देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजदूतका लागि फेरि सुरु भयो दौडधुप

देशान्तर

काठमाडौं । २० वर्षअघि नै परराष्ट्र मन्त्रालयको कमान सम्हालेका कमल थापाले गणतन्त्र र धर्मनिरपेक्ष नेपालमा पनि परराष्ट्रमन्त्री मात्रै होइन उपप्रधानमन्त्री नै बन्ने मौका पाएका छन् । उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै एक दैनिकलाई दिएको अन्तरवार्तामा गतिला र सक्षमलाई मात्र राजदूत बनाउने बताएको प्रकाशनमा आएको छ । भागबन्डा हुँदा पनि सक्षम व्यक्तिलाई राजदूत बनाउने उनले बताएका छन् । तर मन्त्रीले यसो भनेपछि अहिले मन्त्रालयमा रहेका धेरै सहसचिवहरूको ओठतालु सुकेको छ ।

परराष्ट्र मन्त्रालयको भागमा आठभन्दा बढी राजदूत पर्ने भए पनि अहिले त्यति राजदूत पठाउन नसक्ने जानकारी सचिव शंकर वैरागीले इच्छुक सबैलाई दिइसकेका छन् । उनले मन्त्रीलाई सेवा निवृत्त अर्जुनकान्त मैनालीसहित सात जनालाई राजदूत बनाउन सकिने जानकारी गराएको स्रोतले बतायो । परराष्ट्रबाट सेवा निवृत्त भएका मैनालीबाहेक रमेशप्रसाद खनाल सबैभन्दा बलियो दाबेदार हुन् भने शालीन, शान्त र दक्ष देखिने झवीन्द्र अर्याल, खासै अन्तक्र्रिया गर्न नरुचाउने प्रवक्ता तारा पोखरेल, क्षमतामा निकै हल्का छवि बनाएका प्रकाश सुवेदी पनि यसपटक राजदूत बन्ने लाइनमा छन् ।

यस अलावा, अघिल्लो पटक नियुक्तिलाई लिएर रडाको मच्चाएका कूटनीतिभन्दा साहित्यमा रम्ने दुर्गाबहादुर सुवेदी पनि राजदूतको दाबेदारमा पर्छन् । कार्यक्षमताको आधार हेर्दा राहदानी विभागको महानिर्देशक लोकबहादुर थापा अग्रपंक्तिमा रहेको मन्त्रालयमा चर्चा छ । न्युयोर्कमा नियोग उपप्रमुख रहेका सेवा अधिकारी र वासिङ्टनमा रहेका ऋषि घिमिरे पनि राजदूतको दाबेदारी पनि उत्तिकै बलियो देखिन्छ । सेवाले समावेशीबाट आफू पर्नुपर्ने सन्देश विभिन्न च्यानलबाट दिइरहेकी छिन् । मन्त्रालयमा रहेको एकमात्र महिला सहसचिव रहेकाले उनको सम्भावना पनि बलियो बनेको हो । उनीभन्दा कनिष्ट सहसचिव अम्बिका लुइँटेल राजदूत बनिसकेकी छिन् । सेवा लुइँटेलभन्दा वरीयतामा माथि छिन् । तर न्युयोर्कमा उनी उपप्रमुख बन्न राजी भइन् । सेवाले पहिलो महिला परराष्ट्र सचिव बन्ने सम्भावना पनि बोकेकी छिन् । तर विडम्बना, परराष्ट्रमा पहिले नै आएकाहरूले उनलाई कम क्षमता भएको भन्दै आफूलाई उपल्लो दर्जामा राख्ने गरेका छन् ।

परराष्ट्रमा निकै सफल मानिएका रुद्र नेपालले अस्ट्रेलियामा, मुक्ति भट्टले डेनमार्कमा, पारस घिमिरेले म्यानमारमा र धनञ्जय झाले यूएईमा गरेको कामको मूल्यांकन गर्न पनि यसपटक आवश्यक रहेको भन्दै उनीहरूलाई दोस्रो पटक राजदूत बन्ने अवसर तत्काल दिन नहुने मत पनि देखिएको छ । ‘उनीहरू परराष्ट्र सेवाबाटै गएका थिए तर के गरे ?’, एक सहसचिवले प्रश्न गरे, ‘उनीहरूको विगतको कामको मूल्यांकन नगरी फेरि अवसर दिनु हँदैन ।’

तर परराष्ट्रमन्त्रीले विभिन्न छलफलको क्रममा पहिला राजदूत भएर राम्रा काम गरेकालाई पनि राजदूत नियुक्त गर्न सक्ने सन्देश दिएका छन् । उनले भाषाको ज्ञान र कार्यक्षमतालाई अर्को बटमलाइन मान्ने हुनाले प्रधानमन्त्रीले दिने नाममा सजिलै सहमति जनाउने अवस्था देखिँदैन । यसअघि पनि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको कुरा नमिल्दा राजदूत नियुक्ति हुन सकेको थिएन । जसको कारण सुब्बा र अधिकृतको भरमा राजदूतावास सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

तर अबको सरकारले डेढ दर्जनभन्दा बढी राजदूत एकै पटक नियुक्त गर्न सक्ने भएपछि पूर्वराजदूत, पूर्वसेनाका जर्नेल, पूर्वप्रहरी प्रमुख, पूर्वपरराष्ट्र कर्मचारीसमेत थापाकोमा बिहानै पुग्न थालेका छन् । नभनी नहुने हुनाले धेरैजसो त्यहाँ पुग्नेहरू राम्रै भए पनि कतिपय भने राजदूत बनेको सुन्दासमेत मुलुकको इज्जत जाने अवस्थाका छन् । यसैगरी करिअर भन्दैमा सबै उत्तम र बाहिरका भन्दैमा सबै खत्तम हुन्न भन्ने सन्देश उनले कर्मचारीलाई सुनाइ सकेकाले कर्मचारी उनीसँग अलि झस्केका छन् ।

 

]]>