देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुटको संघारमा फोरम लोकतान्त्रिक

देशान्तर

काठमाडौं । केपी ओली नेतृत्वको सरकार टिकाउने/नटिकाउने विषयलाई लिएर नेकपा एमाले र अर्को सत्तारूढ नेकपा माओवादी केन्द्रमा देखिएका विवाद केही मथ्थर भएपनि अन्य सत्तारुढ घटकहरु मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीमा भने चुलिएको छ । सरकार छोड्ने या सरकारमा नै रहने भन्ने विषयमा सत्तारूढ दल फोरम लोकतान्त्रिक भित्र विवाद चरमोत्कर्षमा पुगेको छ । केही दिनअघि फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले आफ्नो दलले सरकार छाड्ने उद्घोष गरेका थिए । सोही विषयलाई लिएर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले उपाध्यक्ष देवलाई आत्मालोचना गर्न निर्देशन दिएपछि त्यसले विवादको रुप लिएको हो ।

उपाध्यक्ष देवले आठबुँदे सम्झौतालगायत सरकारका काम कारबाहीमा असन्तुष्टि जनाउँदै फोरम लोकतान्त्रिकले एमाले नेतृत्वको सरकार छाड्ने लगभग निश्चित भएको सार्वजनिक रूपमा बताएका थिए । सरकार छाड्ने विषयमा पार्टीको धारणा विपरीत बोलेको भन्दै केन्द्रीय समिति बैठकमा उनको आलोचना भएको नेता रामजनम चौधरीले जानकारी दिए । पार्टीमा आफ्नो आलोचना भएपछि देवले पार्टी फुटाउनका लागि सभासद्लाई आफ्नो पक्षमा पार्न गोप्य बैठकहरु गरिरहेको बताइन्छ । 

सरकार छोड्ने विषयमा किचलो सुरु भएपछि शनिबार हुने भनिएको पत्रकार सम्मेलन नै स्थगित गरिएको छ । सरकारमा बसेर पनि  मधेसका समस्यामा फोरम लोकतान्त्रिकले केही गर्न नसकेकाले मधेसमा पार्टीको संगठन ध्वस्त भएको भन्दै पत्रकार सम्मलेन स्थगित गरिएको बताइएको छ । जितेन्द्र देव र विजयकुमार गच्छदार समूहबीच शनिबार पनि सत्ता छाड्ने कुराबारे चर्काचर्की भएको समाचार स्रोतले बताएको छ ।

त्यस्तै, अर्को सत्तारूढ दल राप्रपामा पनि सरकारमा बस्ने या छोड्ने भन्ने विषयलाई लिएर विवाद देखिएको छ । जसका कारण अध्यक्ष लोकेन्द्रबहादुर चन्द र नेता पशुपतिशमशेर जबराबीच विवाद बढेको एक सदस्यले बताए । सरकारमा अहिले पशुपतिशम्सेर राणा समूहका मान्छे कोही पनि नभएकाले समस्या सिर्जना भएको बताइएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारलाई विस्तापित गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले सार्वजनिक कार्यक्रममा नै बताएका थिए । योसँगै एमालेमा खटपट देखिएको थियो । तर अहिले यो विवाद केही मत्थर जस्तो देखिए पनि भित्रभित्रै भुसको आगो जस्तै सल्किरहेको जानकारहरूले बताएका छन् ।

सरकारमा रहेको अर्को दल माओवादी केन्द्रमा समेत एक मत छैन । माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सरकारको विपक्षमा देखिएका छन् । पुष्पकमल दाहालले आफ्नै नेतृत्वमा सरकार बनाउने भन्ने निर्णयबाट अध्यक्ष आफैं पछि हटेको भन्दै कृष्णबहादुर महरा, वर्षामान पुनलगायतका नेताहरूसमेत असन्तुष्ट भएको बताइएको छ । 

 

]]>