गएका छन् भने वैदेशिक रोजगारमा गई गन्तव्य मुलुकमा आफ्नै व्यवसाय सञ्चालन गर्ने नेपाली ०.९ प्रतिशत रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने उमेर

वैदेशिक रोजगारमा जाने कामदारमध्ये ०.६ प्रतिशत २० वर्षभन्दा मुनिका, ८७.५ प्रतिशत २० देखि ४० वर्षका, ११.९ प्रतिशत ४० वर्ष माथिका रहेका छन् ।

वैदेशिक रोजगारीमा जानेको शैक्षिक योग्यता

रोजगारमा गएकामध्ये ५३.१ प्रतिशतले एस.एल.सी. वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेका छन् भने ४४.१ प्रतिशतले एस.एल.सी.भन्दा कम वा साधारण लेखपढ गर्न जान्नेछन् । लेखपढ गर्न नसक्ने निरक्षरको प्रतिशत २.८ रहेको छ । हालका वर्षहरूमा उच्च शिक्षा प्राप्त गरेका शिक्षित वर्गको समेत वैदेशिक रोजगारप्रति आकर्षण बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ ।

श्रम सर्वेक्षण

श्रम जनशक्ति सर्वेक्षण २०१७÷२०१८ का अनुसार २० प्रतिशत जनशक्ति कृषिमा छन् । करिब ६० लाख अर्थात् कुल जनसंख्याको १८.७ प्रतिशत गरिबीमा रहेको छ । आगामी पाँच वर्ष अर्थात् सन २०२५ सम्म नेपालको श्रम जनशक्ति २ करोड हुने प्रक्षेपण गरिएको छ ।

तत्कालीन प्रभाव

नेपालीको प्रमुख श्रम गन्तव्य पेट्रोलियम उत्पादनमा आधारित अर्थतन्त्र भएका खाडी मुलुकहरू र मलेसिया नै हुन् । यी देशहरू पेट्रोलियम पदार्थको मूल्यमा भएको ऐतिहासिक गिरावट र कोरोना कहरले गहिरो आर्थिक संकटतर्फ धकेलिँदै छन् । पेट्रोलियम पदार्थको मूल्यमा भएको कमी र कोभिड— १९ को कारणले वैदेशिक रोजगार क्षेत्रमा निम्न प्रमुख असर पर्न सक्ने देखिन्छ ।

(क) देशमा वैदेशिक रोजगार व्यवसाय र व्यवसायीमा पर्ने प्रभाव

नेपालबाट विदेशमा कामदार पठाउन ८५३ वटा कम्पनीेले इजाजÞत लिएकोमा अहिले सबै मेनपावर कम्पनीहरू बन्द रहेका छन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न न्यूनतम नगद ५० लाख धरौटी र न्यूनतम १ करोड ५० लाख बैंक ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था भएकाले ८५३ वटा कम्पनीको धरौटी ४ अर्ब ३१ करोड नगद वैदेशिक रोजगार विभागको नाममा जम्मा गरिएको छ भने १२ अर्ब ८६ करोड रुपैयाको बैंक ग्यारेन्टी पेस भएको छ ।

त्यस्तै व्यवसाय सञ्चालन गर्न करिब २० लाखको दरले ८५३ कम्पनीको १ अर्ब ७१ करोड लगानी भएको छ । यस्तै कर्मचारीको तलब, भत्ता, अफिस भाडा, बिजुली बत्ती, कार्यालय सञ्चालन खर्च, कर राजस्व र अन्य गरी एउटा मेनपावर व्यवसायको करिब ७ देखि १५ लाख मासिक खर्च भएको अवस्था छ ।

वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित कम्पनी, संस्था र कार्यालयहरू
– वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीहरू ८५३ वटा ।
– वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीका शाखा कार्यालय २७ वटा ।
– वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालिम दिने संस्था १७० वटा ।
– वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ संस्था २५९ वटा ।
– वैदेशिक रोजगारमा जाने कामदारको बिमा गर्ने बिमा कम्पनीहरू १७ वटा ।
– वैदेशिक रोजगारमा जाने कामदारलाई भिसा प्रदान गर्ने सम्बन्धी काम गर्ने भीएलएन,
जीएसजी, क्युभीसीलगायत संस्थाहरू पाँच वटा ।

