देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जलविद्युत् कम्पनीको सेयर बाँडफाँड

देशान्तर

काठमाडौँ। नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ । 

कोषले आज यहाँ पत्रकार सम्मेलन गरी सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औँ दिनमा कम्पनीको रु १०० अङ्कित दरका दुई करोड कित्ता साधारण सेयर बाँडफाड गरेको हो । 

बाँडफाँड गरिएको सेयरमध्ये ५०० कित्तासम्म लगानी गर्ने एक लाख ९५ हजार २०३ जना साना लगानीकर्तालाई ११.४० प्रतिशतले हुने ७४ लाख ५० हजार ६०३ कित्ता सेयर वितरण गरिएको छ । त्यसैगरी, ५०० कित्ताभन्दा बढी आवेदन दिने एक लाख नौ हजार ४३१ जना र अन्य लगानीकर्तालाई २.९० दरले एक करोड ११ लाख ७५ हजार ९०५ कित्ता गरी जम्मा तीन लाख चार हजार ६५२ आवेदकलाई सेयर वितरण गरिएको हो । 

न्यूनतम ५० कित्ता सेयर आवेदन गर्नेले १० कित्ता पाएका छन् भने ५०० कित्ता आवेदन गर्नेले ५६ कित्ता सेयर पाएका छन् । त्यसैगरी, सबैभन्दा बढी ५० लाख कित्ता सेयर आवेदन दिनेले एक लाख ४४ हजार ८१८ कित्ता सेयर पाएका छन् । 

कम्पनीका अध्यक्ष ऊर्जा सचिव सुमनप्रसाद शर्माले विषम परिस्थितिमा लगानीका लागि आह्वान गर्दा पनि जनताको उत्साहपूर्वक सहभागिता भएको बताए । 

नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले एक साताभित्र सेयरका लागि लगानी गरेको रकम फिर्ता गर्न सुरु गरिने जानकारी दिए । उनले केही प्राविधिक विषय टुङ्गाएर सबैको रकम फिर्ता दिने बताए । 

कम्पनीले आफ्ना कर्मचारीका लागि दुई प्रतिशत अर्थात चार लाख कित्ता र सामूहिक लगानी कोषका लागि पाँच प्रतिशत अर्थात् १० लाख कित्ता छुट्टाएको छ । कम्पनीको कुल पूँजी  आठ अर्ब रुपैयाँ पुगेको छ । 

कम्पनीको प्रमुख बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहप्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड र एनएमबी क्यापिटल रहेका थिए । कम्पनीका अनुसार कुल तीन लाख चार हजार ६५२ जना आवेदकमध्ये ५३४ जनाको चार लाख ९६ हजार ३२१ आवेदन रद्द भएको जनाएको छ । 

यस्तै, कम्पनीले विप्रेषण जलविद्युत् आयोजना अगाडि बढाई वैदेशिक रोजगारीमा गएका नागरिकको आम्दानीलाई विद्युत् उत्पादनमा जोड्ने योजना अगाडि सारेको छ । घुन्सा ७२ मेगावाट र सिंबुवा ५१ मेगावाट क्षमताको आयोजनालाई विप्रेषण जलविद्युत् आयोजनाको रूपमा अगाडि बढाउन कम्पनीले आवश्यक तयारी गरिसकेको छ । 

]]>