देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाओवादीभित्र चर्काचर्की

देशान्तर

काठमाडौं । ‘हेप्ने पनि सीमा हुन्छ । तपाईं सीमा राखेर बोल्नुस् । उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री चलाइसक्नुभएको छ । पार्टीको उपाध्यक्ष हुनुहुन्छ । म तपाईंलाई सम्मान र आदर गर्छु’, गृहमन्त्री शक्तिबहादुर बस्नेतले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई एमाओवादी मन्त्रीहरूको समीक्षात्मक बैठकका क्रममा भने । श्रेष्ठले गृहमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै आत्मालोचना गर्न दबाब दिएपछि बस्नेत कडा रूपमा प्रस्तुत भएको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ ।
 
एमाओवादीका तर्फबाट सरकारमा सहभागी आठ नेता र स्थायी समितिका सदस्यबीचको बैठकमा चर्काचर्की नै भयो । बैठकका बारेमा एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘उहाँहरूबीच चर्काचर्की भएपछि स्थितिलाई अध्यक्ष पुष्पकमल दाहालले नै समाल्नुपरेको थियो ।’ गृहमन्त्री बस्नेत बोलिरहेका बेला उपाध्यक्ष        श्रेष्ठले आत्मआलोचना गर्न दवावसहित प्रतिप्रश्न गरेपछि चर्काचर्की भएको हो ।
 
‘तपार्इंका बारेमा जनता र कार्यकर्ताबाट प्रश्न उठिरहेका छन् । त्यसबारेमा तपाईं आत्मालोचना गर्नुस्ु,श्रेष्ठले बस्नेतलाई भनेका थिए । एमाओवादीका मन्त्री र स्थायी समितिको मंगलबारदेखि बसेको समीक्षात्मक बैठक बुधबार पनि जारी रह्यो ।
 
बैठकमा बस्नेतले भनेका थिए, ‘अप्ठ्यारो बेलामा परिएछ, नतिजा दिन सकिएको छैन । नतिजा दिने गरी केही काम गरिरहेको छु ।’
 
श्रेष्ठले आफूले दिएको निर्देशन मन्त्रीले पालना नगरेको, मन्त्रीहरूका निर्णय संस्थागत हुन नसकेको र मन्त्रीहरूले आफूखुसी निर्णय गर्ने गरेको गुनासो दाहालसमक्ष पोख्दै आएका छन् ।
 
श्रेष्ठले सरकार सञ्चालन गर्न पार्टीका तर्फबाट गठित संयन्त्रको संयोजक पदबाट दिएको राजीनामा पनि स्वीकृत भएको छ । ‘उहाँले अध्यक्ष दाहालसमक्ष पटकपटक गुनासो गर्नुभएको रहेछ । यसपटक उहाँले दिएको राजीनामा स्वीकृत भएको छ,’ एमाओवादीका अर्का एक मन्त्रीले भने । अब उक्त संयन्त्रको नेतृत्व दाहाल स्वयंले लिएका छन् ।
 
बैठकमा गृहमन्त्री बस्नेत,पार्टीका कोषाध्यक्षसमेत रहेका कृषिमन्त्री हरिबोल गजुरेल र बन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले आफूहरूले चाहेअनुसार काम गर्न नसकेको स्वीकार गरेका थिए । गजुरेलले बैठकमा भने, ‘हामीले काम गर्न सकिरहेका छैनौं । पार्टीले हट्नुपर्छ भन्छ भने हामी सरकारबाट हटिदिनुपर्छ ।’ सापकोटाले भनेका थिए, ‘म आफैंलाई आफ्नो काम चित्त बुझिरहेको छैन । केही काम गर्न खोजिएको छ तर त्यसको नतिजा निस्किएको छैन ।’
 
पार्टीका सचिव रहेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूले पनि काम गर्न नसकेको स्वीकार गर्दै अब नतिजामुखी काम गरेर देखाउने बताएका थिए । ‘सरकारमा गएको दुई महिनासम्म म ह्याङमा भएँ । एक महिनादेखि म फ्रेस छु । अब डेढ महिनाभित्र कामको परिणाम देखाउँछु’, रायमाझीले भने ।
 
दाहालले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको नेतृत्व समालेर पनि जनतालाई राहत दिन नसकेको गुनासो पार्टीमा आएको बताएका थिए । पार्टीका सचिव शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने लिखित रूपमा आफ्नो कार्यविवरण प्रस्तुत गरेका थिए ।
 
बैठकमा स्थायी समिति सदस्य लोकेन्द्र बिष्टमगर र चन्द्रप्रकाश खनालले ‘तपाईंहरूले मन्त्रालयको जिम्मेवारी लिएपछि जनताका पक्षमा केके काम गर्नुभयो ? केके काम के कारणले गर्न सक्नुभएन ? अब केके काम गर्दै हुनुहुन्छ ?’ भनेर सोधेका थिए । उनीहरूले आफूहरूलाई मन्त्रीहरूको आत्मप्रशंसा नचाहिएको बताएका थिए ।
 
उपाध्यक्ष श्रेष्ठका अनुसार दुई दिनमा पाँचजना मन्त्रीले आफ्ना कुरा राखिसकेका छन् भने अब तीनजना मन्त्रीका कुरा सुनेपछि पार्टीले निष्कर्ष निकाल्नेछ ।    श्रेष्ठले भने, ‘सबै मन्त्री र स्थायी समितिका सदस्यको कुरा सुनेपछि हामी निष्कर्ष निकाल्छौं ।’

 

]]>