देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले विपक्षी दलहरूलाई अछुतको व्यवहार गरेको छ

देशान्तर

तपाईंंको लकडाउन अनुभव कस्तो छ ?

अरू जसरी आफ्नोआफ्नो घरमा सीमित भएर बसेका छन्, त्यसैगरी नै म पनि बसेको छु । घरबाट बाहिर निस्किएकै छैन । बिहान, बेलुका आफ्नो नित्यकर्मपछि मिडियाहरूको समाचारहरू हेर्ने र पढ्ने गर्छु । अहिले मैले यसैगरी समय बिताइरहेको छु ।

सक्रिय भएर राजनीतिमा रहेको व्यक्ति यसरी घर बस्दा कस्तो अनुभव हुँदो रहेछ ?

म त एकै ठाउँमा अर्थात् १५ वर्ष बन्दी जीवन बिताएको मान्छे । मलाई एकै ठाउँमा बसिरहन साह्रै गाह्रो केही पनि छैन । तर, अहिले यति ठूलो पार्टीको महाधिवेशन आउँदैछ । यो बेलामा यतिकै बसिराख्दा मन कुडिने स्वाभाविक नै हो । तर पनि त्यति असजिलो फिल केही गरेको छैन ।

महाधिवेशन के हुन्छ ?

पार्टीको महाधिवेशनका लागि अझैं पनि समय छ । इमानदार भएर हाम्रो पार्टी कार्यालय, पार्टी नेतृत्व लाग्यो भने ९–१० महिनाको समयमा महाधिवेशन गर्न सकिन्छ । अहिलेको नेतृत्वले पार्टीलाई बचाउन चाह्यो भने एक, दुई महिना लकडाउन हुँदैमा महाधिवेशनलाई कुनै असर गर्दैन । क्रियाशील सदस्यताको काम टुंग्याएर क्षेत्रीय प्रतिनिधिहरू चुनिएपछि फटाफट चुनावको काम त भइहाल्छ नि ।

अझै पनि तपाईं समयमै महाधिवेशन हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

म त अझैं पनि महाधिवेशन समयमै हुन्छ भन्ने कुरामा निश्चिन्त छु ।

कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

सबैभन्दा पहिलो कुरा देशमा कोरोना भाइरसको महामारीका कारण जनजीवन, आर्थिक जीवन तथा सामाजिक जनजीवन असहज भइराखेको छ । अर्कोतिर सत्ताधारीहरू राष्ट्रको ढुँकुटी लुट्नपट्टि लागेका छन् । सारा नक्कली कम्पनीहरू खडा गरेर जसरी हुन्छ लुट्नु पर्छ भन्ने मान्यताका साथ सरकारमा रहेकाहरू अहिले काम गर्न तल्लिन छन् । नक्कली कम्पनीको नाममा अहिले राज्यको ढुकटी पूरै दोहन भइरहेको छ ।

पहिला यती समूहलाई नेपाल ट्रस्टमा आएको पूर्वराजा वीरेन्द्रको सम्पत्ति दिइयो । अहिले फेरि कोरोना भाइरसको महामारीका बेला ‘ओम्नी हो कि सोम्नी’ कम्पनी खडा गरेर सबै ठेक्कापट्टा उसैलाई दिने काम भइरहेको छ । अहिले कोरोनाको महामारीका बेला सरकारबाटै विचित्रको लुट मच्चिएको देखिएको छ ।

अहिलेको सरकार कम्युनिस्टको हो भन्छन्, जनताका लागि लडेका पनि भन्छन् तर यत्रो सम्पत्ति थुपार्न किन आवश्यक पर्‍यो । यसले गर्दा नेपालमा धेरै ठूलो खतरा छ । एक पटक सरकारमा पुगेपछि लुट मच्चाएर सत्ता आफ्नो कब्जामा राख्नै पर्ने सबैलाई सत्ताको भोक किन हो यस्तो ? यसबाट जनताले कसरी मुक्ति पाउने यो चिन्ता छ ।

संरचना बनाउनका लागि हामीले गरेको आन्दोलनमा कमी भयो कि त ?

