देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेल क्षेत्रभित्र ‘हर्कुलस’को खोजी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेको विषय खेल क्षेत्रका लागि नौलो विषय हो भन्दा फरक नपर्ला । १८ वर्षको अन्तरालपछि नेपाली कांग्रेसले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । यसले खेल क्षेत्रमा प्रताडित भएर बसेका लोकतन्त्रमा विश्वास राख्नेहरूलाई थोरै भए पनि ऊर्जा प्राप्त भएको छ । यसो हुनु अस्वाभाविक होइन । नेपाली कांग्रेसले खेलकुदलाई वास्ता गर्न छाडेको यो बीचको अवधिमा खेल क्षेत्रमा विकृति र विसंगतिले यति धेरै जरा गाड्यो कि यसलाई सफा गर्न ‘हर्कुलस’ नै आवश्यक छ ।

राजनैतिक दलको एजेन्डा बोकेर खेलमा प्रवेश गर्ने र खेल क्षेत्रलाई अस्तव्यस्त बनाउने अभियानमा एउटा पार्टीको एउटा गुटका कार्यकर्ता दिनरात खटिएर लागे । खेल संघहरू विवादका भुमरीमा फस्दै गए । खेलाडीहरू पलायन हुँदै गए । प्रशिक्षकहरूको स्तर पनि दिन दिनै खस्कँदै गयो । भौतिक संरचनाहरू धराशायी मात्र भएनन् भएका जग्गा मिन पनि संरक्षणको अभावमा टुहुरा भए । अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलको अवस्था कमजोर बन्यो । खेलको नेतृत्व सम्हाल्नेहरूको मनपरीतन्त्रले यो क्षेत्रलाई थप विनाशतर्फ डोर्‍याइरहेको छ ।

विकास, अनुशासन र गतिशीलताको नारा बोकेको खेल क्षेत्रमा अहिले यी तीनै विषय बत्ती बालेर पनि खोज्न नसकिने अवस्थामा पुगेको छ । यी र यस्तै विकृति र विभिन्न खाले बदमासीका कारण राष्ट्रिय जगत्मा मात्र होइन नेपाली खेल क्षेत्र अन्तर्राष्ट्रिय जगत्मा पनि बदनाम भइरहेको छ । कहिले खेलाडी भागेको विषय, कहिले भगाएको विषय, कहिले म्याच फिक्सिङ त कहिले खेल पदाधिकारीका हर्कतका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपाल पटकपटक लज्जित हुनु परेको छ ।

राजनैतिक दलहरूले खेललाई विशेष प्राथमिकतामा राख्नुपर्छ भनेर पटकपटक आवाज बुलन्द गर्दा समेत कहिल्यै सुनुवाइ भएन । राजनैतिक दलका नेता तथा कार्यकर्ताले खेलको एजेन्डा बोकेर दलमा जानु पर्नेमा ठ्याक्कै उल्टो काम गरे । यस्तो प्रवृत्तिले खेलबाट राजनैतिक दलहरूले फाइदा त लिए तर खेल क्षेत्र पटकपटक राजनीतिको नाममा बलात्कृत भयो ।

यस्तो चुनौतीपूर्ण घडीमा नेपाली कांग्रेसले आवश्यक ठानेर हो वा अरूले लिन नमानेपछि हो युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन केसीसँग कति धेरै अपेक्षा गर्ने वा नगर्ने भन्ने विषयमा खेल क्षेत्र अहिले सोचमग्न छ ।

पछिल्लो १८ वर्षमा खेल क्षेत्रले पनि झन्डैझन्डै निष्ठावान् लोकतन्त्रवादीहरूलाई गुमाइसकेको छ । मन्त्रीको वरिपरि जान खोज्ने ‘लोकतन्त्रवादी’हरू उही मौलाउँदै गएको गुटको सोचले ग्रस्त भएको पाइयो । व्यक्तिगत अभीष्ट पूरा गर्ने बाहेक अर्को विकल्प उनीहरूले पनि देख्नै छाडेको पाइयो । त्यसैले खेल क्षेत्रमा केही गर्छु भन्ने यदि चाहना वर्तमान युवा तथा खेलकुदमन्त्री राजन केसीले पालेका छन् भने त्यो प्रचण्डलाई हराउनुभन्दा दस गुना कठिन छ भन्ने भुल्नु हँुदैन ।

छोटो समय बोकेर आएका मन्त्री केसीले जुन गति र शैलीमा अहिले खेल क्षेत्रमा आफ्ना कदम बढाइरहेका छन् त्यसले खासै उत्साहित नबनाए पनि आस मारिहाल्नु पर्ने अवस्था भने छैन । अनावश्यक शिलान्यास, उद्घाटन र प्रमुख अतिथिमै दिन नबिताउने हो भने राजन केसीले यो क्षेत्रलाई धेरै ठूलो योगदान गर्न सक्छन् ।

फौजदारी अभियोगमा फसेका लामाटेण्डी शेर्पालाई निलम्बन गरेकै भोलिपल्टबाट ब्याक फायरहरू सुरु भए पनि राजन केसी थप आतंकित हुनुहुँदैन । खेल क्षेत्रलाई सफा बनाउनका लागि हर्कुलस नै चाहिएको छ । जसरी वर्षौदेखिको फोहोर घोडा तबेला सफा गरेर हर्कुलसले ओलम्पिक खेलको सुरुवात गर्ने श्रेय पाएका थिए । के त्यस्तै श्रेय लिन वर्तमान युवा तथा खेलकुदमन्त्री केसी सफल होलान् त ? यो प्रश्न आज खेल क्षेत्रमा जोडतोडले तेर्सिएको छ ।

खेललाई राम्रोसँग बुझेकाहरूको एउटा टिम तयार गरेर कानुनी, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशसँग सम्पर्क र समन्वय गर्दै अगाडि बढ्ने, केही जोडदार र प्रभावकारी निर्णय पनि गर्ने, मन्त्रालय र राखेपबीच रहेका कानुनी जटिलतालाई सहज बनाउने र देशैभर खेल क्षेत्रमा सुधार गर्नका लागि एउटा महत्वपूर्ण कार्य योजना अगाडि सार्न सके भनेमात्रै वर्तमान युवा तथा खेलकुद मन्त्रीसँग थोरै अपेक्षा गर्न सकिन्छ ।
खेल क्षेत्रमा व्याप्त विकृति हटाउने सन्दर्भमा आफ्नो जिउमा केही फोहोर लाग्न सक्छ ।

फोहोरको डंगुरमा पसिसकेपछि फोहोर शरीरमा लाग्ला कि भनेर आत्तिएर मन्त्रीले सुख पाउँदैनन् । त्यसैले कुनै दलका केही सीमित व्यक्ति वा समूह रिसाउलान् कि भनेर अग्रगामी कदम चाल्न राजन केसी डगमगाउनु हँुदैन । बढ्दै गएको खराब पक्षलाई फाल्ने र स्पष्ट योजनासहित अगाडि बढ्न मन्त्री केसीले अब ढिलाइ गर्नुहँुदैन ।