देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यविधि बनाउँदै महाअभियोग सिफारिस समिति, यस्तो छ तयारी

देशान्तर

काठमाडौं । संसद्को महाअभियोग सिफारिस समितिले आन्तरिक कार्यविधिको अन्तिम तयारी थालेको छ । समितिले गठन गरेको उपसमितिले मंगलबार आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्दै छ ।

सिंहदरबारमा सोमबार बसेको उपसमिति बैठकले मस्यौदाको अन्तिम ड्राफ्टमा केन्द्रित रहेर छलफल गरेको सदस्य पार्वत गुरुङले बताए । उपसमितिले तीन पृष्ठको मस्यौदा तयार पारेको छ ।

उपसमितिको बैठक मंगलबार दिउँसो १२ बजे पुनः बोलाइएको छ । सो बैठकबाट उपसमितिले मस्यौदालाई अन्तिम रूप दिने र समितिमा पेस गरिने गुरुङले बताए । समितिले कांग्रेसका दीपक कुइँकेल, एमालेका पार्वत गुरुङ, माओवादी केन्द्रका रामनारायण बिडारी र राप्रपा नेपालका दिलनाथ गिरी रहेको उपसमिति बनाएको थियो ।

के छ कार्यविधिमा ?
संविधान र संसद् नियमावलीअनुसार समितिले समितिमा आएका महाअभियोगको प्रस्तावमा निर्णयसहितको प्रतिवेदन तयार पार्ने उल्लेख छ । समितिले महाअभियोग लाग्न सक्ने मनासिब र पर्याप्त आधार खोजीका लागि के–के काम गर्ने भन्ने गरी आन्तरिक कार्यविधि बनाउन लागिएको सदस्य दिलनाथ गिरीले जानकारी दिए ।

महाअभियोग सिफारिस समितिमा आएका प्रस्तावका विषयमा सकेसम्म सर्वसम्मत निर्णय लिने, नभए व्यक्तिको नोट अफ डिसेन्टको मौकादेखि मतदानसम्मको व्यवस्थाबाट भए पनि निर्णय लिने प्रक्रिया कार्यविधिको मस्यौदामा छ । मनासिव र पर्याप्त आधार देखिएमा महाअभियोग प्रस्ताव लगाउन सिफारिससहितको प्रतिवेदन दिने, आधार नदेखिएमा त्यही व्यहोराको प्रतिवेदन पठाउने उल्लेख छ ।

आचारसंहितासमेत बनाउने समितिको तयारी छ । उपसमितिको सोमबारको बैठकमा कांग्रेस सांसद दीपक कुइँकेल र राप्रपा नेपालका दिलनाथ गिरिले सदस्यहरूले नै महाअभियोगको प्रस्तावको पक्षमा हस्ताक्षर गरेको खण्डमा के गर्ने भन्ने प्रश्न उठाएका थिए । यो विषयमा भने उपसमिति निष्कर्षमा पुगेको छैन ।

बुधबार कार्यविधि बन्ने
महाअभियोग सिफारिस समितिको उपसमितिले बुधबारसम्म कार्यविधि बनाइसक्ने भएको छ । बिहीबार बस्ने समितिको पूर्ण बैठकले कार्यविधि टुंगो लगाई काम सुरु गर्ने गरी तयारी भएको सदस्य पार्वत गुरुङले जानकारी दिएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । ‘हामी १० गतेभित्र समितिको आन्तरिक कार्यविधि बनाइसक्छौँ,’ गुरुङले भने, ‘त्यसपछि संसद्ले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको प्रस्तावमा छलफल गरी समितिमा पठाएमा लगत्तै कार्य आरम्भ गरिहाल्छौँ ।’

को–को छन् समितिमा ?
समितिमा कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपकप्रसाद कुइँकेल र कुमारी लक्ष्मी राई, एमालेका तर्फबाट केशव बडाल, पार्वत गुरुङ, रेवतीरमण भण्डारी, र सुशीला नेपाल, माओवादी केन्द्रका रामनारायण बिँडारी र अमनलाल मोदी तथा राप्रपा नेपालबाट दिलनाथ गिरी छन् ।

]]>