देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा–एनसेल ‘नेक्सस’ बिग्रेपछि …

देशान्तर

काठमाडौं । लाज पचेपछि कर पच्न बेर हुन्न । एनसेल र नेपाल कम्युनिस्ट पार्टीका हकमा यस्तै तर्क लागू हुन्छ । कुनै बेला टेलियासोनेराले नाफा खाएर एनसेल बेच्दा कर तिर्नु पर्दैन भनेर टेलियासोनेरालाई भगाउन सक्रिय नेकपा नेताहरू अहिले कर चाहियो भन्दै एनसेलविरुद्ध उफ्रिएका छन् । दुई तिहाइ नेतृत्वको सरकार हुँदाहुँदै एउटा कम्पनीको लाभकर उठाउन सरकारले पार्टीका भ्रातृ संस्थाहरूलाई जिम्मा दिएको छ ।

प्रसंग नेकपाका भ्रातृ संस्थाहरूको हो । महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा झ्वाम पारेपछि बढेको विरोधको ध्यान हटाउन वाईसीएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको नाममा एउटा वक्तव्य आयो । वक्तव्यमा एनसेललाई राज्यलाई तिर्नुपर्ने कर तिर्न चेतावनी मात्रै दिइएको थिएन नतिरेमा दबाबमूलक कार्यक्रम गर्ने उल्लेख थियो । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ अध्यक्ष रमेशकुमार पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जारी गरेको विज्ञप्तिले कानुनी शासनलाई चुनौती दिएको छ । शासनको बागडोर सम्हालेको नेकपाका नेताहरू एनसेलसँग सेटिङमा व्यस्त रहने तर भ्रातृसंस्थाले भने धम्क्याउने कुराले नेकपा–एनसेल नेक्सस बिग्रेको प्रष्ट हुन्छ ।

लाभकर प्रकरणमा सर्वोच्च अदालतले कर असुल गर्न सरकारलाई आदेश गरिसकेको छ । कर निर्धारणका बारेमा सर्वोच्चमा अर्को मुद्दा विचाराधीन छ । कानुनबमोजिम कर तिर्नु एनसेलको दायित्व हो र कर उठाउने सरकारको काम । तर सरकारले आफ्नो काम गर्न नसके पछि सरकारकै दानापानी खानेहरूले धम्कीको भाषा बोल्नुले कतै एनसेल प्रकरणमा ‘बार्गेनिङ’ त भइरहेको छैन भन्ने प्रश्न उब्जेको छ ।

कुनै बेला नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको देश विदेशको भ्रमणको सबै प्रबन्ध एनसेलले गर्ने गथ्र्यो । स्रोतका अनुसार नेकपा नेताहरूकै सहयोगमा एनसेल बेचेर लाभकर नतिरी टेलियासोनेरा भाग्न सफल भयो । एनसेल आजियटाले पनि त्यसयता नेकपालाई फकाउँदै आएको थियो । निर्वाचनमा नेकपालाई एनसेलले ‘राम्रै सहयोग’ गरेको भए पनि पछिल्लो परिस्थितिमा एनसेलको कुरा नेकपाले सुनेन । आफ्नो दुनो सोझाएपछि एनसेललाई नेकपाले धोका दिएको सूत्रको दाबी छ । भित्रभित्रै एनसेलसँग नेकपा नेताहरूले यस्तो सेटिङ गरे पनि भ्रातृ संस्थाका नेताहरूले आफूले पनि भाग पाउने आशामा कानुनलाई चुनौती दिएका छन् ।

कर असुल्नु सरकारको काम हो । सत्तारूढ दलका भ्रातृसंस्था कर असुल्न धम्की दिनुले नै नेकपा एनसेल सम्बन्ध बिग्रिएको संकेत गर्छ । स्रोतका अनुसार एनसेलविरुद्ध आन्दोलन गरेर मुद्दा विचाराधीन भएको विषयलाई सतहमा ल्याएर बालुवाटारको सरकारी जग्गा बेचबिखन गर्ने कम्युनिस्ट नेताहरूबाट ध्यान भंग गराउन पार्टीकै निर्देशनमा उनीहरूको वक्तव्य आएको हो । अर्कोतिर कर निर्धारणमा राहत खोजिरहेको एनसेललाई धम्क्याएर सरकारको कमजोरी लुकाउने र परिआए एनसेलबाटै लाभ लिने उद्देश्य वाईसीएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीमा देखिन्छ । यही कारण कतिपयले नेकपाले लाज पचाउने र एनसेलले कर पचाउने कुरा उस्तै उस्तै भएको बताउन थालेका छन् ।