देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पदमा बसेर एकजना चुनावमा लड्ने अर्को सर्वसाधारण भएर ?

देशान्तर

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति जस्तो गरिमामय पदको उम्मेदवार बन्नुभएको छ, कस्तो महसुस गर्दै हुनुहुन्छ ?

म नेपालीको छोरी, जनजातिको छोरी, मलाई नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णयले एकदमै खुसी छु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवि यादवलगायत सिंगो कांग्रेसको केन्द्रीय समितिप्रति आभार व्यक्त गर्न चाहन्छु । नेपाली कांग्रेसले मलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा सहयोग गरेर एउटा सन्देश दिएको छ । कांग्रेसले सहिद परिवारको सम्मान गर्छ, महिलाको सम्मान गर्छ, आदिवासी जनजातिको सम्मान गर्छ भन्ने सन्देश दिएको छ ।

तर, नेपाली कांग्रेसले तपाईंलाई कांग्रेससँग एकदम कम मत भएको अवस्थामा राष्ट्रपतिको उम्मेदवार बनायो, जित्ने भए त उम्मेदवार तपाईंलाई नै बनाउने थिएन होला नि ?

मत थोरै छ भनेर हतोत्साही हुने होइन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनको समयमा पनि नेपाली कांग्रेससँग एक्लै जित निकाल्ने मत थिएन । तर नेपाली कांग्रेसले समर्थन गरेपछि डा.रामवरण यादव मुलुकको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभयो । अहिले पनि नेपाली कांग्रेसले मलाई समर्थन गरेको छ । तर अरू कुनै पार्टीसँग पनि एक्लै राष्ट्रपति जित्ने मत त छैन नि । त्यसकारणले म हतोत्साही छैन । जहाँसम्म मलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने विषय छ, मलाई कांग्रेसले समर्थन गर्ने भनेको हो । उम्मेदवार बन्नका लागि कांग्रेसले आग्रह गरेको हो । अर्को विषय भनेको मत कति छ भन्ने विषय लोकतन्त्रमा महत्वपूर्ण होइन् । लोकतान्त्रिक राजनीतिमा उपस्थिति ठूलो कुरा हो । नेपाली कांग्रेसले मलाई राष्ट्रपतिमा समर्थन ग¥यो । मलाई समर्थन नगरेको भए पनि नेपाली कांग्रेसमा जो राष्ट्रपतिको निर्वाचनमा मतदाता छन्, उनीहरूले हाम्रो भोट गर्ने को हो भनेर त प्रेसर गर्दथे नि । राजनीति सोझो मात्र हुँदैन । भगवान्को लीला अपरम्पार छ । असम्भव भन्ने के हुन्छ र ? हामीले अहिले नै हतोत्साही हुने ?

अलिकति स्पष्ट पारिदिनुस् न, तपाईंलाई कांग्रेसको उम्मेदवार कि कांग्रेसको समर्थनमात्रै हो ?

मलाई नेपाली कांग्रेसका नेताहरूले राष्ट्रपतिको उम्मेदवार बन्नका लागि आग्रह गर्नुभयो । मैले उहाँहरूको आग्रहलाई स्वीकार गर्दै राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएको हो । मलाई नेपाली कांग्रेसको केन्द्रीय समितिले समर्थन गर्ने निर्णय गरेको छ । उम्मेदवार मैले आफैंले दर्ता गरेको हो । राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेदवारी दिँदा सांसदको गाउँपालिकाको चुनावमा जस्तो पार्टीको चुनाव चिन्ह लिनका लागि लेटरप्याडमा आधिकारिक मान्छेको हस्ताक्षरसहित टिकट लिएर चुनावी मैदानमा जानु गलत हो । नेपाली कांग्रेसले मलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने निर्णय गरेको मलाई जानकारी छैन, मेरो उम्मेदवारीमा समर्थन गर्ने भन्ने कांग्रेस केन्द्रीय समितिको निर्णयमा छ ।

राष्ट्रपतिको उम्मेदवारी दर्ताकै क्रममा पनि कांग्रेसका महामन्त्रीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको असहमति दर्ज गर्नका लागि अर्को उम्मेदवार बनाएको भन्नुभयो । के विद्या भण्डारीभन्दा अरू भएको भए कांग्रेसले उम्मेदवार बनाउँदैनथ्यो ?

