देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेलको सेयर खरीद विक्रीमा करारोपण : एक वहस

देशान्तर

रविन्द्र शाही
अहिले नेपालको व्यावसायिक जगतमा दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलको सेयर विक्री बहसले निकै स्थान पाइरहेको छ ।  नेपालका चर्चित समाचारपत्रहरु देखि सामाजिक सञ्जालका पानाहरु सो बहसबाट भरिएका छन् । त्यो बहस नीजि व्यावसायिक जगतमा मात्र सिमित छैन । नेपाल सरकारका पूर्व मुख्य सचिवदेखि बहालवाला सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय कानुनबेत्तादेखि लेखा व्यावसायीसम्म, विद्यमान बैदेशिक लगानीकर्तादेखि सम्भावित लगानीकर्तासम्म यो बहसमा होमिएको देखिन्छ । त्यो तातो बहसको विषय बनेको छ– निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको स्वामित्वमा सम्भावित परिवर्तन र त्यसले आयकरमा पर्ने प्रभाव । यस विषयमा विभिन्न व्यक्ति तथा निकायले आआफ्नो धारणा विभिन्न माध्यमबाट सर्वाजानिक गरिरहेका छन् । यस लेखको उद्देश्य तिनै बहसको सेरोफेरोमा रहेर नेपालको विद्यमान आयकर कानुन र अन्तराष्ट्रिय मान्यता समेतको आधारमा एनसेलको स्वामित्वमा सम्भावित परिवर्तनले सो कम्पनी वा आबद्ध अन्य पक्षको कर दायित्वमा पर्ने प्रभावका बारेमा यथार्थ अवस्थाको चित्रण गर्नु रहेको छ । यो लेख कसैलाई फाइदा वा बेफाइदा पु¥याउने नभई कर कानूनको याथार्थ कार्यन्वयनलाई प्रोत्साहित गर्नेतर्फ लक्षित रहेको छ ।

उक्त विषयमा बहस प्रारम्भ गर्नुअघि एनसेलको पूँजी र कारोवारको स्थिती, स्वामित्व संरचना, संभावित स्वामित्व परिवर्तनको प्रस्तावित स्वरुप, सेयरको बिक्रिमा हुने लाभ, त्यस्तो लाभका सन्दर्भमा लागु हुन सक्ने नेपालको कर कानूनका प्रावधानहरु, त्यस्तो लाभका सन्दर्भमा लाग्ने करका सम्बन्धमा प्रचलित अन्तर्राष्ट्रिय मान्यताहरू र नेपाल र अन्य मुलुकहरु बीचको दोहोरो कर उन्मुक्ति सम्झौताहरूको गहन र यथार्थपरक अध्ययन तथा विश्लेषण हुनु आवश्यक छ ।

एनसेलको पूँजी र कारोवारको स्थिति

कम्पनीको आव २०७१/७२ मा कूल आय रु ५७ अर्ब र कर योग्य आय करिब रु. २८ अर्ब रहेको छ भने कम्पनीले आयकरको रुपमा यस आर्थिक वर्षमा झण्डै रु. ७ अर्ब दाखिला गरेको देखिन्छ । त्यस्तै आव २०७२/७३ मा कम्पनीको चुक्ता पूँजी रु. १० करोड रहेको छ भने जगेडा कोषमा करिब रु ५८ अर्ब मौज्दात रहेको देखिन्छ । जगेडा कोषमा रहेको मौज्दात कम्पनीले आफ्नो व्यापार बिबिधिकरण र विस्तारमा प्रयोग गरेको समेत उक्त कम्पनीको वित्तिय बिबरणबाट देखिन्छ ।

एनसेलको विद्यमान स्वामित्वको संरचना

एनसेल नेपाल प्रा.लि. मिति २०५८ साल असार ७ गते स्पाईस नेपाल प्रा.लि.को नामबाट नेपालमा स्थापना भएको नीजि तथा बैदेशिक लगानी रहेको नेपालकै दोस्रो ठूलो दुरसंचार सेवा प्रदायक कम्पनी हो । स्थापना हुँदा ६० प्रतिशत बैदेशिक र ४० प्रतिशत स्वदेशी लगानी रहेको यस कम्पनीमा २०६५ साउन १ देखि बैदेशिक र स्वदेशि लगानीको अनुपात क्रमशः ८० र २० प्रतिशत कायम रहेको देखिन्छ । हाल यस कम्पनीको बैदेशिक लगानी वेष्ट इण्डिजको नेभीमा रहेको रेनोल्डस होल्डिङ लि. र स्वदेशी लगानी निरज गोविन्द श्रेष्ठको नाममा रहेको छ । बैदेशिक लगानी रहेको रेनोल्डस होल्डिङ लि.को स्वामित्व पूर्ण रूपमा नर्वेमा रहेको टेलीयासोनेरा नर्वे नेपाल होल्डिङस लि.सँग रहेको छ भने टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.को स्वामित्व निदरल्याण्डको टेलियासोनेरा एसीया होल्डिङस लि.सँग रहेको छ । यस प्रकारले एनसेल प्रा.लि.मा ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस होल्डिङस लि. विदेशी कम्पनी रहेको र रेनोल्डस होल्डिङस लि.को स्वामित्व पूर्ण रूपमा बिदेशमा रहेका होल्डिङ कम्पनीहरूमा रहेको स्पष्ट देखिन्छ ।

