देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली जनसम्पर्क समिति बेल्जियममा सीताकै नेतृत्व वैधानिक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको बेल्जियम जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति भङ्ग गर्न सभापति शेरबहादुर देउवाले दिएको निर्देशन महामन्त्री डा. शशांक कोइरालाले उल्टाइदिएका छन् ।

देउवाको निर्देशनमा केन्द्रीय प्रतिनिधि बनेर बेल्जियम पुगेका कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले विधान विपरीत सीता सापकोटा नेतृत्वको निर्वाचित कार्यसमिति भङ्ग गरेपछि विवाद बढेको थियो । एक महिना बढी बेल्जियम बस्दा पनि विवाद मिलाउन नसकेपछि पौडेलले सीता सापकोटा नेतृत्वको समिति भंग भएको जनाउँदै माधव सापकोटाको संयोजकत्वमा तदर्थ समिति गठन गराएका थिए । कांग्रेस महामन्त्री कोइरालाले केन्द्रीय प्रतिनिधिले गरेको काम विधान विपरीत रहेको भन्दै पुरानै कार्यसमितिलाई काम गर्न पार्टीको लेटरप्याडमै लेखेर निर्देशन दिएका हुन् ।

”त्यहाँको सांगठनिक अवस्था बुझि आन्तरिक असमझदारीको अन्त्य गरी अधिवेशनको वातवरण बनाउन आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेललाई जिम्मेवारी दिइ पठाइएको थियो तर केन्द्रीय प्रतिनिधिले तोकिएको जिम्मेवारी र विधान विपरित अन्यथा निर्णय गरी जनसम्पर्क समिति बेल्जियमसँग आवद्ध साथीहरुका बीचमा थप असमझदारी पैदा हुन गएको, संगठनमा नोक्सान पुग्ने किसिमको कारबाही भइ अधिवेशनको वातवरण झनै बिग्रिएका छ” महामन्त्री कोइरालाले बेल्जियम सम्पर्क समितिकी सभापति सापकोटालाई लेखेको पत्रमा उल्लेख छ ।

महामन्त्री कोइरालाको निर्णयलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौंलासमेतको समर्थन रहेको छ । महामन्त्रीको पत्रपछि बेल्जियम जनसम्पर्क समितिमा देखिएको विवाद समाधान भएको र आफ्नो नेतृत्वमा क्रियाशील सदस्यता वितरणको काम सुरु गरेको जनाएकी छिन् ।