देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरुङ, डाइभर्सन र झुटा आश्वासन

देशान्तर

यो पंक्तिकार यतिबेला गृहनगर बुटवलमा छ । प्राचीन बु्द्धवल्ली, बटौली हुँदै बुटवलमा परिणत भएको यो नगरमा दिन दुगुना रात चौगुनाका दरले बजार र बस्ती विस्तार हुँदैछ र करिबकरिब तिलोत्तमा नगरपालिका हुँदै भैरहवासम्म एउटै महानगर हुने सम्भावना बढेको छ । चोकैपिच्छे बैंक, फाइनान्सहरू खुलेका छन् ।

अग्लाअग्ला टावर, रिसोर्ट, तारे होटलहरू धमाधम खुल्दैछन् । अन्तर्राष्ट्रिय विमानस्थलको आकर्षणका कारण यस क्षेत्रमा आर्थिक, औद्योगिक र पर्यटकीय सम्भावना बढेको छ । भौगोलिक रूपमा नेपालकै करिब केन्द्रमा रहेको बुटवल हरेक हिसाबले आकर्षणको केन्द्र बन्दैछ ।

बढदो आर्थिक सम्भावनाबीच बुटवलबासी भने खानेपानीको समस्याले पिरोलिइरहेका छन् । वर्षा याममा धारा खोल्यो कि तिनाउको धमिलो पानी आउँछ । हिउँदमा त झन् पानीकै संकट । शान्ति सुरक्षाको अवस्था पनि सन्तोषजनक देखिँदैन । केही समयअघि मात्र सिद्धार्थ राजमार्ग किनार रहेका बुद्धका मूर्तिहरू कुनै अज्ञात तत्वले तोडफोड गरेर यस क्षेत्रकै अस्मिता र गौरवमाथि धावा बोलेको थियो । सिमानामा चोरी निकासी सरकारी निकायका अधिकारी र प्रहरी प्रशासनकै मिलेमतोमा भइरहेको कुरा स्थानीय जनता बताउँछन् । यातायातमा सिन्डिकेटको दबदबा कायमै छ भने बिचौलिया, जग्गा दलाल र राजनीतिक आडमा हुने अनियमिततामा कुनै कमी आएको छैन । र कमी आएको छैन, लाहुरबाट फर्किएकाहरू लुटिने र ठगिने क्रम ।

झुम्सा खोलाबाट खानेपानी ल्याएर खुवाउन नसकेका यहाँका जनप्रतिनिधिहरू जनतासामु प्रधानमन्त्री ओलीकै सिको गरेर विकासका तिलस्मी सपना बाँड्नमै तल्लीन देखिन्छन् । यो क्षेत्रबाट निर्वाचित एक सांसद एवं नेकपा महासचिव विष्णु पौडेल नगरवासी सामु हावादारी आश्वासन बाँडिरहेका छन् । बालुवाटार जग्गा काण्डमा मुछिएपछि आफ्नो भोट बैंक कसरी जोगाउने भन्ने चिन्तामा रहेका पौडेल बुटवलबासीलाई आकर्षक तर झुटा आश्वासन पस्किन माहिर देखिन्छन् ।

केही दिनपहिले पौडेल पंक्तिकारको घर छेउमै रहेको चिडियाखोलास्थित रामा पिथेकस पार्कको भ्रमणमा आएका थिए र उनले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना पूरा गरेरै छाडने, तिनाउ किनारमा तटबन्ध निर्माण गर्ने आदि आश्वासन दोहो¥याएका थिए । उनको कुरालाई कमैले पत्याए ।

महासचिव पौडेलले यसो भने पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उनको विपक्षमा छन् । गुरुङले भनिसकेका छन्, ‘विष्णु हैन, ब्रम्हा नै आए पनि डाइभर्सन बन्न दिन्न ।’

पौडेलले चुनावताका र आफू अर्थमन्त्री हुँदा करिब ३० किलोमिटर सुरुङ खनेर कालीगण्डकीको पानीलाई तिनाउमा मिसाउने र रूपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रमा सिँचाइ र खानेपानीको समस्या हल गर्ने महत्वाकांक्षी योजना ल्याएका थिए । गण्डकी प्रदेश सहमत नहुने जान्दाजान्दै चुनावी स्टन्टका लागि पौडेलले यस्तो नारा अघि सारेको अहिले आएर स्पष्ट भएको छ । अहिले महासचिव पौडेलको योजनाविरुद्ध पाल्पा, स्याङ्जा र तनहुँसम्मका जनता आन्दोलित छन् र उनीहरूले संघर्ष समितिसमेत गठन गरेका छन् ।

