देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘बाघभैरव जात्रा’ शुरु

देशान्तर

काठमाडौँ, । काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ ।

प्रत्येक वर्ष भदौ १ गते सिंह सक्रान्तिका तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास क्षेत्रका भक्तजनको भीड लागेको छ ।

बिहानै बाघभैरवको मूर्तिलाई नजिकैको पोखरीमा विधि पूर्वक स्नान गराएर मन्दिरमा तीनपटक परिक्रमा गराइएको थियो । कीर्तिपुरको वडा नं १ मा पर्ने उक्त क्षेत्रमा परापूर्वकालदेखि नै हुँदै आएको जनविश्वास छ ।

बाघभैरव गुठीले सञ्चालन गर्ने एकदिने जात्रामा कुनै अनिष्ट नहोस् भनेर राँगा, बोका, भेडाको बलिसमेत दिइएको छ । जात्रामा सहभागी भएमा मनले चिताएको पूरा हुने र विभिन्न रोगबाट मुक्त भई सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको गुठीका अध्यक्ष रामबहादुर महर्जनले जनाए ।

दिनभर पूजा गरिएपछि साँझ मूर्तिलाई खटमा राखेर बाजा बजाउँदै नगर परिक्रमा गराई पुनः मन्दिरमा ल्याएपछि जात्रामा आएका भक्तजनलाई प्रसाद वितरणसमेत गरिने छ । वडा नं १ का अध्यक्ष हर्षमान डंगोलले ‘बाघभैरव जात्रा’ कीर्तिपुरको विशेष संस्कृति भएकाले यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने र अन्य जात्रा, पर्वको संरक्षण र प्रवर्धन गरिने बताए ।