स्वामित्व परिवर्तनको प्रस्तावित स्वरुप र सोको परिणाम

टेलियासोनेरा नर्वे नेपाल होल्डीङस लि.को पूर्ण स्वामित्व निदरल्याण्डको टेलियासोनेरा एसीया होल्डिङस लि.सँग रहेको छ । यस प्रकार एनसेल नेपाल प्रा.ली.मा टेलियासोनेरा एसीया होल्डिङस लि.को अप्रत्यक्ष स्वामित्व र नियन्त्रण रहेको देखिन्छ । नेपाली संचार माध्यममा आएका समाचार तथा सूचनालाई आधार मान्ने र त्यसमा विश्वास गर्ने हो भने नर्वेमा दर्ता रहेको टेलीयासोनेरा नर्वे नेपाल होल्डिङस लि.सँग रहेको रेनोल्डस होल्डिङ लि.को सम्पूर्ण सेयर अर्थात शतप्रतिशत स्वामित्व मलेसीयामा रहेको एक्जीएटा ग्रुपले खरिद गर्न लागेको छ । सो सेयरको खरीद बिक्रिको समाचार वास्वतविकतामा परिणत भएमा कुनै एउटा विदेशी कम्पनीको कुनै अर्को विदेशी कम्पनीमा रहेको सेयर तेश्रो विदेशी कम्पनीले खरिद गरेको स्पष्ट हुन्छ । अर्थात् यस सेयर खरिद बिक्रीमा संलग्न सबै पक्षहरू विदेशी नै हुनेछन्, कुनै नेपाली व्यक्ति वा निकाय सेयर खरिद बिक्रिमा संलग्न हुने देखिदैन । यस सेयर खरिद बिक्रीको सन्दर्भमा सेयर खरिद र बिक्री गर्ने दुबै पक्ष विदेशी रहने, खरिद–बिक्रिको कारोबार नेपाल बाहिर हुने, त्यसबापतको रकम भुक्तानी र प्राप्ती नेपाल बाहिर हुने, सो कारोवारका सम्बन्धमा नेपालमा कुनै अभिलेख खडा नहुने, सो सेयर हस्तान्तरण हुँदा ति सेयरको दाखिला खारिज नेपालमा नभई नेपाल बाहिर नै हुने एबम् स्वामित्व परिवर्तन हुने कम्पनीको स्वामित्वमा नेपालमा रहेको एनसेल प्रा.लि.को सेयर वा स्वामित्वको संरचनामा कुनै परिवर्तन नहुने अवस्था विद्यमान रहेको एनसेलद्वारा जारी गरिएको सेयर खरिदविक्री बारेको जानकारीबाटै स्पष्ट हुन्छ ।

सेयरको बिक्रिमा हुने लाभ

सेयर खरिद–बिक्रीको कारोवारमा स्वभाविक रुपमा लाभ वा हानी हुने सम्भावना रहन्छ । एनसेलको प्रस्तावित सेयर खरिद–बिक्रिमा बाहिर आएका समाचारलाई आधार मान्दा प्रस्तावित बिक्रि मूल्य र बिक्रि गरिने सेयरको लागत हिसाब गर्दा बिक्रेतालाई उल्लेखनिय लाभ हुने देखिन्छ । यस कारोवारमा रेनोल्डस होल्डिङ लि.को सम्पूर्ण सेयरमा स्वामित्व रहेको एवम् सेयरको बिक्रेता नर्वेमा दर्ता रहेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स लि.लाई सो सेयरको बिक्रीमा लाभ हुने स्पष्ट छ ।

नेपालमा कर लाग्ने कि नलाग्ने ?

प्रस्तावित सेयरको कारोवारबाट नर्वेमा दर्ता रहेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.लाई लाभ हुने विषयमा कुनै दुविधा देखिदैन । नेपालको आयकर कानून अनुसार सेयरको कारोवारमा भएको लाभमा आयकर लाग्ने विषयमा समेत कुनै विवाद रहेको देखिदैन । उपरोक्त बिबेचित लाभ नेपाल बाहिर स्थापना भएका कम्पनीहरु बिच बिदेशमा नै भएको सेयर कारोबारबाट श्रृजना भएको र नेपालमा रहेको एनसेल प्रा.लि.को सेयर तथा स्वामित्वको संरचनामा कुनै परिवर्तन नभएको अवस्था रहेको हुँदा सो लाभमा नेपालमा कर लाग्ने कि नलाग्ने भन्ने बिषयमा बहस सुरु भएको देखिन्छ । यस विषयमा रहेको बिबाद भनेको उक्त लाभमा लाग्ने करमा नेपालको हक लाग्ने कि नलाग्ने अर्थात सो लाभमा नेपालले कर अशुल गर्न पाउने कि नपाउने भन्ने हो । एनसेलका सन्दर्भमा चालु बहसमा सेयर बिक्रीको लाभमा नेपालमा कर लाग्छ र लाग्नु पर्दछ भन्ने एउटा र सो लाभमा नेपालमा कर लाग्दैन र लाग्नु हुँदैन भन्ने अर्को मत रहेको देखिन्छ ।

