देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको क्रियाशील विवाद अन्त्य

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसमा समस्याका रुपमा देखिएको क्रियाशील सदस्यता विवाद काँग्रेस पदाधिकारी बैठकले समाधान गरेको छ ।

सभापति सुशील कोइराला निवास महाराजगन्जमा आज बसेको पदाधिकारी बैठकले विभिन्न जिल्लाका नेता कार्यकर्ताले क्रियाशील सदस्यताका सम्बन्धमा आआफ्ना माग राखेको अनशनलाई सम्बोधन गर्ने गरी सो निर्णय गरेको हो ।  बैठकले कैलाली, सोलुखुम्बु र रौतहट क्षेत्र नं ४ का नयाँ सबै क्रियाशील सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ, यद्यपि त्यस्ता सदस्यले हाललाई मतदान अधिकारबाहेक सबै सुविधा पाउने छन् ।

ती जिल्ला र क्षेत्रमा १२औँ महाधिवेशनमा कायम क्रियाशील सदस्यता (नवीकरण भएका)ले मात्र १३औँ महाधिवेशनमा भाग लिन पाउने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताए । डोल्पाका सभापति सभापति टङ्कप्रसाद उपाध्यायले राखेको मागका सम्बन्धमा भने बैठकले हाललाई १०० नयाँ क्रियाशील सदस्यता मात्र सदर गर्ने र बाँकीलाई हाललाई बदर गर्ने निर्णय गरिएको बताइएको छ ।  

विवाद समाधानका लागि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा यसअघि पार्टीले गठन गरेको समितिका सदस्य रामकृष्ण यादवले असहमति जनाएका जिल्ला र क्षेत्रका विवादित क्रियाशील सदस्यताका सम्बन्धमा बैठकमा बोल्ने अधिकांश पदाधिकारीले सबै नयाँ सदस्यता कि सदर कि बदर हुनुपर्ने धारणा राखेका थिए ।
    
पार्टी केन्द्रीय कार्यालय सानेपामा आआफ्ना माग राखी विभिन्न जिल्लाका नेता कार्यकर्ताले अनशन सुरु गरेका छन् । काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १८ दिनदेखि आमरण अनशन बसेका छन् ।

यसैगरी काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै १६ दिनदेखि रिले अनशन बसेका छन् ।  त्यस्तै रौतहटका केन्द्रीय सदस्य मो अफ्ताफ आलम रौतहट पार्टी सभापति कृष्ण यादवले रौतहटको निर्वाचन क्षेत्र नं ४ का क्षेत्रीय सभापतिलाई जानकारी नगराई क्रियाशील बाँडेको भन्दै १५ दिनदेखि रिले अनशनमा छन् ।

केसी र आलमले अनशन थालेको केही दिनपछि सोलुखुम्बु र रौतहटका पार्टी सभापतिले आफूले केन्द्रलाई बुझाएको सदस्यतालाई नै आधिकारिता दिनुपर्ने भन्दै रिले अनशन थानेका थिए । त्यस्तै कैलाली काँग्रेसमा आफ्ना पक्षका नयाँ क्रियाशील सदस्यता नियतवश सदर नगरिएको भन्दै संस्थापन पक्षका नेताहरुले यही पुस २३ गतेदेखि रिले अनशन सुरु गरेका थिए । त्यसको केही दिनपछि नै कैलाली काँग्रेस कार्यालयमा शेरबहादुर देउवा पक्षका भनिने नेता कार्यकर्ताले त्यस विपरीत माग गर्दै अनशन सुरु गरेका छन् ।

काँग्रेस पदाधिकारीको यो निर्णयसँगै सबैखाले अनशन समाप्त हुने पार्टी कार्यालयले जनाएको छ ।

 

]]>