देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशीलाई पदयात्रा बन्द

देशान्तर

काठमाडौं : कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली ९टिम्स०कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन् । बोर्डले आजैबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको हो ।

नेपालको पदयात्रामा जाने विदेशीले टिम्स अनिवार्य लिनुपर्छ । टिम्सबापत विदेशीले व्यक्तिगतरुपमा रु दुई हजार र संस्थागत गएमा रु एक हजार तिर्नुपर्छ । पर्यटनको महत्वपूर्ण आम्दानीका रुपमा टिम्स रकमलाई लिइन्छ । वसन्त ऋतु पदयात्राका लागि उपयुक्त याम भएकाले धेरै आरोही पदयात्राका लागि नेपाल आउने गरेका थिए । कोभिडको विश्वव्यापी सङ्क्रमण फैलिएपछि सम्बन्धित मुलुकले अन्य मुलुकका नागरिक प्रवेशमा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान पनि कटौती भएको र विदेशीको आवतजावत पनि कम भएको हो ।

बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल ९टान०ले टिम्स कार्ड वितरण गर्दै आएका छन् । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाको सङ्क्रमण कम नभएसम्म टिम्स कार्ड वितरण बन्द गर्ने सरोकारवाला निकायबीच सहमति भएको जानकारी दिनुभयो । बोर्ड, टान र टान पोखरा कार्यालयले टिम्स वितरण गर्दै आएका छन् । यो याममा टानले दैनिक २००, बोर्डले १५० र पोखरा कार्यालयले ५० भन्दा बढी टिम्स वितरण गर्ने गरेको टानले जनाएको छ ।