देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनमा विरामीको घरमै पुगेर निशुल्क दन्त उपचार गर्दै ओम समाज डेन्टल हस्पिटल

देशान्तर

काठमाडौँ । चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलले लकडाउनका बेला घरघरमै पुगेर निशुल्क दन्त उपचार सेवा प्रदान गरिरहेको छ । गत आईतबारबाट सुरु गरिएको यो सेवाले गर्दा दन्त रोगका विरामीहरुलाई लकडाउनका कारण उपचार सेवाबाट बञ्चित हुनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

अस्पतालले उपचार सेवाका लागि दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरण जडित एम्बुलेन्स प्रयोग गरेको छ । विरामीको फोन आउनासाथ चिकित्सकसहितको टोली एम्बुलेन्स लिएर विरामीको घरमै पुगेर उपचार गरिदिने व्यवस्था मिलाइएको छ । चिकित्सकहरु कोरोना भाइरसको जोखिम नहोस भनेर पिपिई लगायतका आवश्यक सम्पूर्ण सुरक्षात्मक बन्दोबस्तीका साथ विरामीको सेवामा लागेको अस्पतालका प्रशासन प्रमुख अजय रेग्मीले जानकारी दिए ।

लकडाउनको समयमा दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै एम्बुलेन्सको सहायताले आइतबार देखि दन्त उपचार सेवा घरघरमा गएर निःशुल्क सेवाको सुरुवात गरेको रेग्मीले बताए । रेग्मीका अनुसार तीन दिनको अवधिमा करिब एक सय जना दन्त रोगका विरामीहरुको उपचार अस्पतालले गरिसकेको छ ।

रेग्मीले सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास भएको भन्दै कोहि पनि दाँतको उपचारबाट बञ्चित हुन नपरोस्, कसैले पनि दुःख नपाउन्, अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई दाँत मुखको समस्याले अफ्ठ्यारो पारेको बेला घरमै गएर निःशुल्क आपतकालिन सेवाको व्यवस्था गरिएको बताए ।

यस अभियानबाट लाभ लिन दाँत र मुखको समस्याबाट पीडितले आफ्नो टेलिफोन नम्बर र आफू रहेको स्थानबारे अस्पताललाई जानकारी गराउनुपर्नेछ । हाललाई यो सेवा विहान ११ देखि दिउसो २ बजेसम्म संचालन हुने व्यवस्था मिलाइएको छ ।

अत्याधुनिक उपकरण जडित एम्बुलेन्समा चिकित्सकसँगै आवश्यक औषधीहरु पनि राखिएको र चिकित्सकहरु पिपिई, मास्क, ग्लोब लगाएर विरामीको उपचारमा संलग्न हुने गरेका छन् । विरामीको फोन आउनासाथ लोकेसन बुझेर एम्बुलेन्स सहित चिकित्सकहरु सम्बन्धीत विरामीको घरमै पुग्ने गरेको रेग्मीले जानकारी दिए । उपचार सेवा चाहने विरामीले ९८५१२१९३४२ र ९८५१२२९३४२ मा सम्पर्क गर्न सक्ने हस्पिटलले जनाएको छ ।