आन्तरिक रूपमा रोजगारी गुमाउनेहरू

माथि उल्लेखित संस्था, कम्पनी र कार्यालयमा प्रत्यक्ष रूपमा रोजगारी पाएका करिब ५० हजार र अप्रत्यक्ष रूपमा रोजगारी पाउने फोटो स्टुडियो, यातायातका साधन, होटल रेस्टुरेष्टमा कार्यरत लाखौं कामदारको रोजगारी गुम्ने खतरा छ । कोरोना भाइरसको महामारीले अन्य धेरै क्षेत्रमा नकारात्मक असर पर्नुका साथै यस महामारीले वैदेशिक रोजगार व्यवसाय नराम्रोसँग प्रभावित भएको छ । कोरोना भाइरसको कारणले सिर्जित आर्थिक मन्दीले वैदेशिक रोजगार व्यवसायीको अर्बाै लगानी डुब्नुका साथै आन्तरिक रूपमा लाखौंको रोजगारी गुम्ने खतरा देखिन्छ ।

(ख) विदेशमा गुम्ने रोजगारी

रोजगारी गुम्ने नेपाली श्रमिकको संख्याको अनुमान गर्न सहज छैन । वैदेशिक रोजगारीबाट फर्कनेको अभिलेखको अभावले गर्दा आँकडागत हिसाबले श्रम स्वीकृति लिई विदेशमा काम गर्नेको संख्या निकै ठूलो देखिए तापनि वास्तविक रूपमा हेर्दा हाल वैदेशिक रोजगारीमा करिब २५ देखि ३० लाख नेपालीहरू आबद्ध रहेको अनुमान छ ।

२०७४/०७५ मा पुरुष ५,७९,७२१ र महिला ३२,९६४ गरी जम्मा ६,१२,६८५ नेपाली श्रमिकहरू १४२ मुलुकमा श्रम स्वीकृति लिई गएको देखिन्छ । त्यस्तै २०७५/०७६ मा पुरुष ४,७६,७०५ र महिला ३२,१२३ गरी जम्मा ५,०८,८२५ नेपाली श्रमिकहरू १३६ मुलुकमा श्रम स्वीकृति लिई गएको देखिन्छ । दुई दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत रहेको छ भने त्यस्तै कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्धार गरी नेपाल फर्काउनुपर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत देखिन्छ । अर्थात् समग्रमा भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ५ देखि ६ लाख नेपाली श्रमिकहरू नेपाल फर्किने देखिन्छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये ठूलो संख्याका नेपालीहरू अदक्ष कामदारको रूपमा रहेका छन् र कोभिड— १९ को असरवाट कम्पनी, उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान, होटेल–रेस्टुरेन्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुनेछन् । भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काइनेछ । कोभिड– १९ को फैलावटअनुसार रोजगारी गुम्ने गुमाउनेको संख्यामा फेरबदल हुनेछ ।

विश्व जनसंख्याको १५ प्रतिशत बेरोजगार हुने आकलनलाई नै आधार मान्ने हो भने पनि तत्काल रोजगार गुमाउने नेपालीको संख्या २५ प्रतिशतभन्दा कम हुने देखिँदैन । त्यसमा पनि पर्यटन क्षेत्रमा परेको नकारात्मक असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्टलगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ । मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने प्रारम्भिक आकलन छ ।

(ग) विप्रेषण र यसको उपयोग

मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदान महत्वपूर्ण रहेको छ । कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा पर्ने विप्रेषणको असरबाट नेपाल पनि अछुतो रहन सक्दैन । औपचारिक माध्यमबाट करिब ९ खर्ब, भारतबाट अनौपचारिक माध्यमवाट आउने र हुन्डीबाट आउने रकमसमेत हिसाव गर्दा देशको वार्षिक बजेट जति नै रेमिन्ट्यान्स देशमा भित्रिने गरेको छ । दुई वर्षअघि २७ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स यस वर्ष १४ प्रतिशतले घट्ने अनुमान विश्व बैंकले सार्वजनिक गरेकाले यस वर्ष औपचारिक रूपमा करिक तीन अर्ब र अनौपचारिक क्षेत्रबाट आउने रेमिट्यान्ससमेत जोड्दा करिब चार खर्ब रुपैयाँ कम विप्रेषण नेपालमा भित्रिने छ । यो महामारी जति बढ्दै जान्छ अन्तर्राष्ट्रिय श्रम बजारमा यसको असर त्यति गहिरिँदै जानेछ र सोहीअनुसार विप्रेषणको गिरावट हुँदै जाने हुँदा यसले गरिबीको आकारमा वृद्धि हुनुका साथै दिगो विकास लक्ष्य प्राप्तिमा समेत धक्का पुग्नेछ । परिणामस्वरूप पन्ध्रौं योजनाको समष्टिगत लक्ष्यका साथै बेरोजगारीको दर ११.४ बाट ६ प्रतिशतमा झार्ने लक्ष्य हासिल गर्न समेत कठिनाइ पैदा हुनेछ ।

