देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक आज

देशान्तर

काठमाडौं । तेह्रौं महाविधेशनको निर्वाचन कार्यविधि बनाउन तथा महाधिवेशनको थप तयारीका बारेमा छलफल गर्नका लागि आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीको १३ औं महाधिवेशन सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा पार्टी निर्वाचन समितिको कार्यविधि बनाउन केन्द्रीय समितिको बैठक बोलाइएको हो ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले कार्यविधि तय गरेसँगै राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिले काम थाल्नेछ ।

गाउँदेखि केन्द्रसम्म पार्टीको निर्वाचन प्रक्रिया अघि बढाउन समितिले जिल्ला र क्षेत्रको नेतृत्व चयनका लागि पार्टी निकट कानुन व्यवसायीलाई निर्वाचन अधिकृत तोक्ने तयारी छ । १३ औं महाधिवेशनअन्तर्गत कांग्रेसले माघ १५ गते गाउँ–नगर, २२ गते क्षेत्रीय अधिवेशन र माघ २५ गते जिल्ला अधिवेशनको तालिका छ भने फागुन २० देखि २३ काठमाडौं १३ औं महाधिवेशन हुँदैछ ।

अधिवेशनअघि नै निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसक्नुपर्ने भए पनि गाउँ अधिवेशन सुरु हुन तीन सातामात्र बाँकी रहँदा क्रियाशील सदस्यताको अन्तिम टुंगो अझै लागेको छैन । क्रियाशील छानबिन समितिका संयोजक केन्द्रीय सदस्य नरहरि आचार्य समितिले पुस १३ गते सभापति सुशील कोइरालालाई अन्तिम प्रतिवेदन बुझाएको छ । छानबिन समितिले सदस्य रामकृष्ण यादवको फरक मतसहितको प्रतिवेदन सभापति कोइरालालाई बुझाएका छन् ।

स्रोतका अनुसार यादवले सोलुखुम्बु, रौतहट–४ र कैलालीमा प्रक्रिया नपुगेका सदस्यता आएकाले नयाँ सबै सदस्यता स्थगन गर्नुपर्ने फरक मत राखेका छन् । पार्टीभित्र राजनीतिक सहमति जुटाउन भन्दै कोइराला अहिलेसम्म प्रतिवेदन निर्वाचन समितिलाई पठाएका छैनन् । पार्टीका तीन शीर्ष नेता बसेर क्रियाशील सदस्यताका बारेमा अन्तिम टुंगो लगाएरमात्र राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिलाई क्रियाशील सदस्यताको विवरण दिइने भएको छ । 

पुस ५ गते सम्पन्न केन्द्रीय समितिले सदस्यता छानबिन समितिको प्रतिवेदनबारे केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले नै तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउने र सोहीअनुसार सभापतिले निर्वाचन समितिलाई पठाउने निर्णय गरेको थियो । 

छानबिन समितिले सोलुखुम्बु जिल्लाको २४ गाविसका नयाँ  क्रियाशील सदस्यता स्थगित गरिएको थियो । यसअघि समितिले १६ गाविसको मात्रै स्थगित गर्ने निर्णय लिएको थियो । कपिलवस्तु ४ नम्बर क्षेत्रका ६ गाविसका नयाँ क्रियाशील सदस्यता फुकुवा गरिएको छ । त्यस्तै, झापा–६ नम्बर क्षेत्रका अन्तर्गत गौरादह गाविसमा नयाँ सिफारिस गरिएका १७८ मध्ये जिल्ला कार्यसमितिबाट अनुमोदन भएका १३९ लाई मात्र मान्यता दिने निर्णय समितिले लिएको छ ।

स्वीकृत नभएका ३९ को नयाँ क्रियाशील सदस्यतालाई १३ औं महाधिवेशनपछि लागू हुने गरी कायम गरिएको प्रतिवेदनमा उल्लेख छ । जनसम्पर्क समिति अस्ट्रेलियाले क्रियाशील सदस्यता शुल्क बुझाएपछि सूचीलाई मान्यता दिइएको छ । क्रियाशील सदस्यता छानबिन र वितरणप्रति असन्तुष्टि जनाउँदै डोल्पा, सोलुखुम्बु, रौतहट जिल्लाका नेताहरू पार्टी केन्द्रीय कार्यालयमा केही दिनदेखि अनसनरत छन् ।

यसैबीच, केन्द्रीय समिति बैठकमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदा तथा पार्टीको नीति तथा कार्यक्रम प्रस्ताव समितिले तयार पारेको पार्टीको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । यसका साथै महाधिवेशनका तयारीका लागि बनेको विभिन्न समितिहरूको कामका बारेमा पनि केन्द्रीय सदस्यहरूलाई बैठकमा जानकारी गराउने तयारी भएको छ । 

 

]]>