देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीरगञ्जबाट आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

देशान्तर

कैलाली । लम्कीचुहा नगरपालिका १ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको र्‍यापिड टेष्टको नतिजा नेगेटिभ देखिए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको नतिजा पोजेटिभ आएको छ । काठमाडौंमा गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको जानकारी आएको लम्की अस्पतालका डा. प्रकाश तिमिल्सिनाले बताएका छन्।

संक्रमित महिला बीरगन्ज नाकामा चियाँ पसल गर्थिन् । लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले १७ चैतमा ३५ जनालाई पश्चिमतर्फ आउने अनुमति दिएको थियो। त्यही समूहमा उनी पनि आएकी थिइन् । उनीहरूमध्ये केही दाङ तथा नेपालगन्जमा उत्रिएको र १७ जना भने १८ चैतमा कैलाली आइपुगेको प्रहरी स्रोतले बताएको छ।

कैलाली आएपछि उनीहरू सबैलाई लम्की बहुमुखी क्याम्समा रहेको क्वारेन्टाइनमा राखिएको थियो। र्‍यापिड टेष्टको नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर पिसिआर प्रविधिबाट गरिएको परीक्षण पोजेटिभ आएपछि उनलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । कोरोना भाइरस परीक्षणका लागि उनको र्‍यापिड टेष्‍ट कहिले गरियो भन्ने जानकारी भने दिइएको छैन। उनी वीरगंजबाट नै कोरोना भाइरस संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ।

उनीसँगै रहेका अन्य १६ जनाको पनि र्‍यापिड टेष्‍टमा नतिजा नेगेटिभ देखिएपछि सबैलाई घर पठाइएको थियो । अहिले बाँकी १६ जनालाई पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको छ।