देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणेश थापाको चंगुलबाट मुक्त हुँदै एन्फा, भोलि चुनाव

देशान्तर

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा अन्तत: अध्यक्ष पदका लागि निर्वाचन हुने भएपछि उम्मेदवारहरू आफ्ना पक्षमा मतदाता जम्मा गर्न तल्लीन देखिएका छन् । एन्फा अध्यक्षका लागि अब कर्माछिरिङ शेर्पा र नरेन्द्र श्रेष्ठबीच भोलि (सोमबार) अन्तिम प्रतिस्पर्धा हुनेछ । यसका लागि दुवैले मतदातालाई आआफ्नो पक्षमा पार्न तल्लीन छन् । 

सकेसम्म चुनाव हुन नदिने दाउमा रहेका गणेश थापा यतिबेला नरेन्द्रको पक्षमा खुलेका छन् । अकुत भ्रष्टाचार गरे पनि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको आडमा कारबाहीबाट जोगिएका थापा अन्तत: फिफाको कारबाहीबाट भने बच्न सकेनन् । त्यसैले उनले बाध्य भएर एन्फा छोड्नुपर्‍यो । एन्फा छोडेपछि उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको हात एन्फाको कमान पुगे पनि आकस्मिक रूपमा उनको निधन भएपछि कार्यवाहक अध्यक्षको हैसियत नरेन्द्र श्रेष्ठले पाए । आफ्नै ‘हनुमान’ कार्यवाहक अध्यक्ष बनेपछि गणेश थापाले बाहिरैबाट एन्फा हाँकिरहेका थिए । 

त्यसैले थापाले यो बीचमा एन्फाको चुनाव हुन नदिन अनेकौं प्रपञ्च रचे । भोलि हुने चुनाव रोक्न थापाको इसारामा गत १३ असोजमा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक तथा एन्फाका पूर्वमहासचिव लोकबहादुर शाही र फिफा रेफ्री विनोद विष्टले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । शुक्रबार दुवै पक्षको बहस सुनेपछि न्यायाधीशद्वय डिल्लीराज आचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले शाही र केसीको आरोप प्रमाणित हुन नसकेको भन्दै १४ असोजमा दिएको अन्तरिम आदेश खारेज गरिदियो । यदि चुनाव रोक्न सकेको भए फिफा बनाउने एन्फाको कमिटीमा थापाले आफ्ना मान्छेलाई पार्ने तानाबाना बुनेका थिए । तर अब त्यो सम्भव नभएपछि यतिबेला उनी नरेन्द्र श्रेष्ठलाई जिताउन लागिपरेका हुन् ।   

गणेश थापाको जिम्मेवारी बोक्दै उनका साला मणि कुँवर विभिन्न शक्ति केन्द्रमा नरेन्द्रको लबिङ गर्दै पुगेका छन् । उम्मेदवार बन्ने तयारी गरेर पनि अन्तिम अवस्थामा पछि हटेका टासी घले र विज्ञानराज शर्मा दुवैलाई भेटेर गणेश थापाले नरेन्द्र श्रेष्ठलाई समर्थन गर्न अनुरोध गरेका छन् । दुवैलाई आश्वासन दिने क्रममा अर्को कार्यकाल तपाईंकै हो त्यसैले यो पटक नरेन्द्रलाई समर्थन गर्नुहोस् भन्दै थापाले दुवैलाई पटकपटक भेटिसकेका छन् । 

तर जिल्ला संघ, क्लबहरू गरेर ६९ जना मतदाता रहेको एन्फाको नेतृत्व यसपटक कर्माछिरीको हात पुग्ने सम्भावना बढेको छ । उम्मेदवारी मनोनयनकै क्रममा जिल्ला संघ र क्लबहरू गरेर २७ जना प्रस्ताव र समर्थक बसिसकेका छन् । जितको लागि ३५ भोट भए पुग्छ । तर जानकारहरूका अनुसार शेर्पाको पक्षमा ४७ भोट सुनिश्चित भइसकेको छ ।

यसअघि एन्फा अध्यक्षको दाबेदारका रूपमा नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मा र मनाङ मस्र्याङ्दी क्लबका संस्थापक अध्यक्ष टासी छिरिङ पनि देखा परेका थिए । तर उनीहरूले उम्मेदवारी मनोनयनमा पाँच प्रस्तावक र पाँच समर्थक जुटाउन नसक्दा मैदान छोड्नु पर्‍यो । शर्मा र घले दुवैले शेर्पालाई समर्थन गर्ने आश्वासन दिएको स्रोतले बतायो । 

नरेन्द्रले गणेश थापाकै पथलाई निरन्तरता दिने भएका कारण उनको सम्भावना पनि त्यति बलियो देखिँदैन । नातामा आफ्ना सम्धि पर्ने लोकमानको आडमा कारबाहीबाट बचेका गणेश थापाको प्रभाव एन्फामा कम हुँदै गएको छ । जसरी लोकमानको ओज र रवाफ चाम्रिएको छ त्यसको असर गणेश थापाले एन्फा चुनावमा भोग्नुपर्ने धेरैको बुझाइ छ । 

फुटबलको शुद्धीकरण तथा पारदर्शिता मुख्य मुद्दा उठाएर आन्दोलन गरेका शेर्पाको समर्थनमा दोलखा, ताप्लेजुङ, लमजुङ, पाँचथर, इलामलगायत ४७ जिल्ला संघ तथा क्लबहरू खुलिसकेकोले उनको जित सुनिश्चित भएको खेलकुद पर्यवेक्षकहरू बताउँछन् ।

 

 

]]>