देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित

देशान्तर

काठमाडौं । कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष पनि कोभिडको उपचारपछि घर फर्किएको बताए । ती सङ्क्रमितको पनि पिसिआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अस्पतालबाट घर पठाइएकोे हो ।

शनिबार साँझ धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत कोभिड सङ्क्रमित ६५ वर्षीया महिलालाई घर पठाइएको थियो । शनिबारै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड सङ्क्रमित १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी थिइन् ।

नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उनलाई सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’ को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’ लाई निरन्तरताको निर्णय गरेको थियो । सरकारले काठमाडौँ उपत्यकासहित देशैभर ‘लकडाउन’ कडाइ गरेको छ ।

अहिलेसम्म तेस्रोपटक ‘लकडाउन’ थप गरिसकेको छ । सरकारले यही वैशाख १८ सम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ । पछिल्लो विवरणअनुसार कोभिड– १९ का सङ्क्रमित कूल ३१ जनामध्ये चार फर्किएका हुन् । अन्य २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । उनीहरुमध्ये टेकु अस्पतालमा एक, पाटन अस्पतालमा दुई, बाग्लुङ अस्पतालमा एक, धनगढी अस्पतालमा एक, वीरगञ्जमा चार र विराटनगरमा १३ जना रहेका छन् । काठमाडौँ बाहिरका अस्पतालमा पनि उपचार भइरहेकाले कोभिड उपचारमा सहजता भएको मन्त्रालयले जनाएको छ ।

देशका १५ प्रयोगशालाबाट पिसिआर परीक्षण

पछिल्लो दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा सरकारले कोभिड–१९ को परीक्षण दायरालाई बढाउँदै लगेको छ । आजदेखि भेरी अस्पताल नेपालगञ्जमा पनि पिसिआर विधिबाट परीक्षण शुरु भएको छ । जहाँ आजै आठ नमूना परीक्षणका क्रममा रहेको छ । योसँगै नेपालका विभिन्न स्थानमा गरी जम्मा १५ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण शुरु गरिएको हो ।

उदयपुरको केसको अनुसन्धान र कन्ट्याक ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ । शनिबार गएको टोलीले शङ्कास्पद ६७ जनाको आरटी पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिसकेको छ । आज सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकोप्टरले नमूना सङ्कलनको काम भइरहेको र २५० भन्दा नमूना सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

हालसम्म देशका विभिन्न प्रयोगशालामा भएका परीक्षण नतिजाको नमूनाको नतिजा पोजेटिभ आएमा पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला ल्याइने गरिएकामा अब पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिममा भेरी अस्पतालमा अन्य स्थानबाट आउने पिसिआर प्रविधिको परीक्षणको नमूना पोजेटिभ आएमा ती प्रयोगशालामा परीक्षण गरी अन्तिम नतिजा घोषणा गरिनेछ । यसले प्रयोगशालाको दायरालाई फराकिलो बनाएको प्रवक्ता देवकोटाले बताए ।

मन्त्रालयको अद्यावधिक विवरणअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण भएका सङ्ख्या आठ हजार ८१ र र्‍यापिड डायग्नोष्टिक किटबाट परीक्षणबाट २१ हजार ४८६ गरी जम्मा २९ हजार ५६७ रहेको छ । गत २४ घण्टामा नयाँ परीक्षण दुई हजार १६८ भएका छन् । थप परीक्षणका लागि किटहरु सबै प्रदेशमा पुगिसकेकाले द्रुत परीक्षण बढ्ने मन्त्रालयले जनाएको छ ।

आजसम्म पाँच हजार १८० व्यक्ति क्वारेन्टाइनमा छन् । आइसोलेशनमा रहेका बिरामी १०३ जना रहेका छन् । आइसोलेशनमा रहेकामध्ये उपत्यकाभित्र ५ र बाहिर ९८ जना छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा दुई हजार २४१ प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो ।

मन्त्रालयको मोबाइल एप्लिगेशन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार ८३४ पुगेको छ । गत २४ घण्टामा मात्रै थप ७०४ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरुमध्ये गत २४ घण्टामा थप छ सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २६० जना रहेको मन्त्रालयले जनाएको छ ।