विगतमा नेपालमा प्राप्त भएको विप्रेषणको विश्लेषण गर्दा ९.१ प्रतिशत विप्रेषण उत्पादनमूलक क्षेत्रमा लगानी गरेको पाइएको छ । अन्य सबै रकम विदेशमा रहेको कामदारको परिवारको शिक्षा दीक्षा, स्वास्थ्य उपचार, खानपिन, घरघडेरी खरिद, लुगाफाटा खरिद र अन्य उपभोग्य सामान खरिदमा खर्च हुने गरेको छ । उत्पादनमूलक क्षेत्रमा गरिएको ९.१ प्रतिशत लगानीमध्ये ३५.७ प्रतिशतले कृषि तथा पशुपालन व्यवसायमा, १७.९ प्रतिशतले होटल रेस्टुरेन्ट, टेलरिङ, ब्युटिपार्लर जस्ता सेवा क्षेत्रमा, १४.३ प्रतिशतले विभिन्न प्रकारका घरेलु उद्योगमा, १०.७ प्रतिशतले मिल सञ्चालनमा र ३.६ प्रतिशतले अन्य क्षेत्रमा लगानी गरेका छन् ।

(घ) आन्तरिक श्रम बजारमा चाप

वार्षिक करिब ५ लाख युवायुवतीहरू कामको खोजीमा श्रम बजारमा प्रवेश गर्छन् भने विदेशबाट फर्केका कामदारहरू श्रम बजारमा थपिँदा व्यवस्थापन गर्नु साँच्चै नै चुनौतीपूर्ण हुनेछ । नेपालमा अहिले नै उच्च बेरोजगारी र श्रमको अल्प उपयोगको अवस्था छ । त्यसमाथि कोरोना संकटले आन्तरिक रोजगारी गम्भीर रूपमा प्रभावित भई लाखौंको रोजगारी संकटमा परिरहेको छ ।

वैदेशिक रोजगार व्यवसाय संकटमा पर्दा यसमा संलग्न रहेको जनशक्ति र आन्तरिक रोजगारीमा समेत असर पर्ने हुन्छ । यस महामारीले १५ प्रतिशत मात्र बेरोजगार थप गरेमा पनि झन्डै १२ देखि १३ लाखसम्म बेरोजगार नेपालमै निस्किन्छन् । यस्तो अवस्थामा स्वदेशमा रोजगारी गुमाउने र विदेशमा रोजगारी गुमाई फर्कनेलाई काम दिन विशेष योजना बनाई रोजगारी सिर्जना गर्न पर्ने देखिन्छ ।

समाधान

(क) कोरोना महामारीबाट संकुचनमा परिरहेको अर्थन्त्रमा वैदेशिक रोजगारीमा आइपर्ने कठिनाइ थप हुँदा आन्तरिक रूपमा बेरोजगारी समस्या झनै मौलाउने र त्यसले सामाजिक रूपमा पनि थप समस्या निम्त्याउने जोखिम रहन्छ । बढ्दो बेरोजगारी अन्त्यका लागि सर्वप्रथम त हाल कार्यान्वयनमै रहेका राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको तीव्र गतिमा काम अघि बढाउनुपर्छ । वर्षौंदेखि सम्पन्न हुन नसकेका परियोजनाहरू मेलम्ची खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ योजना, गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनालाई द्रुत गतिमा अघि बढाई रोजगार दिन सकिन्छ ।

(ख) स्थानीय सरकारको क्षमता वृद्धि गरी बलियो बनाउनुपर्छ । बेरोजगार युवाको प्रत्यक्ष मार खेप्ने भनेको स्थानीय निकाय नै हो । स्थानीय सरकारको क्षमता वृद्धि गर्ने र स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने कार्य सरकारले प्राथमिकतामा राख्नुपर्छ विशेषगरी स्थानीय स्तरमा तुरुन्तै गर्न सकिने भनेको कृषि तथा पशुपालन, खाद्यान्न उत्पादन र प्रशोधन, स्थानीय उत्पादन (सामान) प्रयोेग गरी सञ्चालन गरिने साना उद्योग र व्यवसायको स्थापना र विकास गर्नु पर्दछ ।