यो हामीले गरेको आन्दोलनमा कमी होइन । अहिले सरकारमा पुगेका व्यक्तिको चरित्रमा कमजोरी देखियो । यहाँका मानिसहरूमा विवेकको कमी पनि छ ।

पहिला यती समूह र अहिले ओम्नी समूहको आवश्यकता किन पर्‍यो होला ?

यो त उसँगै मिलेर देशको ढुकुटी जति आफ्नो पोल्टामा पार्नका लागि नै हो । यसबाट आफूलाई लाभ लिनका लागि मात्रै हो । यसले जनतालाई त अप्ठ्यारो नै पारेको छ । कम्पनी खडा ग¥यो, कम्पनीको नाममा ठेक्का दिएको भन्यो राज्यको ढुकुटी त्यसैबाट मिलेर खाने हो ।

सरकारले कोरोनाविरुद्ध चालेका कदममा तपाईंको मूल्यांकन के छ ?

मैले त सुरुदेखि नै लकडाउनलाई विवेकपूर्ण ढंगले प्रयोग गरौं भन्दै आएको छु । महामारीबाट बच्न पनि पर्‍यो । हाम्रो व्यवहार चल्न पनि पर्‍यो । एकै पटक हात, खुट्टा छाडेर हामीले खान पनि पर्दैन, लाउन पनि पर्दैन भन्ने त होइन । शासनमा राख्र्नुे संयममा राख्नु पनि पर्‍यो । नचाहिँदो भीडभाड पनि गर्न भएन । भनेको काम पनि चल्न पर्‍यो । सबैभन्दा बढी त मैले भन्ने गरेको तीन वटा कुरामा ध्यान दिनु पर्‍यो । कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जाशक्तिको विकास ।

आजको दिनमा ऊर्जाशक्तिका लागि विभिन्न जलविद्युत्को प्रोजेक्टहरूलाई पनि गाह्रो भइरहेको छ । पर्यटनको विस्तारमा त अहिले पूर्णविराम नै लागि सक्यो । उद्योग व्यवसाय पनि चलिरहेका छैनन् । अब यस्तोमा एउटै बाँच्ने आधार हो कृषि । कृषिको जमिन यत्रो हामीसँग छ । हावा, पानी र जमिन छ । यसमा केही गर्नुपर्छ ।

तर, कृषिका लागि जनशक्ति त छैन नि ?

कृषिमा जनशक्ति पनि छ । भएको जनशक्तिलाई उपयोग गर्नुपर्छ । आधुनिक कृषि औजारको प्रयोग गरियो भने थोरै जनशक्तिले धेरै काम गर्न सकिन्छ । अहिले त बाहिर गएका मानिसहरू पनि आइरहेका छन् । लाखौं मान्छे त भारतबाटै आए, अन्य देश गएकाहरू पनि धमाधम आइरहेका छन् । कतिपय राष्ट्रका राष्ट्र प्रमुखहरूले आफ्नाआफ्ना मुलुकमा फर्कन भनिसकेका छन् । त्यसो भएको हुनाले एकातर्फ हाम्रो जमिन बाँझो भएर खेर गइरहेको छ । अर्कोतिर यहाँ खान पुग्दैन । अब के आउँदै छ भने बाहिरबाट निकासी रोकिने सम्भावना छ । भारतले आफ्नो अन्न अन्य मुलुकमा निर्यात नगर्ने भन्दै छ । अरू मुलुकहरू पनि त्यस्तै होलान् । त्यस्तो अवस्था आयो भने के खाएर नेपाली बाँच्ने । हामी बाहिरबाट ल्याएर खाने गरिएको हो ।

म कृषि मन्त्री हुँदासम्म त नेपाललाई पुग्ने थियो । बाहिर बेच्नका लागि राम्रो क्वालिटीको धान उत्पादन गर्नुपर्छ भन्ने चिन्ता हुन्थ्यो । तर अहिले सबै कुराहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । अहिलेको अवस्थामा बाहिरबाट आउन रोकियो भने के हुन्छ ? यसले त झनै नेपालको अवस्था भयावह हुन्छ । त्यसैले कृषिलाई जोड दिनुपर्नेमा त्यही कृषि नै ‘नेग्लेक्टेड’ भइरहेको छ । राज्यले कृषिका लागि महत्वपूर्ण कदम चाल्न लागिरहेको देखिएको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भन्यो, त्यसको अर्बौं रुपैयाँ कहाँ खर्च भयो केही थाहा छैन ।

ती त प्रोजेक्ट मात्रै बने, कुन अवस्थामा छन् भन्ने कसैलाई जानकारी छ र ?

