देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वदेशमा पनि कालो पोथीको प्रशंसा

देशान्तर

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कालो पोथी’ नेपाली दर्शकको नजरमा पनि खरो रूपमा उत्रन सफल भएको छ । युवा निर्देशक मीन भामले निर्देशन गरेको कालो पोथीले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा आफ्नो दह्रो उपस्थिति जनाइसकेको छ । युरोप, अमेरिका र एसियाका एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाउनुका साथै अवार्डसमेत जितेको यो चलचित्र शुक्रबारबाट मुलुकका पाँच दर्जनभन्दा बढी सिनेमा हलमा प्रदर्शन भइरहेको छ । 

कर्णालीको मुगुमा छायांकन गरिएको यो चलचित्रले माओवादी जनयुद्धको समयको कथावाचन गरेको छ । चलचित्रमा स्थानीय दुई बालकले घरको कालो पोथी हराएपछि त्यो पोथी खोज्न गरेको संघर्षको कथा प्रस्तुत छ । स्थानीय लवज, जीवनशैली, भेषभूषा स्थानीय पात्र र त्यहीको घटना प्रस्तुतिका कारण कालो पोथी जैविक सिनेमा बनेको प्रतिक्रिया धेरैको छ ।

यो चलचित्रमा निर्देशक भामले स्थानीय कलाकार खड्गराज नेपाली, शुक्रराज रोकाय, जितबहादुर मल्ल, हंस खड्कालाई चरित्रमा उतारेका छन् । चलचित्रको आलेख निर्देशक आफैं र अविनाशविक्रम शाहको हो । कालोपोथीलाई विदेशी छायाकार अजिज जाम्बाकिएभले खिचेको हुन् ।

गत वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा कालो पोथी क्रिटिक्स विकतर्फ उत्कृष्ट फिल्म घोषित भएको थियो । यस फिल्मले स्क्रिप्टकै कारण छायांकन र पोस्ट प्रोडक्सनका लागि विदेशी आर्थिक सहयोग पाएको थियो । गत बुधबार फिल्मको नेपाल प्रिमियरमा गरिएको थियो । फिल्मकर्मी, सञ्चारकर्मीले ‘कालो पोथी’ लाई ‘अग्र्यानिक फिल्म’को संज्ञा दिएका छन् । 

 

]]>