कर नलाग्ने आधार

सेयरको कारोवारबाट नर्वेमा दर्ता रहेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.लाई भएको लाभमा नेपालमा कर लाग्नु हुँदैन भन्ने मत हुनेहरुले देहायका तथ्य र तर्कलाई आधार बनाएको देखिन्छ :

१. बैदेशिक कारोवारबाट भएको आय र लाभको श्रोत नेपालको आयकर कानुन र प्रचलित अन्तर्राष्ट्रिय मान्यता र प्रचलन अनुसार नेपालमा रहेको भन्न मिल्दैन ।

२. सेयर खरिद गर्ने र बिक्रि गर्ने दुबै कम्पनी विदेशी कम्पनी भएकोले नेपालका लागि गैर वासिन्दा व्यक्ती र गैर वासिन्दा व्यक्तिको नेपालमा श्रोत रहेको आयमा मात्र कर लाग्ने व्यवस्था रहेकोले यस लाभमा नेपालमा कर लागाउन मिल्दैन ।

३. यस लाभमा नेपालमा कर लगाउन नमिल्ने हुँदा कर नै नलाग्ने उपरोक्त आयमा आयकर ऐन २०५८ को दफा ९५क. बमोजिम अग्रिम कर अशुल उपर गर्न मिल्ने देखिदैन ।

४. सेयरको बिक्रिमा लाभ प्राप्त गर्ने निकाय टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.को स्वामित्व रहेको व्यक्ति नर्वेको वासिन्दा ब्यक्ति हो । नेपाल र नर्वेबीच भएको दोहोरो कर उन्मुक्ति सम्झौता अनुसार यस्तो लाभमा नर्वेमा कर लाग्ने हुँदा दोहोरो कर दायित्व श्रृजना हुने गरी नेपालमा कर लगाउन मिल्दैन ।

५. लाभ कर विक्री गरेर लाभ लिनेले तिर्नुपर्ने विश्वव्यापी रुपमा करको स्थापित नियम छ । त्यसमाथि विक्री गर्नेले नाफा लिएर जान लागेको होइन । कम्पनी र सम्पत्ती विक्री गरेर यथाअवस्थामै छोडेर जानेसँग लाभ कर लिनुपर्दछ भन्ने मान्यता आफैमा अमिल्दो छ । 

५. आयकर ऐनको दफा ९५क. मा धितोपत्र बोर्डमा सुचिकृत नभएको कुनै पनि वासिन्दा रहेको निकायमा रहेको हितको निसर्गबाट कसैलाई लाभ प्राप्त भएमा त्यस्तो लाभमा सोही निकायले तोकिएको दरले अग्रिम कर अशुल गर्नुपर्ने व्यवस्था रहेको छ । तर कानुनी रुपमा हेर्दा एनसेल प्रा.लि.को सेयरधनीमा कुनै परिवर्तन हुने देखिदैन । त्यस्तै, सेयर खरिद वापतको मूल्य नेपालमा नभई नेपाल बाहिर भुक्तानी हुने देखिन्छ । यस अवस्थामा कर अशुली के कसरी हुने भन्ने सम्बन्धमा ऐन मौन रहेको छ ।

लामो समयदेखि नसुल्झिएको राजनीतिक संक्रमणका कारण नेपालको आर्थिक विकासले गति लिन सकेको छैन । आर्थिक समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य रहेको यथार्थलाई हरेक अर्थविद्, राजनीतिज्ञले बताउदै आएका छन् । तर व्यवहारमा भने वैदेशिक लगानीलाई प्रोत्साहन भन्दा दुरुत्साहन गर्ने प्रवृत्तिले उल्लेख्य मात्रामा वैदेशिक लगानी भित्रन सकेको छैन । यस्तो अवस्थामा पनि एनसेल एउटा अपवादको रुपमा नेपालमा स्थापित वैदेशिक लगानीको कम्पनी हो । जसले नेपालमा रहेका कर्पोरेट कम्पनीहरुमा राज्यलाई विगत तीन वर्षदेखि  लगातार रुपमा सबैभन्दा बढी कर तिर्दै आएको छ । त्यति मात्रै होइन प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा यसले दशौ हजार नेपालीलाई रोजगारी सिर्जना गरिदिएको छ । यदी कर र स्वामित्वको विषयमा राज्यले नीतिगत र कानुनी रुपमा हत्तोतसाही व्यवहार प्रदर्शन गर्ने हो भने भावि दिनमा नेपालमा वैदेशिक लगानीमा वृद्धि हुनुको साटो घट्दै नजाला भन्न सकिदैन ।

 

]]>