कालीगण्डकीको पानी डाइभर्सनमार्फत तिनाउमा मिसाएमा आफूहरूको क्षेत्र सुक्खा हुने उनीहरूको चिन्ता छ ।

महासचिव पौडेलले सरकारको नीति तथा कार्यक्रममा समेत कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय योजना पारेका छन् । स्थानीय जनताको असहमतिका बाबजुद उनले आफ्नो क्षेत्रका मतदाताको बुद्धि भुट्न यस्तो योजना ल्याएको भए पनि यसले प्राकृतिक स्रोतको बाँडफाँडमा प्रदेश–प्रदेशबीच किचलो उत्पन्न गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले यसको ठाडै विरोध गरिसकेका छन् र कुनै हालतमा योजना सम्पन्न हुन नदिने अठोट गरेका छन् ।

महासचिव पौडेलको अर्को टाउको दुःखाइको विषय हो, प्रदेश ५ को राजधानी । पौडेलले आफ्नो शक्ति लगाएर भए पनि प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा कायम गरेका छन् । यद्यपि, यो प्रदेशले अहिलेसम्म पूर्ण रूपमा राजधानी दाङ या बुटवल कहाँ कायम गर्ने भन्ने निक्र्योल गरिसकेको छैन र यो अझै बहसमा छ ।

यस्तोमा हालै दाङ भ्रमणमा आएका नेकपा अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को राजधानी बनाएरै छाड्ने सार्वजिनक अभिव्यक्ति दिएपछि महासचिव पौडेल बिलखबन्दमा परेका छन् । प्रचण्डले भनेका छन्, ‘दाङ परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएकाले यसलाई प्रदेश ५ को केन्द्र बनाउनुपर्छ । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका रहेकाले यसैलाई राजधानी बनाउनु उपयुक्त हु्न्छ ।’

दाङलाई राजधानी बनाउन नसकेको भन्दै दाङवासीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पूर्वसभामुख (हाल जेलमा) कृष्णबहादुर महराको आलोचना गर्दै आएका थिए । हालैको उपनिर्वाचनमा महरा र पोखरेलकै क्षेत्रमा नेकपाले पराजय भोग्नु परेको छ । दाङ र बुटवलको यो रस्साकस्सीमा महासचिव बुटवल र कार्यकारी अध्यक्ष प्रचण्ड दाङको पक्षमा रहँदा दुवै क्षेत्रका जनता थप अन्योलमा परेका छन् ।

बुटवल र पाल्पा सडक खण्डको दुर्दशा अहिले पनि उस्तै छ । बुटवलको तल्लो सिद्ध बाबा मन्दिरदेखि माथिल्लो सिद्ध बाबा मन्दिर आसपासको क्षेत्रको सडकखण्डमा बाहै्र महिना खसिरहने पहिरोका कारण बर्सेनि दर्जनौं मानिस मर्ने गरेका छन् । गएको बिहीबार मात्र झुम्साभन्दा पर एउटा जिप तिनाउ नदीको खोंचमा खस्दा दुई जनाको मृत्यु भयो । दसैं र तिहारको बीचमा पहिरोमा परी दर्जनभन्दा बढीको मृत्यु भएको थियो । सो सडकको विकल्प खोज्ने काम भने यस क्षेत्रका नेताहरूले अहिलेसम्म गरेका छैनन् । नेकपा अध्यक्ष प्रचण्डदेखि महासचिव पौडेलसम्मले सुुरुङ मार्गको आश्वासन दिएको धेरै भइसक्यो, तर त्यो पनि उही ‘पानी जहाजे गफ’मै सीमित भएको छ । बुटवलबाट पाल्पातर्फ लाग्ने यात्रुहरू सो क्षेत्रमा पुग्दा हात जोडेर सिद्ध बाबाको प्रार्थना गर्छन्, ज्यान जोगियोस् र कुनै अनिष्ट नहोस् भनेर । तैपनि यस क्षेत्रका नेताहरू त्यसको विकल्प खोज्नुको साटो सुरुङ खन्ने गफ दिनमै व्यस्त छन् ।

पाठकवृन्द, बुटवलबाट यसपालि यत्ति नै ।