त्यो बारेमा पार्टीका नेताहरूलाई बढी जानकारी होला । तर मलाई नेताहरूले उम्मेदवार बन्नुप¥यो, कांग्रेसको समर्थन तपाईंलाई रहन्छ भन्दै गर्दा वर्तमान राष्ट्रपति बिदा भण्डारीले सबै विचारको प्रतिनिधित्व गर्न सक्नु भएन । संवैधानिक हैसियत जोगाउन सक्नु भएन । त्यसकारणले तपाईं उम्मेदवारी दिनुहोस् हामी समर्थन गर्दछौं भन्नुभएको थियो । यो नेताहरूको भनाइबाट कांग्रेसले कतै कांग्रेसले विद्या भण्डारीबाहेक अरू कोही उम्मेदवार भएको भए उसैलाई समर्थन गर्दथ्यो कि जस्तो लाग्छ ।

के साँच्चै वर्तमान राष्ट्रपति विद्या भण्डारी राष्ट्रको अभिभावक बन्न नसक्नु भएको नै हो त ? तपाईंलाई कस्तो लाग्छ ?

उहाँको (विद्या भण्डारी)को यो कार्यकालमा कतैकतै अभिभावकीय भूमिका विवादमा देखियो । अझ पछिल्लो समयमा उहाँले कुनै राजनीतिक दलहरूप्रति बढी अनुग्रहित हुनुभएको देखियो । अरू पार्टीले मात्रै भनेको होइन । उहाँका बारेमा उहाँलाई उम्मेदवार बनाउने पार्टी एमालेभित्र नै उहाँ विवादित हुनुभयो । एमालेकै कतिपय नेताहरू उहाँ एमालेभित्रको पनि कुनै एउटा गुटको मात्र नेता हुनुभयो भन्ने आरोप लगाए । यसको मतलव उहाँले यो कार्यकालमा निर्विवाद बन्न सक्नु भएन । उहाँ निर्विवाद बनेको भए त दोस्रो कार्यकालको लागि सम्पूर्ण रूपले सर्वस्वीकार्य राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने हो । तर राष्ट्रपतिको भूमिकामा रहँदा उहाँ एउटा पार्टी पनि होइन एउटा गुटको नेताका भूमिकामा देखिनुभयो । भोलिका दिनमा उहाँ फेरि राष्ट्रपति बनेर मुलुकको अभिभावकको भूमिकामा कसरी प्रस्तुत हुन सक्नुहुन्छ ? अहिले प्रश्न उठेको छ । उहाँले यो कार्यकालमा एमालेको मात्रै राष्ट्रपति बन्नुभयो अनि धेरै विवाद पनि भयो । अहिलेको राष्ट्रपतिले केही असंवैधानिक काम पनि गर्नुभयो । सांसदको शपथ नै नगराई प्रधानमन्त्री नियुक्त गर्नुभयो ।

तपाईं पनि त नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएको छ नि, तपाईं चाहिँ कसरी सबैलाई स्वीकार हुने भूमिकामा देखिनुहुन्छ ?

हो । मेरो पनि नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि हो । तर मलाई विश्वास छ, म सबैलाई स्वीकार गर्ने भूमिका देखाउँछु । नेपाली कांग्रेसको राजनीतिमा हुँदा पनि मलाई कुनै गुटमा गणना गरिँदैन । २०५१/५२ सालतिर नेपाली कांग्रेसमा गुटको हिसाब हुँदा कुनै गुटमा नभएको भनेर विमर्श पत्रिकाले मेरो नाम लेखेको थियो । त्यो बेलामा किशुनजी, गणेशमानजी, गिरिजाबाबु र मात्रै कांग्रेस भन्ने चारथरी कांग्रेस भनेर विभाजन गरेको थियो । त्यो बेला मलाई कांग्रेसमात्र भएर बस्ने कांग्रेस कार्यकर्ता थिएँ । म आजसम्म पनि कुनै गुटमा छैन । कांग्रेसका राजनीतिमा हुँदा मैले जसरी निरपेक्ष भूमिका देखाए त्यसैगरी राष्ट्रपतिमा निर्वाचित भएमा निरपेक्ष भूमिका देखाउन सक्छु भन्ने लाग्छ ।

तपाईं सर्वसाधारणको हैसियतमा उम्मेदवारी दर्ता गर्न जानुभयो, तर विद्या भण्डारीले राष्ट्रपतिको हैसियतमा उम्मेदवारी दर्ता गर्नुभयो । यसलाई कसरी लिनुभएको छ ?

