देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सभापति देउवालाई सकसै सकस

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पार्टीलाई एकताबद्ध बनाउने भन्दै पार्टीको सभापति निर्वाचित भएका शेरबहादुर देउवालाई सभापति बन्नका लागि बिभिन्न स्वार्थ समूहका नेताहरूलाई दिएको वचनका कारण सकसमा पर्न थालेका छन् । देउवाले सभापति बन्नका लागि विभिन्न स्वार्थ बोकेका समूहका नेताहरूलाई विभिन्न आश्वासन बाँडेका थिए ।  सभापति बन्नका लागि देउवा आफैंले बाँडेका आश्वासन तथा आफ्नै समूहका नेताहरूको व्यवस्थापन गर्नका लागि अहिले समस्यामा परेका छन् । 

विगतमा सधैं संस्थापन पक्षको आलोचनाको राजनीति गरेका देउवाले सभापति बन्दै गर्दा असन्तुष्टहरूको ठूलो समूह तयार पारेका छन्, जसरी उनले विगतमा संस्थापन पक्षको आलोचनाका लागि तयार पारेको आफ्नै समूहका नेताहरू पनि चुनौतीका रूपमा देखिएको छ । महाधिवेशनमा देउवा पक्षबाट कोषाध्यक्षमा पराजित भएकी चित्रलेखा यादवदेखि केन्द्रीय सदस्यमा आफ्नै पक्षका कारण पराजय व्यहोरेकी महालक्ष्मी उपाध्याय (डीना) लाई पार्टीमा व्यवस्थापन गर्नेसम्म सकसमा छन् । 

देउवा सभापति बनेपछि पार्टी सञ्चालनमा अझ गुटबन्दी बढ्ने संकेत देखा पर्न थालेका छन् । पार्टीको पदाधिकारी मनोनयनमा देउवाले आफ्नो समूहमा रहेका गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, विमलेन्द्र निधिदेखि बालकृष्ण खाँडसम्मले उपसभापति दाबी गरिरहेका छन् । त्यसैगरी महामन्त्रीमा डा.प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरिरहेका छन् । देउवालाई आफ्नै समूहका यी नेता मिलाउनका लागि अहिले हम्मेहम्मे परेको छ । 

त्यसैगरी देउवाको समूहमा गएर महामन्त्रीको उम्मेदवार बनेका अजुर्ननरसिंह केसीले पराजयको कारण पनि देउवाको समूहलाई ठानेपछि पार्टीको अन्तरिक व्यवस्थापन गर्न देउवालाई समस्या भएको हो । यीमध्ये पनि देउवालाई सबैभन्दा व्यवस्थापनको ठूलो चुनौती खुमबहादुर र आफ्नै समूहका नेताहरू हुने देखिएका छन् । खुमबहादुरलाई व्यवस्थापन गर्न नसक्ने देउवाले गरेको पदाधिकारी मनोनयनको प्रस्ताव नै केन्द्रीय समितिमा अल्पमतमा पर्ने विश्लेषण गर्न थालिएको छ । अहिलेको केन्द्रीय समितिमा खड्का निकट मानिने सातजना सदस्य छन् । केन्द्रीय समितिमा वरिष्ठ नेता पौडेल पक्षका भन्दा देउवा पक्षका ८ जना बढी सदस्य रहेका छन् । खुमबहादुर पक्षका ७ जना केन्द्रीय सदस्य केन्द्रीय समितिमा देउवाको विरुद्धमा जाँदा देउवा सधैं अल्पमतमा पर्ने देखिन्छ । 

त्यसैगरी देउवालाई अर्को सकस केबी गुरुङ समूहका गोविन्दराज जोशी, विनयध्यज चन्द, लक्ष्मण घिमिरे, लोकेश ढकाललगायतका नेताहरूको व्यवस्थापनमा पनि देउवालाई सकस पर्ने देखिएको छ । सभापति जिताउन सहयोग गरेका ८० वर्षीय गुरुङलाई महाधिवेशनका समयमा देउवाले दिएको वचन पूरा नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाइसकेका छन् । तत्कालीन संस्थापन पक्षबाट देउवा समूहमा आफ्ना विश्वासिला पात्रहरूसँग सभापतिमा देउवालाई सहयोग गर्न क्याम्प फेरेका आफ्नो समूहसँग देउवाले सहमति तोड्न सक्ने सूचना पाएपछि गुरुङले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् । अब आफ्नै समूहलाई सन्तुष्ट पार्ने चुनौती एकातिर रहेको छ भने अर्कोतिर महाधिवेशनमा ४२ प्रतिशत मत ल्याएको वरिष्ठ नेता पौडेलको समूहलाई मिलाएर लिएर जानुपर्ने समस्या रहेको छ ।

देउवा सभापति भए सब मिलाउँछु भन्ने लागे पनि त्यो कठिन भएको संकेत पाएका छन् । त्योभन्दा पनि देउवालाई जिताउनकै लागि करौंती उम्मेदवारको रूपमा सभापतिमा उम्मेदवार बनेको कृष्ण सिटौलाले समेत आफ्नै गुट चलाउने संकेत दिएपछि देउवा झनै सकसमा पर्ने देखिन्छ । 

अर्कोतर्फ महाधिवेशनको मुखमा देउवा क्याम्पमा गएका सूर्यमान गुरुङ, अर्जुन जोशी, फरमुल्ला मन्सुरसँग गरेको सहमति कार्यान्वयनमा समेत देउवालाई चुनौती हुने देखिएको छ । यो सबै अवस्था हेर्दा अब प्रत्येक निर्णयले देउवाका विरुद्धमा असन्तुष्टहरू जन्माउनेछ र ती नयाँ असन्तुष्टहरूको अर्को समूह तयार हुनेछ जुन भोलि देउवाका लागि टाउको दुखाइ हुने विश्लेषकहरूको तर्क छ । कुनै समय आफैंले खोलेको असन्तुष्टहरूको विद्यालयबाट धेरै दीक्षित भएका देउवाले अबको असन्तुष्टि मिलाउने उपाय कस्तो अपनाउँछन् भन्नेमा सबैमा चासो उत्पन्न भएको छ ।

गिरिजाप्रसाद कोइरालाका कुनै समयका अत्यन्त विश्वासपात्र शेरबहादुर देउवा कालान्तरमा उनीसँग विद्रोह गरेको इतिहासका जानकारहरू शेरबहादुर देउवाका कुनै विश्वासपात्र फेरि विद्रोही भएमा सायद शेरबहादुरले पनि अचम्म त मान्ने छैनन् । 

सभापति बन्नका लागि जो सुकैसँग जस्तोसुकै सम्झौता गरेका देउवाका आगामी दिनहरू चुनौतीले भरिएका छन् भन्नेमा उनी जानकार भए पनि आफैंलाई सहयोग गरेका नेताहरूबाट आएका असन्तुष्टि सम्बोधन गर्न चाहिँ देउवालाई सकसैसकस भएको राजनीतिक क्षेत्रमा चर्चा हुन थालेको छ । 

 

]]>