देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानुन मिच्दै ‘झोले अफिस’बाट सुटुक्क जापान

देशान्तर

काठमाडौं । नेपाली खेल क्षेत्रलाई कतिसम्म तहसनहस पार्न जीवनराम श्रेष्ठ सक्रिय छन् भन्ने सबैभन्दा पछिल्लो उदाहरण बनेको छ जापान भ्रमणको विषय । यतिमात्र होइन अदालतको आदेशलाई कुल्चनसमेत राखेपका सदस्यसचिव केशव विष्टमात्र होइन युवा तथा खेलकुदमन्त्री दलजित बिके श्रीपाली र मन्त्रालयका अन्य कर्मचारी पनि कतिसम्म तयार छन् भन्ने यो घटनाले पुष्टि गरेको छ । एकातिर कानुनको  पालना गर्छु भन्ने अर्कोतर्फ सर्वोच्च अदालतले अवैधानिक घोषणा गरेको समूहसँग मिल्ने मन्त्री कस्ता हुन् ? कानुनको पालना गर्नैपर्ने बाध्यता भएर राज्यको तलब खाएका युवा तथा खेलकुद सचिव महेश दाहाल र सहसचिव चूडामणि पौडेलले त पटकपटक सर्वोच्च अदालतको अपमान गरिसकेका छन् । गत सातामात्रै पनि उनीहरू जीवनरामसँग रुस पुगेर आए । 

एकातर्फ राज्यले दिएको आदेश भन्दै प्रहरी र प्रशासन ललितपुरमा रहेको ओलम्पिक भवन रुक्मशमशेर राणाको नेपाल ओलम्पिक कमिटीलाई हस्तान्तरण गर्ने तयारीमा छ । अर्कोतर्फ अवैधानिक समूहसँग साँठगाँठ गर्ने क्रमलाई छोड्न तयार नहुनेहरू पनि देखिएका छन् । जापानमा एसियन विन्टर गेम्समा सहभागी हुनका लागि भएको चलखेलमा लागेकाहरूबाट यसको पुष्टि भएको छ । यस्ता खेलमा नेपालको सहभागिता औपचारिकतामात्रै हो । यस्ता सहभागिताले विदेश घुम्ने र मोज गर्न चाहनेहरूलाई प्रशस्त फाइदा पुग्छ । त्यसैले त विदेश जानका लागि जस्तोसुकै चलखेल गर्न पनि उनीहरू पछि पर्दैनन् । 

जीवनराम श्रेष्ठलाई ‘नेपाल ओलम्पिक कमिटीको नाममा कुनै पनि काम नगर्नू’ भन्दाभन्दै पनि उनले गरिरहेका छन् । उनले यसो गर्नुको कारण हो मात्र विदेश भ्रमण र विदेशबाट प्राप्त हुने व्यक्तिगत लाभ । यसमा न खेलाडीलाई फाइदा छ न त राष्ट्रलाई नै । ओलम्पिक कमिटीको कार्यालय अहिले तालाबन्दीको अवस्थामा छ । कर्मचारी चौरमा बसेर काम गर्न बाध्य छन् । तर झोलामा कार्यालय बोकेर जीवनराम श्रेष्ठ समूह अहिले विदेश जाने कुनै पनि अवसर नछाड्ने पक्षमै छन् । यस्ता व्यक्तिलाई कारबाही गर्न किन नेपालको खेल क्षेत्र ओलम्पिक कमिटीको नाममा गैर व्यक्तिहरू जान सक्ने भन्दै अध्यागमन विभागमा राणा कमिटीले पत्राचार गरेको छ । तर प्राप्त जानकारीअनुसार अध्यागमनमा पनि जीवनराम श्रेष्ठ समूहले सेटिङ मिलाएका छन् । 

श्रीमती कोच छोरा खेलाडी !
जीवनराम श्रेष्ठले श्रीमती र छोरा लिएर विदेश गएको विषय नोलो होइन । पटकपटक खेल क्षेत्रमा मात्र होइन प्रधानमन्त्रीले कुरा उठाउँदासमेत फरक नपर्ने जीवनरामलाई अहिले त फरक पर्ने विषय नै रहेन । पूर्वप्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति केपी ओलीले समेत जीवनरामको हर्कतका विषयमा चर्चा गरेका थिए । तर पनि जीवनरामले कसैलाई टेरेनन् । सर्वोच्च अदालतलाई त नटेर्ने जीवनरामले अरूलाई किन टेर्थे ?

अहिले सुटुक्क जापान भ्रमणमा निस्केको टोलीमा तीनजना खेलाडी र १३ पदाधिकारी छन् । खेलाडीमा जीवनरामका पुत्र छन् । अनि श्रीमती प्रतिभालाई जीवनरामले प्रशिक्षक बनाइएको छ । यतिसम्मको लाजमर्दो अवस्थामा पुगेपछि अब नेपाली खेल क्षेत्रबाट के नै अपेक्षा गर्न सकिन्छ । जीवनरामसँगै राखेप सदस्यसचिव केशव विष्टले पनि टोलीमा श्रीमतीलाई जापान उडाए ।

उता अविवाहित भएका कारण लामाटेण्डी शेर्पाले आर्थिक लाभ लिएर एकजना व्यक्तिलाई सुटुक्क जापान जाने टोलीमा समावेश गराएको स्रोतले जनाएको छ । अनि भारतीय दूतावासको सुराकी हुँ भन्दै अरूलाई धम्क्याउँदै हिँड्ने विभिन्न तस्करी काण्डमा मुछिएका समिममियाँ अन्सारी पनि उनीहरूको टोलीमा छन् । तेज गुरुङ नाम गरेका व्यक्ति र राखेपको सदस्य बनेर हालै सम्पन्न सातौं राष्ट्रिय खेलमा राम्रो आर्थिक लाभ लिएका वीरेन्द्र श्रेष्ठ पनि टोलीमा अटाएका छन् । अन्य केही पनि गोप्य रूपमा जाने तयारी भए पनि लेनदेनमा कुरा नमिल्दा जीवनरामले रोकेको बुझिएको छ ।
जापान जानका लागी सार्वजनिक गरिएको नामावली

१) मनिकला राई       
२) संगीता लामा       
३) सफलराम श्रेष्ठ    
४) मार्सल            
५) ओसाम किमुरा            
६) तेजबहादुर गुरुङ    सेफ द मिशन
७) वीरेन्द्र श्रेष्ठ         अफिसियल
८) समिममियाँ अन्सारी अफिसियल

यी बाहेक जीवनराम श्रेष्ठ र उनकी पत्नी, सदस्य सचिव केशव विष्ट र  उनकी पत्नी, लामाटेण्डी शेर्पा र उनका कथित भाइ नाम्गेल शेर्पालगायतको नाम सार्वजनिक गरिएको छैन । 

]]>