राष्ट्रपति पदमा रहेर शीतल निवासमा बस्ने संवैधानिक र आलंकारिक राष्ट्रपतिले सर्वसाधारण व्यक्तिसँग चुनावी प्रतिस्पर्धा गर्नु न्याय र नैतिकताको सिद्धान्तअनुसार पनि मिल्दैन । यदि उहाँले राष्ट्रपति पदबाट राजीनामा नदिने हो भने, उहाँ कुनै पार्टी वा नेता विशेषको राष्ट्रपति होइन, सम्पूर्ण नेपालीको राष्ट्रपति हो । त्यसैले उहाँले त्यो पदमा बसेर चुनाव लड्न मिल्दैन । संविधानबमोजिम उक्त पदमा निर्वाचित भएपछि पार्टी र राजनीति र पदबाट राजीनामा दिएर स्वतन्त्र हुँदै देशको अभिभावक बनेको व्यक्ति जब कुनै दल वा नेता विशेषको उम्मेदवार बन्छ त्यसपछि ऊ देशको अभिभावक हुन सक्दैन भन्ने उनको दाबी थियो । अझ एमालेले त राष्ट्रपतिको उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाउने भन्ने निर्णय गरेको छ । कांग्रेसले त मेरो उम्मेदवारीमा समर्थन मात्र गरेको हो । संसद्को सभामुख र उपसभामुख जस्तो संवैधानिक निकायका प्रमुख र उपप्रमुखले चुनावमा उम्मेदवारी दिएपछि उनीहरूको पद स्वतः समाप्त भएजस्तै नैतिक र व्यावहारिक रूपमा संवैधानिक राष्ट्रपतिको पनि उम्मेदवारी दर्ता पछि स्वतः पदमुक्त हुनुपर्छ । पहिलो पटक संविधान बनाउने क्रममा कुनै कारणवश ध्यान पुग्न नसकेका कारण संविधानमा पदमा बहाल रहेको राष्ट्रपतिले उम्मेदवारी दिएपछि राजीनामा दिनुपर्ने व्यवस्था उल्लेख गर्न छुट भएको हुन सक्छ । हाम्रो संविधानले राष्ट्रपति पद कहिल्यै खाली नहोस् भन्ने मान्यताकै आधारमा उपराष्ट्रपतिको व्यवस्था गरेको हो । राष्ट्रपतिले राजीनामा दिएपछि वा उसले उम्मेदवारी दिएर पद निष्क्रिय भएपछि उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति बन्ने भन्ने मान्यता हो । त्यही अवस्थाको परिकल्पना गरेर नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै पटक नगरेर फरकफरक समयमा गर्ने व्यवस्था संविधानमा गरिएको हो । होइन भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन किन फरक मितिमा गर्नु प¥यो ? एकै दिन, एउटै मतपत्रमा दुई पदका लागि एउटै मतदानबाट किन गरिएन भन्दा मुलुकमा राष्ट्राध्यक्ष पद खाली नहोस् भनेर हो । त्यो भनेको उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बनाउने हो । राष्ट्रपति पदमा बसेर एकजना चुनावमा लड्ने अर्को सर्वसाधारण भएर चुनाव लड्ने विषय पनि न्यायसंगत भएन नि । राष्ट्रपति पदको संवैधानिक र कानुनी मर्यादा राख्ने हो भने एमाले उम्मेदवार भण्डारीले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्छ । अब प्रश्न त सरकारको प्रधानमन्त्री चुनाव लड्न मिल्ने राष्ट्रपति किन नमिल्ने भन्ने होला, तर प्रधानमन्त्री संविधानबमोजिम कार्यकारी निकाय हो भने राष्ट्रपति संस्था कार्यकारी नभएर आलंकारिक र संवैधानिक निकाय हो । त्यसैले यी दुईको भूमिका र जिम्मेवारी नै फरक छ ।

प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू राष्ट्रपति निर्वाचनमा मतदाता छन्, ती मतदाताले विद्या भण्डारीलाई भन्दा तपाईंलाई किन मतदान गर्ने ?

