देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना रोकथाममा इन्द्रावतीको उदाहरणीय सक्रियता

देशान्तर

इन्द्रावती (सिन्धुपाल्चोक) । कोरोना महामारीका कारण उत्पन्न संकट व्यवस्थापन र जनताको जनजिवन सहज बनाउन स्थानीय सरकारहरुको भूमिका आलोचित बनिरहेका बेला सिन्धुपाल्चोक जिल्लास्थित विकट भौगोलिक अवस्थामा रहेको इन्द्रावती गाउँपालिकाले भने अनुकरणीय कार्य गरेको छ । लकडाउनको समयमा पनि छोटो अवधिमै गाउँपालिकाको उचित व्यवस्थापनले गाउँपालिकाबासीहरुले आधारभूत सेवा सुविधाबाट बञ्चित हुनुपरेको छैन ।

संघ र प्रदेश सरकारको सहयोग नभएपनि गाउँपालिका प्रमुख बंशलाल तामाङको अगुवाईमा गाउँपालिकाकै विपद् व्यवस्थापन कोष परिचालन गरी कोरोन भाइरसको रोकथामका लागि इन्द्रवातीमा ३ सय ६० बेडको क्वारेन्टाइन र आइसोलेशनको पूर्वाधार तयार गरिएको छ । यसैगरी गाउँपालिकाका सबै १२ वटै वडामा क्वारेन्टाइनको प्रबन्ध गरिएको गाउपालिका अध्यक्ष तमाङले जानकारी दिए । गाउँपालिकामा विदेशबाट आएका सबैको पहिचान भइसकेको र हाल २४ जनालाई क्वारेन्टाइनमा राखी दिनहु अनुगमन गर्ने काम भइरहेको छ । वैदेशिक रोजगारीबाट हालसालै गाउँ फर्केका २४ जनाकै नाम सार्वजनिक गरी उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । यसैगरी प्रत्येक स्वास्थय चौकीमा स्वास्थ्यकर्मीहरु उच्च सर्तकर्ताकासाथ कार्यस्थलमा खटिएको र सबै स्वास्थ्यकर्मीहरुलाई पिपिईको प्रबन्ध गरिएकाले पनि तामाङले जानकारी दिए ।

लामो समय अमेरिकामा बसेर त्यहाँको सुविधासम्पन्न जीवनशैली त्यागी गाउँ फर्किएका तामाङ नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । उनी गाउँपालिका राष्टिय महासंघको महासचिव समेत हुन् ।

तामाङको सक्रियतामा छोटो समयमै नवलपुर प्राथमिक अस्पतालमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको ६ वेडको आइसोलेशन वार्ड तयारी पारिएको छ । यसैगरी १२ वटै स्वास्थ्य चौकीहरुमा पीपीई लगायत आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गरिसकिएको छ । स्वास्थयकर्मीहरु ‘इन्फेरेर थर्मामिटर’ बोकेर प्रत्येक वाडमा पुगी सर्वसाधारणको ज्वरो जाच्ने र आवश्यक सचेतनामुलक जानकारी दिने काममा जुटेका छन् ।

लकडाउनको अवधीमा कोही पनि व्यक्ति भोको बस्नु नपरोस भन्ने हेतुले प्रत्येक गाउँका सुकुम्बासी, विपन्न तथा दैनिक ज्यालादारी मजुदुरहरुलाई गाउँपालिकाले खाद्यान्न वितरण गर्दै आएको छ । यसका साथै सबै स्वास्थ्य चौकी, वडा कार्यालय र महत्वपूर्ण सार्वजनिक स्थानहरुमा निर्मलीकरण स्प्रे छर्किने काम धमाधम भइरहेको पनि जनाइएको छ । अध्यक्ष तामाङ आफै प्रत्येक स्वास्थ्य चौकीमा पुगि अनुगमन गरिरहेका छन् । इन्द्रावतीबाट अन्य जिल्लामा गएका कामदारहरु गाउँ फर्कन चाहेमा उनीहरुको चेक जाँच गरी क्वारेन्टाइनमा राखेर मात्रै गाउँमा भित्र्याउने काम गरिएको छ । यसैगरी गााउँबाहिर जान चाहनेहरुको पनि स्वास्थ्य जाँच गरी पास दिएर पठाउने गरिएको तामाङले बताए । कामको सिललिलामा गाउँपालिकामा आएका अन्य स्थानका मजदुरहरुलाई पनि खाद्यान्नको उचित प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

त्यस्तै गाउँपालिका बासिहरुलाई कोरोना भाइरसबारे सचेत गराउन नेपाली र तामाङ दुबै भाषामा संचार सामग्री तयार पारी स्थानीय रेडियोबाट प्रशारण गर्ने तथा पोष्टरहरु तयार गरी गाउँ गाउँका सार्वजनिक स्थानहरुमा टास्ने काम सम्पन्न भइसकेको पनि उनले जानकारी दिए । प्रत्येक वडामा आवश्यक खाद्य व्यवस्थाको लागि विहान ७ देखि ९ बजेसम्म सामाजिक दूरी कायम गरी पसल खोल्ने व्यवस्था मिलाइएको पनि गाउँपालिका प्रमुम तामाङले बताए ।

१०५ दशमलव ११ वर्ग किलोमिटरमा फैलिएको इन्द्रवती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्चीनगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिका रहेका छन् । साविकका गाविसहरु क्रमशः सिम्पालकाभे्र, कुन्चोक, नवलपुर, वाँडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार समेटेर इन्द्रावती गाउँपालिका घोषणा गरिएको थियो । । यस गाउँपालिकामा १२ वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना, २०६८ अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २८,५१७ रहेको छ जस मध्ये पुरुष ४६.९१ प्रतिशत (१३,३७६ जना) र महिला ५३.०९ प्रतिशत (१५,१४१ जना) रहेको यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी तामाङ्ग जाति ७४१४ जना (२६ प्रतिशत), दोस्रोमा ब्राम्हण (पहाडी)४२८३ जना (१५.०२ प्रतिशत) र तेस्रोमा क्षेत्री ४१८४ (१४.६७ प्रतिशत) हरुको बसोबास रहेको छ । शैक्षिक हिसावमा यस गाउँपालिकामा सामुदायिक १२ वटा मा.वि, ३९ वटा आधारभूत, र ८ वटा सामुदायिक बालविकास केन्द्र गरी जम्मा ५९ वटा शिक्षण संस्थाहरु संचालित छन् ।

यस गाउँपालिकामा औषत पारिवारीक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार व्यवसाय, पशुपालन, साना उद्योग, सेवा, नोकरी हुन् । यसको साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो ।