देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धवलागिरि अञ्चल अस्पतालको आफ्नै ‘फार्मेसी’

देशान्तर

बागलुङ । धवलागिरि अञ्चल अस्पतालले आफ्नै औषधि वितरण केन्द्र फार्मेसी सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफँै ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो ।

केन्द्रबाट ५६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए । “चौबीसै घन्टा सेवा दिने गरी फार्मेसी खुलेको छ”, चिकित्सक राजभण्डारीले भने – “बिरामीले अब १० देखि ५० प्रतिशतसम्मको छुटमा औषधि पाउँछन् ।” केन्द्रमा उपलब्ध हुने औषधिको सङ्ख्या थप्दै जाने योजनामा अस्पताल छ । अस्पतालभित्रै ‘फार्मेसी’ खुलेपछि महँगो मूल्यमा बाहिरबाट औषधि किन्नुपर्ने बाध्यताबाट बिरामीले छुटकारा पाएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिकको उपचारका लागिसमेत सोही ‘फार्मेसी’ बाट निःशुल्क रुपमा औषधि वितरण हुनेछ । ‘फार्मेसी’को प्रभावकारिता बढाउन औषधि र जनशक्ति व्यवस्थापनमा अस्पताल लागिपरेको समितिका अध्यक्ष मल्लले बताए । उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पताल सुधारका प्रयास अघि बढेको समेत जानकारी दिए। “सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउनुपर्ने खाँचो छ”, अध्यक्ष मल्लले भने – “हामी त्यसकै लागि दिनरात खटेका छौँ ।”

उनले लामो समयदेखि रिक्त रहेका दरबन्दीमा विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मी खटेको बताए । अस्पतालमा अहिले फिजिसियन, स्त्रीरोग विशेषज्ञ, रेडियोलोजिस्ट, अर्थोपेडिक सर्जन, एनेस्थेसियोेलोजिस्ट, डेन्टल सर्जनलगायतका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् ।

दरबन्दीअनुसार अझै पनि चिकित्सक र अन्य स्वास्थ्यकर्मीको अभाव छ । नियमित सेवाका अतिरिक्त केही नयाँ सेवा थप गरिएको अस्पतालले जनाएको छ । सुरक्षित गर्भपतन सेवालाई गत पुसदेखि निःशुल्क गरिएको प्रमुख चिकित्सक राजभण्डारीले बताए । हरि खड्का ट्रमा सेन्टर र डायलाइसिस सेवा सञ्चालनको तयारीमा अस्पताल रहेको छ ।

विसं २०६७ मा अञ्चल अस्पतालमा परिणत भएको यस अस्पतालको निर्माणाधीन भवन समयमै पूरा नुहँदा सेवा सञ्चालमा कठिनाइ भएको छ । भवनको ‘ए ब्लक’ बाट अस्पताल सञ्चालनमा आए पनि बाँकी ‘बी’, ‘सी’ र ‘डी’ ब्लक अहिले पनि निर्माणको चरणमा छन् । ठेकेदार कम्पनीको लापर्बाहीका कारण भवन निर्माणमा ढिलाइ भएको अस्पतालले जनाएको छ ।