देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरिया हमलापछि अब कोरिया निशानामा ? : कोरियाको समुद्रमा अमेरिकाले पठायो युद्ध जहाज

देशान्तर

एजेन्सी

वासिङटन, – उत्तर कोरियाले परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइराख्दा अमेरिकी सेनाले युद्ध जहाजहरु कोरियन पेनिनसुलामा पठाउन निर्देशन दिएको छ । कार्ल भिजन स्ट्राइक ग्रुप नामक युद्ध जहाजहरुको समूहमा एउटा विमान बोक्ने जहाज सहित अन्य युद्ध जहाजहरु रहेका छन् ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डले त्यस क्षेत्रमा आउन सक्ने स्थितिको तयारीको लागि जहाजहरु पठाइएको बताएको छ । यअसघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु चुनौतीसँग अमेरिका एक्लै भिड्न सक्षम रहेको बताएका थिए ।

‘त्यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको उत्तर कोरिया नै रहेको छ । अनुत्तरदायी परमाणु कार्यक्रम र क्षेप्यास्त्र परिक्षणले उत्तर कोरिया ठूलो चुनौती बनेको छ,’ अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका प्रवक्ता डेभ बेनहामले भने ।

युद्ध जहाजहरुको समूह यसअघि अस्ट्रेलियामा पुग्ने बताइए पनि सिंगापुरबाट त्यसको दिशा परिवर्तन गरेर पश्चिमी प्रशान्त क्षेत्रमा पठाइएको छ ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङको भेटको पूर्वसन्ध्या बुधबार मात्र उत्तरले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
यता, उत्तर कोरियाले भने सिरियामा अमेरिकी आक्रमणले आफूहरुले परमाणु कार्यक्रमलाई अघि बढाउनु सही भएको पुष्टि गरेको बताएको छ ।

उत्तरको राष्ट्रिय मिडियाले शुक्रबार एक सरकारी प्रवक्तालाई उद्धृत गर्दै सिरियामाथि भएको अमेरिकी आक्रमणको निन्दा गरेको छ ।