देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजकल के गर्दैछन् ‘महानायक’ ?

देशान्तर

काठमाडौं । ‘महानायक’को उपाधि पाएका नायक राजेश हमाल केही महिनायता फिल्मी पर्दाबाट टाढा छन् । सम्भवत: यसै वर्षभित्र आफ्नै लगानी र निर्देशनमा उनले नयाँ फिल्मको घोषणा गर्दैछन् । केही महिनादेखि देश र विदेशमा हुने गरेका विभिन्न कार्यक्रमहरूमा व्यस्त हमाल तत्काल कुनै पनि फिल्म साइन नगर्ने सोचमा रहेको स्रोत बताउँछ । उनी अभिनीत फिल्म ‘शकुन्तला’ गएको वर्षको भदौमा रिलिज भएको थियो तर यो फिल्म घरेलु बजारमा नराम्रोसाग पछारियो । हुन त, हमाल अभिनीत पछिल्ला केही फिल्महरूले व्यावसायिक सफलता हात पार्न सकेका छैनन् । सायद यसैले पनि हुन सक्छ हमाल अब आफ्नै निर्देशनमा फिल्म निर्माण गर्दैछन् ।

केही महिना अगाडि गाइँगुइँ हल्ला चलेको थियो कि हमाल पूर्वपत्रकार रवीन्द्र मिश्रको साझा पार्टीमा ज्वाइन हुँदैछन् तर पहिलो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेको झन्डा बोक्दै आफ्नो हितैषी मित्रलाई जिताउन गल्लीगल्ली डुलेपछि उनी एमालेको रहेको चर्चा अहिले सिनेवृत्तमा हट केक बनिरहेको छ । तर, यस विषयमा अहिलेसम्म हमालले मुख भने खोलेका छैनन् । कुनै समय मोबाइलसमेत नबोक्ने हमालको हातमा अहिले एकछिन पनि मोबाइल टुट्दैन । यतिमात्र होइन अहिले हमाल आफ्नो आधिकारिक फेसबुकमा दैनिकजसो नै तस्बिर र स्टाटसहरू पोस्ट गरिरहेका हुन्छन् । कहिलेकाहीा उनले लेखेका स्टाटसहरूले नेपाली राजनीतिमा समेत ठूलो तरंग उत्पन्न गर्ने गरेका छन् ।

हालैमा हमालले आफ्नो फेसबुकमा श्रीमती मधु भट्टराईसँगका केही तस्बिरहरू सेयर गरेका छन् । यी तस्विरहरू हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि हमाल र मधु यो बेला भर्खरभर्खर प्रेममा थिए । यी तस्बिरहरू निकै पुरानो रहेको तपाईंहरू पनि अड्कल काट्न सक्नुहुन्छ । तस्बिरसँगै उनले एक क्याप्सन पनि लेखेका छन्, ‘पहिलो पहिलो भेट ।’

सायद यही भेट थियो मधुको प्रेममा हमाल नौंनी झै पग्लिएका थिए । ५० वर्षको हाराहारीमा विवाह गरेका हमालले आफूभन्दा झन्डै २० वर्ष कान्छी मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् । भेट भएको १० वर्षपछि उनीहरूको बिहे भएको हो । केही वर्ष अगाडिसम्म विवाह कहिले गर्नुहुन्छ भन्ने प्रश्नले वाक्कदिक्क भएका हमाल अहिले पिता कहिले बन्नुहुन्छ भन्ने प्रश्नले पनि उत्तिकै हैरान भइरहेका छन् ।