हो, मैले भनेको पनि त्यही हो । प्रोजेक्ट ल्याउने र त्यसको नाममा रकम लिने मात्रै काम भएको छ । प्रोजेक्टको नाममा आफ्ना मान्छे पोस्ने काम भएको छ । जसले काम गर्छ उसले केही नपाउने, जुन किसान हो त्यसलाई नदिने । आफ्ना कार्यकर्ता कुन, कुन हुन तिनीहरूलाई खोजी खोजी दिने गर्दा नै अहिले बिग्रिएको हो ।

कोरोनाको विषयमा राज्य कहाँ छ भन्ने लाग्छ तपाईलाई ?

भारतबाट फर्कने नेपालीहरू सीमा नाकामा अलपत्र परेका छन् । कसैले महाकाली नदीमा हाम फालेर पनि आएका छन् । तर यस्ता कुरामा हामी ज्यादै भावुक हुनुपर्ने अवस्था पनि छैन । हिजो बलियो भइन्जेल भारतमा काम गर्ने, अहिले अलिकति अप्ठ्यारो पर्ने बित्तिकै भारतले यतातर्फ धकेल्दिने काम पनि गर्न भएन । अरू देशले पनि यस्तो गर्नु हुँदैन । त्यहाँ मेहनत गरेर पसिना चुहाएर बसेका मानिसहरूलाई संकटमा त्यही जोगाएर राख्नु पनि प¥यो । तिनीहरूलाई सुरक्षित ठाउँमा राख्नु पनि पर्‍यो । उनीहरूलाई खान, लाउन, बस्न र स्वास्थ्य उपचार गरेर राख्नु पर्‍यो नि त ।

यहाँ आइरहेका छन् । उनीहरूलाई पनि अलि सुरक्षित गरेर रोग लिएर नआउन भन्नका लागि फिल्टर गर्ने, केही समय क्वारेन्टाइन र आवश्यक परेकालाई आइसोलेसनमाा राख्ने त्यो कोर्स पूरा भएपछि मात्रै समाजमा घुलमिल हुन दिने काम गर्नुपर्छ । यसका लागि राज्यले राम्रोसँग काम गर्नुपर्ने हो । तै पनि ठाउँठाउँमा मैले सम्पर्क गर्दा बरु स्थानीय तहले यसमा अलि चासो दिएका छन् । केन्द्रीय सरकारले गरेको काम भने पर्याप्त छ जस्तो लाग्दैन । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरू अहोरात्र खटिएका छन् ।

सरकारले राजनीतिक दलहरूसँग समन्वय गरेर काम गरेको छ ?

सरकारले विपक्षी दलहरूलाई त अछूत जस्तो गर्छ । कसैसँग सोध्न, सल्लाह लिन परामर्श गर्न आवश्यकै ठान्दैन । सरकार त एक्लै उन्मक्त मैमक्त भएर हिँड्या छ । सरकारले केही वास्ता गरेको छैन । हामीले भन्न खोज्दा सरकारमा बसेका मान्छेहरूले फोन उठाउँदैनन् ।

तपाईंहरुले सहमतीय सरकार चाहियो भनेपछि के गर्नु त सल्लाह ?

