देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति अस्ट्रेलियामा विवाद चर्कियो

देशान्तर

सिड्नी । लामो समयदेखि विवादको भुमरीमा फस्दै आएको नेपाली जनसम्पर्क समिति, अस्ट्रेलिया भित्रको विवाद थप चर्किएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट जनसम्पर्क समिति अस्ट्रेलियाको अधिवेशन तयारी समितिको संयोजक तोकिएका कृष्ण गिरीले कसैसँग सरसल्लाह र सहमति नगरी आफूखुसी विभिन्न समितिहरू घोषणा गरी भाइबर ग्रुपमा प्रकाशित गरेपछि जनसम्पर्क समिति भित्रको विवाद थप चर्किएको हो ।

केन्द्रले कृष्ण गिरीलाई अधिवेशन तयारी समितिको संयोजक तोकेपनि एन.एस.डब्लु लगायत अन्य राज्यका जनसम्पर्क समितिहरू उक्त निर्णयप्रति सहमत छैनन् । गिरीको व्यक्तिगत महत्वकांक्षा र निकृष्ठ कार्यशैलीका कारण जनसम्पर्क समिति अस्ट्रेलियाभित्र समस्या र विकृती बढ्दै गएको उनीहरूको आरोप छ । केन्द्रले अधिवेशन तयारीका लागि गिरीलाई संयोजक तोकेपनि अस्ट्रेलियाभित्रका कुनैपनि अन्तरराज्य (इन्टर–स्टेट) जनसम्पर्क समितिको समर्थन गिरीलाई छैन । नेपाली कांग्रेस केन्द्रिय सह–महामन्त्री डा. प्रकाशशरण महतको कृपामा गिरी संयोजक बनेपनि व्यवहारिक रुपमा उनले अधिवेशन सम्पन्न गराउन नसक्ने अधिकांशको बुझाई छ ।

गिरीले कसैसँग सल्लाह र सहमति नगरी जनसम्पर्क समिति, अस्ट्रेलियाको लेटरप्याडमा अधिवेशन तयारीको लागि भन्दै विभिन्न समिति लगायत अन्तरराज्य अधिवेशन तयारी समितिको संयोजक तोकेर सदस्यहरुको नाम प्रकाशित गरेपछि अधिकांशले नसोधी नाम राखेकोले आफू असहमत रहेको जवाफ फकाईरहेका छन् । गिरीले समितिहरुमा सुनेको र चिनेको भरमा आफूखुसी नाम राखेको उनीहरूको आरोप छ ।

गिरीको यो प्रयाशलाई घृणित र स्वार्थी कार्य भन्दै इन्टरस्टेट जनसम्पर्क समितिहरुले यसको विरोधमा कडा विज्ञप्ति प्रकाशित गरेका छन् । जनसम्पर्क समिति एन.एस.डब्लु, जनसम्पर्क समिति मेलवर्न, जनसम्पर्क समिति क्वीन्सल्याण्ड, जनसम्पर्क समिति साउथ अस्ट्रेलिया, जनसम्पर्क समिति नर्दन टेरोटोरी, जनसम्पर्क समिति क्यानवरा, जनसम्पर्क समिति वेष्टर्न अस्ट्रेलिया, जनसम्पर्क समिति तास्मनियाका अध्यक्षहरूले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै गिरीको कदमको विरोध गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– “गिरीले हामी कसैसँग सर–सल्लाह नगरी, अनुमति विना मनपरी ढंगले समिति गठनको नाममा हाम्रा साथीहरूको नाम राखेर मानमर्दन गरेकोले हाम्रो ध्यानाकर्षण भएको छ । यसमा हाम्रो आपत्ती र असहमति छ भन्ने कुरा जानकारी गराउन चाहन्छौं ।”

विज्ञप्तिमा अगाडि भनिएको छ– “अधिकांश (९० प्रतिशतभन्दा बढी) सदस्यहरूको भावना विपरित केन्द्रले कृष्ण गिरीलाई नेपाली जनसम्पर्क समितिको अधिवेशन गर्न संयोजक खटाएपछि देखिएको असन्तुष्टि केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य एन.पी. साउद आउने भएपछि सकारात्मक रुपमा अगाडि बढ्यो । केन्द्रिय सदस्य एनपी साउद र नेविसंघका पूर्व महामन्त्री सरोज थापाको प्रयाशपछि निज केन्द्रिय अतिथिप्रति सदस्यहरुको विश्वासका कारण दशक लामो विवाद टुंगिने देखियो । ९० प्रतिशतभन्दा बढी सदस्यहरूको भावनाको कदर नभएको भन्दै गिरीलाई नेता मान्न नसकिने अडानमा रहेका अस्ट्रेलियाका ८ वटै राज्यमा कार्यरत जनसम्पर्क समिति अन्तर्गतका सदस्यहरू केन्द्रिय प्रतिनिधिज्यू र नेता सरोज थापाको उपस्थितिमा बसेर छलफल गर्न तयार भए । सो बैठक मुलतः केन्द्रद्वारा गठन गरिने भनिएको १५ सदस्यीय अधिवेशन तयारी समितिका थप १४ जना सदस्यहरू सिफारिस गर्ने र नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको अधिवेशन सफल पार्ने कुरामा केन्द्रित रह्यो । केन्द्रिय नेताको रोहवरमा देवेन्द्र बस्नेत र अभिमन्यू केसीसहितको तीन सदस्य समिति गठन गरी यथासक्य चाडो समितिका अन्य सदस्यहरुके नाम सिफारिस गर्ने निर्णय गर्न निर्देशन दिइएको थियो । तर गिरीको उदासीनताको कारण सो काम सफल हुन सकेन ।”

विज्ञप्तिम, गिरीले केन्द्रिय प्रतिनिधिको निर्णय र निर्देशनको समेत अवज्ञा गरी मानमर्दन गरेको उल्लेख छ । “केन्द्रले दिएको निर्देशन र तोकेको समयावधि सकिदै जादा अधिवेशन सम्पन्न गर्ने कार्यमा कुनै प्रगति हुन नसकेपछि केन्द्रलाई भ्रमित पार्न जनसम्पर्क समितिको नाममा जथाभावी नाम राखेर तयारी समितिको घोषणा गरिएको हो”, जनसम्पर्क समिति एनएसडब्लुको अध्यक्ष इथान शाक्यले भने ।

यसैगरी जनसम्पर्क समिति, नर्दन टेरोटोरीका अध्यक्ष सविन बराल केन्द्रले गलत निर्णय गरेर कार्यकर्ता लडाउने काम गरेको बताउँदै गिरीले अधिवेशन गराउनै नसक्ने दाबी गरे । “यो त सबै केन्द्रलाई भ्रममा पारेर म्याद थप्ने प्रयाश हो”, उनले भने ।

केन्द्रले जनसम्पर्क समिति अस्ट्रेलियाको वास्तविक स्थिति बुझेर पनि केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा गलत व्यक्तिलाई जिम्मेवारी दिइ संगठनभित्र विवाद चर्काएको आरोप जनसम्पर्क समिति भिक्टोरीयाका अध्यक्ष विनित शर्माको छ । “अधिवेशन गराउने नियत नै छैन, यो त विवाद सृजना गरी राख्ने र सुटुक्क महाधिवेशन प्रतिनिधि लैजाने खेल हो”, उनले भने ।