देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढाँटेर जागिर खानेबाट २ करोड असुली

देशान्तर

काठमाडौं । निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय गरेको छ । रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने किताबखानाले निर्णय गरेको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ र चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा पाँच दर्जन बढी कर्मचारी कारबाहीमा परेको किताबखानाले जानकारी दिएको छ । कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवस्तरका कर्मचारी छन् ।

किताबखानाका अनुसार पहुँच र शक्तिका भरमा तथा सरकारलाई ढाँटेर जागिर खानेहरूमाथि कारबाही थालिएको हो । यसअघि किताबखानाले कडाइ नगर्दा कतिपय कर्मचारीले सेवानिवृत्त भएको सात वर्षसम्म पनि जागिर खाइरहेको पाइएको छ ।

किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले उमेर सकिएपछि पनि जागिर खाने कर्मचारीबाट करोडौं रुपैयाँ असुल गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रवक्ता पराजुलीले रकम असुल नहुँदासम्म सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत गरिएको बताउनुभयो ।