देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा अध्यक्षको जिम्मेवारी चन्दमा

देशान्तर

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व आजदेखि सम्हालेका छन् । पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले नयाँ अध्यक्षका लागि प्रस्ताव गरेको लोकेन्द्रबहादुर चन्दको नामलाई पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।  यसअघि बैठकमा अध्यक्ष राणाले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

अध्यक्ष राणाले राखेको प्रस्तावलाई नेता डा प्रकाशचन्द्र लोहनी र केन्द्रीय सदस्य सुनीलबहादुर थापाले समर्थन जनाएका थिए । विसं २०७० साल जेठ ३ गते भएको पार्टीको महाधिवेशनपछि अध्यक्षको जिम्मेवारी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा हुँदै पशुपतिशम्शेर राणाले चक्रीय प्रणालीका आधारमा सम्हाल्दै आएका थिए । पार्टीको केन्द्रीय समितिले पारित गरेको प्रस्तावअनुरुप महाधिवेशन हुन अब बाँकी रहेको १८ महिनाको समयलाई बराबर बाँडेर चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व चन्द, राणा र लोहनीले सम्हाल्नु हुनेछ ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले महाधिवेशनले चार वर्षे कार्यकालका लागि पार्टीको नेतृत्वसहित १०५ सदस्यीय कार्यसमिति चयन गर्ने प्रावधान राखेको छ ।  निवर्तमान अध्यक्ष राणाले बैठकबाट पारित प्रस्तावबारे जानकारी गराउँदै प्रमुख राजनीतिक दलबीच देखिएको अविश्वास र मतभेदका कारण जनताले पछिल्लो समय धेरै कष्टकरण जीवन बिताउनुपरेको धारणा राखे ।

नेता डा लोहनीले मुलुकको परिवर्तन र सङ्कट समाधानका लागि सबै दलहरुबीच परिपक्व एकता कायम हुनुपर्नेमा जोड दिए । पार्टी केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि बिहान १० बजे बस्ने सहप्रवक्ता किरण गिरीले  जानकारी दिए । 

]]>