हामीले सहमतीय सरकार केही माग्या छैन । बेकारमा उनीहरूले हल्ला मात्रै गरे । सत्ता उनीहरूको बाबुको पेवा होजस्तो गरेर प्रचारबाजी गरिरहेका छन् । उनीहरू सत्ता लान्छन् कि भनेर अत्तालिन पर्दैन कसैले ।

दुनियाँंमा सरकार र विपक्षी दलको सहकार्यबाट समस्या समाधान गर्ने थिति बसोस् भन्दा खेरिमा लौ कांग्रेसले सरकार माग्यो भनेर हल्ला फिँजाउनेहरू सर्वसत्तावादी हुन् । हाम्रै मान्छेका पनि बुद्धिमा बिर्को लागेको छ । मैले त त्यहीबेला भन्या, सहकार्य गरौं, हामी के सहयोग गर्नुपर्छ गर्छौं भनेर । विपक्षी पार्टीहरूलाई साथ लिएर काम गर भनेर सरकारलाई भनेको हो । मैले भनेको कुरा के हो भने ‘राष्ट्रिय सहमतिको वातावरण हुन पर्‍यो । विपक्षी पार्टीहरू मिलेर राष्ट्रलाई संकट परेका बेला कसरी पार पाउने भन्ने कुरामा आफ्नो आफ्नो बुद्धिको प्रयोग गर्नु पर्‍यो। राष्ट्रलाई जोगाउन पर्‍यो भन्न खोज्या हो ।

ए, त्यसो भए गलत अर्थ लगाइयो ?

गलत अर्थ मात्रै होइन कि उनीहरू सत्ता गइहाल्छ कि भनेर अत्तालिएर मर्न लागे ।

कोरोना भाइरसको महामारीका बीचमा अहिलेसम्म प्रधानमन्त्रीले गरेका दुई पटकका सम्बोधनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

प्रधानमन्त्री राम्रो बोल्न जान्नुहुन्छ । जिब्रो फट्कार्न जान्नु हुन्छ । तर, भविष्यका लागि कुन योजना भन्ने केही छैन । भइरहेका कुराहरूको पृष्ठपोषणभन्दा थप केही कुरा पनि छैन ।

अब सरकार कसरी अगाडि बढ्नु पर्छ ?

मूल रूपमा अब भोलिको कुरा सोच्नु पर्‍यो । भविष्यमा पर्न सक्ने अप्ठ्यारोबारे सोच्नु पर्‍यो । अब कसरी नेपाली बाँच्ने, महामारीबाट कसरी जोगाउने भन्ने कुरामा सोच्नु पर्‍यो । स्वास्थ्य समस्या एकातिर छ भने अर्कोतिर अहिले पेटको समस्या पनि छ । भोलि के समस्या आउँछ, त्यतातर्फ ध्यान दिनुपर्‍यो । त्यसका लागि अहिलेदेखि नै सरकारको सम्पूर्ण शक्ति कृषि कार्यमा लगाउन पर्‍यो ।

अब कांग्रेसको भूमिका के हुन्छ ?

कांग्रेस त आफ्नो ठाउँमा बस्छ । जनतालाई पनि सम्झाएको छ । मैले देशभरिका साथीहरूलाई फोन गरेर पनि सोधिराख्या छु । आफ्नोआफ्नो ढंगले गाउँठाउँमा लाग्नु भएको छ ।

पछिल्लो परिस्थितिका विषयमा पार्टीभित्र छलफल भइराखेको छ ?

पार्टीभित्र खासै छलफल भएको छैन । अस्ति एक दिन छलफल भयो, त्यो पनि सामान्य खालको अवस्था हो । साथीहरूले आफ्ना बुद्धिले भ्याएका कुराहरू बोलिराख्या छन् ।

अन्त्यमा, के सुझाव दिन चाहनुहुन्छ ?

म के भन्छु भने आआफ्नो ठाउँमा रहेका साथीहरूले आफ्नो धर्म निर्वाह गरून् । आफू जोगिएर अरूलाई जोगाउने, आफू पनि बच्ने समाजलाई पनि बचाउने र मानवता पनि बचाउने काममा सबै साथीहरू लाग्नुुस् । यतिखेर मानव सभ्यताविरुद्ध कोरोनाका आक्रमण भएकाले यसविरुद्ध सफलता हासिल गर्नका लागि हामी सबै तयार भएर लाग्नुपर्छ ।

प्रस्तुति : मुक्तिबाबु रेग्मी