देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय संकटमा सरकारको दायित्व

देशान्तर

कोरोनाविरुद्ध नेपाल सरकारसहित सबै नेपाली जनता लड्नु पर्ने। नेपाली जनताले पर्याप्त सजगता त अपनाएका पनि छन् । अझै सरकारले यसका प्रति गर्ने जे जति उत्तरदायित्व थियो, पर्याप्त समयका बाबजुत पनि गर्न सकेको छैन । ढिलागरी प्रधानमन्त्रीले सम्बोधन गरेर सेमी लकडाउन गर्नुभएको छ । यो एक हिसाबले राम्रो पनि हो । सरकारले कोरोनालाई ढिला गरी बुझेको जस्तो लाग्छ । अहिले पनि नेपाली जनताहरू दैनिक उपभोग्य वस्तुहरू नपाएर हैरान खेपिरहेका छन् । यदि भविष्यमा नेपालमा कोरोना भाइरस पुष्टि भयो भने अवस्था के होला भन्ने विषयमा चिन्तित छौं ।

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण पछि आफैं क्वारेन्टाइनमा हुनुहुन्छ भने स्वास्थ्यमन्त्री अहिले पाहुना स्वागत गर्नमै व्यस्त भएका खबरहरू पनि आए । यसले नेपाली जनतालाई झनै चिन्तित तुल्यायो । प्रधानमन्त्रीको कुरा त छाडौं स्वास्थ्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट यस्तो गैरजिम्मेवार हर्कतले नेपाली जनतालाई निराश नै तुल्याएको छ ।

सरकारले जे जति तयारी गरे पनि कोरोना भाइरसको परीक्षण गर्ने ठाउँ एउटा मात्रै छ । टेकुको शुक्रराज ट्रपिकल सेन्टरमा मात्रै परीक्षण गर्दा यति धेरै संख्या भएको काठमाडौं उपत्यकाका जनतालाई ढुक्क हुने अवस्था छैन । भूकम्प, बाढीपहिरो जस्तो दैविक प्रकोप होइन यतिबेला । कोरोना भाइरस त पहिला चीनबाट सुरु भयो र पछि विश्वका अन्य मुलुकहरूमा फैलिएको हो । जसले गर्दा नेपालले पनि यस विषयमा पहिला नै जानकारी पाएकै थियो । त्यसैले सरकारले यस विषयमा चाँडो निर्णय गरेर तयारी गर्नुपर्ने थियो । अहिलेसम्म विश्व स्वास्थ्य संगठनको रिपोर्टलाई आधार मान्ने हो भने एक जनालाई मात्रै लक्षण देखिएको र उनी पनि पूर्णरूपमा स्वस्थ भएर घर फर्किएका छन् । साथै अहिले विश्व स्वास्थ्य संगठनले नेपाललाई ग्रिन जोनमा पनि राखेको छ । यो एक हिसाबले राम्रो कुरा भए पनि फेरि आउँदैन भनेर ढुक्क बस्ने अवस्था भने छैन ।

कोरोना भाइरसविरुद्ध संसद्मा पनि कांग्रेसकै सांसद गगनकुमार थापाले पेस गरेको सार्वजनिक महत्वको प्रस्ताव पास पनि भयो । हामीले सबै नाकाहरू बन्द गर्नुपर्छ भनेर भन्यौं । नाका अहिले खाली मान्छेको तापक्रम हेरेर मात्र बन्द गरिएको छ । यो व्यावहारिक छैन । हामीले त पूर्णरूपमा नाका बन्द गर्नुपर्छ भनेका थियौं । हामीले दैनिक उपभोग्य वस्तुहरूको ढुवानीबाहेक अरू जम्मै ठप्प गर्नुपर्छ भनेका थियौं । तराईका २२ जिल्लामा भारतसँगको खुला सीमाका कारण अहिले पनि मानिसहरूको निरन्तर आउजाउ गर्ने प्रक्रिया जारी छ ।
भारतमा कोरोना भाइरस भित्रिसकेको छ । चीनबाट झन् उत्पत्ति नै भएको हो । चीन, भारत अमेरिकाजस्ता देशहरूले कोरोना भाइरसविरुद्ध सहज अवतरण गर्न नसकिरहेका बेला भारतबाट कोरोना नेपाल भित्रियो भने हाम्रो अवस्था के होला यस तर्फ पनि सोच्नु पर्छ ।
अहिलेसम्म कोरोना परीक्षण गर्ने काठमाडौंमा मात्रै ल्याब छ । कम्तीमा सातवटै प्रदेशमा परीक्षण गर्ने ल्याब हुनुपर्छ । सबै प्रदेशमा कोरोनाको उपचारका लागि चिकित्सकहरूको व्यवस्था गर्नुपर्ने हो । केही समय निजी अस्पतालहरूलाई पनि सरकारले केही सहुलियत दिएर आफ्नो नियन्त्रणमा लिनुपर्ने थियो । सरोकारवाला निकायहरूसँग लगातार छलफल गरेर जनतलाई आश्वस्त पार्नुपर्ने थियो । सरकारकाले अहिले भनेको पनि छ क्वारेन्टाइनमा बस्नुस्, अत्यावश्यक सेवाका बाहेक अरू कार्यालयहरूमा बिदा पनि दिएको छ । तर पनि उसले यति भन्दै गर्दा जनताहरू ढुक्क हुने अवस्था नदेखिएकाले पनि कोरोनाको त्रास बढ्दो छ ।

