देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई उपप्रधानमन्त्री गच्छेदारको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले सरकार गठनका बेला आफ्नो दलसँग भएको आठबुँदे सहमति कार्यान्वयनका गर्न ध्यानाकर्षण गराएको छ ।

फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटी सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सो ध्यानाकर्षण पत्रमा राखिएको माग व्यापक राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषद्को निणर्यबाट नै गर्न सकिने भएकाले दोस्रो प्रकृतिका विषय तत्काल सम्बोधन गर्न भनिएको छ ।

तराई मधेस थरुहट आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न, मुद्दा चलाइएका व्यक्तिको मुद्दा फिर्ता गर्न तथा घर जलाइएका र सम्पत्ति लुटिएकालाई उचित क्षतिपूर्ति दिन  ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।

सो अवसरमा अध्यक्ष गच्छदारले संविधानलाई पूर्ण समावेशी, समानुपातिक बनाउन तथा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सङ्घीयताको सीमाङ्कनलगायत विषय सम्बोधन गर्न सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकार गठनका बेला फोरम (लोकतान्त्रिक) सँग भएको आठबुँदे सहमति कार्यान्वयनमा आफू सकारात्मक भएको बताए ।  “संविधान अनुसार तपाईँहरुका जायज माग पूरा गर्न म सकारात्मक छु”– प्रधानमन्त्रीले भने ।

टोलीमा दलका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्ष गोविन्द चौधरी, जितेन्द्रनारायण देव र  आशा चतुर्वेदी तथा सचिव रवीन्द्र ठाकुर सहभागी थिए ।

]]>