(ग) कृषिको व्यवसायीकरणको लागि राज्यले कृषिमा प्रयोग हुने यन्त्र उपकरणको आधुनिकीकरण, उन्नत जातको बिउबिजनको उपलब्धता, पानी र बत्तीको सुविधा, मलखादको उपलब्धता, कृषिमा अनुदान, कृषि उपजको बजारीकरण र कृषकलाई सरल रूपमा ऋण लिन पाउने व्यवस्था र ब्याजमा छुट दिन आवश्यक छ । हजारौं युवा विदेशबाट विभिन्न प्रकारका ज्ञान सीप सिकेर आएका छन् । उनीहरूले विदेशमा सिकेको सीपको उपयोग गर्न आवश्यक छ भने इजरायल, साइप्रस, पोर्चुगलबाट फर्किएका युवाले आधुनिक कृषि खेती सम्वन्धमा राम्रो ज्ञान हासिल गरेकाले उनीहरूको ज्ञान र सीपबाट कृषि क्षेत्रमा ठूलो फड्को मार्न सकिने सम्भावना कोभिड— १९ ले देखाएको छ ।

(घ) कोरोना (कोभिड– १९) भाइरसका कारण रोजगारी गुमाएर स्वदेश फर्कनेहरूलाई उनीहरूले विदेशमा सिकेको सीपअनुसारको काम गर्ने वातावरण वनाई स्वरोजगार बनाउनु पर्दछ ।

(ङ) सरकारले विशेष योजना ल्याई व्यावसायिक कृषि गर्न तथा पशुपालन गर्न प्रोत्साहन गर्नु पर्दछ । सरल तथा सहज रूपमा कृषि तथा पशु पालन कर्जा दिने, गाउँमै प्राविधिक सेवा उपलब्ध गराउने, कृषक र पशुपालकलाई सरल रूपमा ऋण दिने, सरकारी निकायबीच तालमेल गरी कृषि उत्पादन बढाउने, मौरीपालन, पशुपालन गर्न प्रोत्साहन गर्ने, औषधि उपचार तथा उन्नत जातका पशु आयातमा अनुदान, उन्नत जातको बेटबिरुवा उपलब्ध गराउने । बाली, पशु र कृषकको बिमा गर्ने ।

(च) हाल विभिन्न मुलुकमा वैदेशिक रोजगारमा रहेका कामदारहरू फर्केर आउँदा बेरोजगार हुने अवस्था तथा विदेशी मुलुकमा वैदेशिक रोजगारको श्रम बजार पनि शिथिल हुन जाने खतराले बेरोजगारी अत्यधिक बढन सक्ने देखिन्छ । यस अवस्थालाई दृष्टिगत गरी प्रचलित नेपाल कानुनमा आवश्यक संशोधन गरी वैदेशिक रोजगार व्यवसाय गर्ने संस्थालाई आन्तरिक श्रम बजार पवद्र्धन गर्न एवं आन्तरिक श्रम बजारमा कामदार आपूर्ति गर्ने गरी आन्तरिक रोजगार व्यवसाय सञ्चालन गर्न इजजातपत्र प्रदान गरिएमा केही हदसम्म बेरोजगारी समस्या समाधान हुने देखिन्छ ।

(छ) वैदेशिक रोजगार व्यवसाय लामो समय बन्द हुने देखिएको हुँदा व्यवसायीले जम्मा गरेको नगद धरौटी फिर्ता गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने ।

(ज) होटल रेस्टुरेन्ट, यातायात व्यवसाय र अन्य सेवा व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने ।

(झ) विद्युत्, पानी, सडकलगायतका पूर्वाधारका कामहरू गरी रोजगारी सिर्जनामा जोड दिने ।

(ञ) कृषक, पशुपालक, वैदेशिक रोजगार व्यवसायी, सेवा क्षेत्रमा संलग्न व्यवसायी, विदेशवाट फर्केर आफनो पेसा व्यवसाय गर्ने व्यवसायी (स्वरोजगार) हरूलाई कर छुट दिने, ब्याजमा सहुलियत दिने, ऋण तिर्न नसक्ने व्यवसायीको ऋण नवीकरण गर्ने ।

(ट) व्यवसाय स्थलमा नियमित रूपमा विद्युत्, पानी आपूर्ति गर्ने व्यवस्था गर्ने ।

(ठ) कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने ।

(ड) लेबर बैंकको स्थापना गरी बेरोजगारको तथ्यांक राख्ने र दक्षताको आधारमा रोजगार सिर्जना गर्ने ।

(ढ) पीपीपी मोडेलमा श्रम तथा रोजगार प्रवद्र्धन बैंकको स्थापना गरिनु पर्ने ।

(श्रेष्ठ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हुन् । सं.)