देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघ महाधिवेशन साउनमा : तयारी शून्य

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक साता लामो केन्द्रीय समिति बैठकले आफ्नो ११ औं महाधिवेशन साउनको २३ देखि २५ गतेसम्म गर्ने मिति तय गरे पनि त्यसका लागि तयारी भने शून्य अवस्थामा रहेको छ । नेविसंघको महाधिवेशनको तयारी मातृ पार्टी कांग्रेसले पनि अगाडि बढाउन सकेको छैन भने नेविसंघले पनि तयारीका लागि मिति तय गर्ने बाहेक थप प्रक्रिया अगाडि बढाउन नसकेको भन्दै यसमा आबद्ध विद्यार्थीले असन्तुष्टि व्यक्त गरेका छन् । यतिसम्मकि नेविसंघको एक साता लामो केन्द्रीय समितिको बैठकले ११ औं महाविधेशनको मिति तय गरेको भए पनि सो बारेमा केन्द्रीय समितिले माइन्युट पनि तयार गर्न सकेको छैन । 

केन्द्रीय समितिको एक साता लामो बैठकबाट महाधिवेशनको मिति तोकेर पनि माइन्युट गर्न नसकेका सांसदसमेत रहेका नेविसंघ अध्यक्ष रञ्जित कर्ण एक सातादेखि भारत भ्रमणमा छन् । नेपाल विद्यार्थी संघको महाधिवेशनको तयारी तीव्र बनाउनुपर्ने बेलामा अध्यक्ष कर्ण कुनै जानकारी नदिइकनै भारत गएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाएका छन् । कर्ण गत शनिबार नै भारत गएका हुन् । 

महाधिवेशन आउँदो साउनको २३ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने गरी तोकिएको हो । महाधिवेशनका लागि आगामी केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउने निर्णय पनि बैठकले गर्नुका साथै पदाधिकारीको संरचनाका बारेमा टुंगो लगाउने कार्यदल गठन गरी जिम्मा दिइएको छ । नेविसंघको अहिलेको मनोनीत केन्द्रीय समिति एक सय २१ सदस्यीय रहेको छ । 

उता मातृ पार्टी नेपाली कांग्रेसले पनि नेपाली कांग्रेसले पनि तयारीका लागि कुनै काम नगरेको गुनासो विद्यार्थी नेताहरूले गरेका छन् । नेपाली कांग्रेसले निर्देशक कमिटी बनाए पनि संयोजकभन्दा अरू सदस्य तोक्न सकेको छैन । सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन गराउनका लागि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई जिम्मा दिएपछि अरू सदस्यहरू तोक्न नसक्दा केही काम अगाडि बढ्न नसकेको हो । डा. महतको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने भनिएको थियो । तर सभापति देउवाले अरू सदस्यहरूलाई जिम्मेवारी नदिँदा संयोजक महतले समेत काम अगाडि बढाउन सकेका छैनन् । सभापति देउवाले ६ महिनाभित्र महाधिवेशन गराइसक्ने निर्देशन दिए पनि नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि निर्देशक समितिलाई समयमै पूर्णता नदिएर असहयोग गरेको बुझाइ आम विद्यार्थीको रहेको छ । 

अर्कोतर्फ विद्यार्थी नेताहरुको एक समूहले नेपाली विद्यार्थी संघको ११ औं महधिवेशनमा अवरोधको तयारी थालेको छ । सार्क सम्मेलनको बेलामा महाधिवेशन रोकिँदा नेपाल विद्यार्थी संघको ६४ जिल्लाका महाधिवेशन प्रतिनिधि टुंगो लागेको थियो । कुन्दन काफ्ले, बलदेव तिमिल्सेनालगायतका विद्यार्थी नेताले बिहीबार सभापति देउवालाई ६४ जिल्लाका महाधिवेशन प्रतिनिधिका बारेमा पुनर्विचार नभएमा पार्टी कार्यालयमा अनशन बस्ने चेतावनी दिएका छन् । तर अन्य विद्यार्थी नेताहरु भने ६४ जिल्लाका बारेमा पुनर्विचार गर्नेतर्फ लाग्दा तोकिएको समयमा महाधिवेशन हुने सम्भावना नभएको बताउँदै आएका छन् । ६४ जिल्लाका प्रतिनिधिहरूका बारेमा तत्कालीन निर्देशक समितिका संयोजक रहेका प्रकाशमान सिंहलगायत निर्देशक समितिमा रहेका सदस्यहरूले समेत अनुमोदन गरी तत्कालीन पार्टी सभापति सुशील कोइराला र शेरबहादुर देउवाले समेत सहमति जनाइसकेका थिए । त्यो समयमा सार्क सम्मेलनको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको थियो । 

अहिले फेरि  ६४ जिल्लाका प्रतिनिधिका बारेमा भइसकेको सहमति खोतल्न थालेमा समस्या सिर्जना हुने विद्यार्थीको बुझाइ रहेको छ । सिटौला नजिकका विद्यार्थीहरू ६ सय महाधिवेशन फर्जी रहेको दाबी गरेका छन् । अहिले महाधिवेशन प्रतिनिधिको विवाद बाँकी रहेको ११ जिल्ला केही क्याम्पस र विश्वविद्यालयको विवाद समाधान गरेमात्रै अधिवेशनको सम्भावना देखिने जानकारहरूले बताउन थालेका छन् । 

 

]]>