जनताले सरकारले लिएको कदममा सहयोग नगरेको भन्ने होइन । कोरोना सरकारको मात्रै समस्या होइन । यो सबै राजनीतिक दल, जनता र नेपालमाथि नै परेको समस्या हो । अहिले यस्तो अवस्थामा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छ । नेपाली जनताले सहजरूपमा पैसा लिएर जाँदा सामान पाइराखेका छैनन् । ग्यासका सिलिन्डरहरू खाली भएका जनताका घरमा ग्यास आउने ठेगान छैन । यसले गर्दा पनि अहिले मानिसहरू अलि बढी आत्तिएका हुन् ।

सरकारले अहिले आइसोलेसन बेडहरू बनाएको भनेको छ । सरकारले एक हजार बेडको कुरा गरेको छ । यो अझै पर्याप्त छैन । अहिलेसम्म त देखिएको छैन । यदि देखिहाल्यो भने बेडहरू धेरै आवश्यक पर्छन् । चीनबाट उद्धार गरिएका व्यक्तिहरूलाई खरीपाटीको क्वारेन्टाइनमा राख्दा १७५ जनालाई राखिएको थियो । कोरोना एकै पटक हजारौं जनालाई संक्रमण भयो भने अहिले बनाएका क्वारेन्टाइनहरू पर्याप्त नहुन पनि सक्ने भएकाले अहिले नै सरकारले निजी अस्पतालहरूमा पनि यो व्यवस्था गर्नुपर्छ ।

एक जना व्यक्तिलाई कोरोना लाग्यो भने १४ दिनभित्र कहाँ कहाँ, को कसलाई भेट्यो उनीहरूलाई पनि संक्रमण हुने खतरा रहने भएकाले यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । सरकारले आफ्नो संयन्त्र मात्रै परिचालन गरेर पुग्दैन । अहिले भनेको राष्ट्रिय संकटको अवस्था हो । अहिले सरकारी तथा निजी अस्पतालमा रहेका स्वास्थ्यकर्मीको सम्पूर्ण डाटा लिएर सरकार बस्नुपर्छ । आवश्यक पर्दा के सरकारी, के निजी सबैलाई परिचालन गर्नका लागि सरकार तयारी अवस्थामा बस्नुपर्छ । अहिले सुदूरपूर्व र सुदूरपश्चिमका मानिसलाई कोरोना भाइरस टेस्ट गर्नु परेमा उसको नमुना काठमाडौं ल्याउनुपर्ने अवस्था छ । यसले पनि केही अप्ठ्यारो भएको छ । यदि सातवटै प्रदेशका राजधानी भएका ठाउँमा पनि परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्छ ।

सुरक्षा निकायका पनि अस्पतालहरू छन् । तिनीहरूसँग पनि सरकारले सहकार्य गरेर अहिलेको राष्ट्रिय संकटबाट पार पाउनुपर्छ ।
म पनि संसदीय समितिको सदस्यका हिसाबले बजार अनुगमन गर्न जाँदा उपभोक्ताले सजिलै सामान नपाएको देखेको छु । बजारमा अहिले ग्यास लिन जाँदा व्यापारीले बिहान गए बेलुका आउनुस्, बेलुका गए भोलि बिहान आउनुस् भन्ने जवाफ दिने गरेका छन् । तर, सरकारले आफ्ना कमी, कमजोरी लुकाउन सबै कुरा ठीक छ, उपभोग्य वस्तुको अभाव छैन भनेर जनतालाई ढाँटी रहेको छ । अब त सरकारले सेनिटाइजर, मास्क उद्योगहरूसँग सीधै कुरा गरेर किन्नुपर्ने बेला आइसकेको छ ।

हामीले पनि सोच्ने बेला भएको छ । अहिले एक लिटर पेट्रोलले पुगिरहेको समयमा १०–१५ लिटर किनेर राखेका छौं, एउटा सिलिन्डरले पुग्ने ठाउँमा हामीले २–३ वटा किनेर घरमा थन्क्याएका छौं, जसले गर्दा पनि बजारमा अभाव सिर्जना भएको हो । यसमा केही सत्यता पनि छ । तर जनता सरकारले सबै कुरा ठीक छ भनेर ढुक्क नभएको परिणामको रूपमा यसलाई बुझ्न सकिन्छ । विगतका अनुभवबाट पनि जनताले अहिले यसलाई नपत्याएका हुन् कि भन्ने कुरा पनि आउँछ ।
(स्नेही नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।)