म राष्ट्रपति भएमा के गर्छु भन्ने होइन । मेरो एउटा मात्र भनाइ छ, म सिंगो मुलुकको अभिभावकको भूमिका निर्वाह गर्न सक्छु भन्ने सबैलाई विश्वास दिलाउन चाहन्छु । राष्ट्रपति भन्ने संवैधानिक पद हो । यसमा म यो काम गर्छु त्यो काम गर्छु भन्ने हुँदैन । अत्यन्तै निष्पक्ष भएर नेपाली जनताको अभिभावकीय काम गर्छु भन्ने हो ।

राष्ट्रपति निर्वाचनको मतदान २९ गते हुँदैछ, निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ?

मलाई समर्थन गर्ने पार्टी नेपाली कांग्रेसले पनि तयारी गरिरहेको छ । तर मैले पनि भेटघाट गर्ने, तयारी गर्ने गरिरहेको छु । मुलुकलाई चाहिएको असल अभिभावक पाउनका लागि मलाई मतदान गर्नुस् भनेर भनिरहेको छु ।

नेपाली कांग्रेसले तपाईं उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गर्नुअघि कांग्रेसका नेताहरूले उम्मेदवार बन्नुपर्छ भन्नुभएको थियो ?

म त भोजपुरमा थिएँ । कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा अन्य नेताहरूले प¥यो भने राष्ट्रपतिको उम्मेदवार बन्नुपर्छ भन्ने संकेत गर्नुभएको थियो । मलाई भोजपुरबाट काठमाडौं आउन भन्नुभएको थियो ।

दुवै जना भोजपुरमा जन्मनुभएका राष्ट्रपतिको उम्मेदवार हो । जन्मथलो एकै ठाउँ भएका दुईजना राष्ट्रको उपल्लो पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ?

पारिवारिक सम्बन्ध, जिल्लावासीको सम्बन्ध एक ठाउँमा होला, तर राजनीति भनेको अर्कै सम्बन्ध हो । एउटै जिल्लामा प्रतिनिधिसभामा धेरै उम्मेदवार हुन्छन् । अझ गाउँ वडामा एउटै टोलका मान्छे चुनावी मैदानमा हुन्छन् । एउटै परिवारका मान्छे पनि चुनावी मैदान हुन्छन् । त्यसैले राजनीतिमा जिल्लावासीको सम्बन्धभन्दा फरक हुन्छ । तर भोजपुरवासीले गर्व गर्ने विषय भएको छ । मुलुकको सबैभन्दा उपल्लो पदमा भोजपुरका दुई चेलीहरूको बीचमा प्रतिस्पर्धा भइरहेको छ ।

तपार्इं संविधानसभाको सदस्य हुनुहुन्थ्यो, अहिले चाहिँ तपाई के गर्दै हुनुहुन्छ ?

म अहिले सामाजिक काममा लागिरहेको छु । विशेषगरी अहिले महिला अधिकारका लागि सामाजिक काममा क्रियाशील छु । भोजपुरबाट फर्केर त्यही सामाजिक काम गरेर बसिरहेको थिएँ । अहिले स्थानीय तहमा धेरै महिलाहरू जनप्रतिनिधि भएर आउनुभएको छ । उहाँहरूको क्षमता अभिवृद्धिको काममा लागिरहेको छु ।

दुवै भोजपुरवासी राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ, उम्मेदवारी दर्तापछि दुई जनाका बीचमा कुराकानी भयो कि ?
अहिले त कुराकानी भएको छैन । तर हाम्रो परिवार अत्यन्तै नजिक थियो । तर उमेर मेरोभन्दा सानो भएकाले उहाँसँगै त्यति धेरै कुराकानी भएको छैन । पछि संसद्मा पनि धेरै कुराकानी भएको हैन । कुराकानी हुन्छ । तर अहिले चाहिँ भएको छैन ।