देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वअर्थमन्त्री महतले भेटे मधेस आन्दोलनका घाइते

देशान्तर

इटहरी । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरीको गोली लागी घाइते भएका तथा मोरङमा जिउँदै पेट्रोल हालेर जलाइएका घाइतेहरुको अवस्थाका विषयमा जानकारी लिएका छन् ।

यही मङ्सिर ६ गते सप्तरी जिल्लाको भारदह क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका  सरोज यादव, मनोज यादव र पेट्रोल हालेर जलाइएका मोरङ भाथिगजका बब्लु राजवंशीको अवस्थाका विषयमा डा महतले जानकारी लिएका हुन् ।

राजमार्ग अवरोध गरेको अवस्थामा प्रहरीले गोली चलाउँदा सप्तरीका सरोज र मनोज गम्भीर भएका थिए भने पेट्रोल खन्याएर जलाइएका बब्लुको पनि चिन्ताजनक अवस्थामा बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सो अवसरमा डा महतले घाइतेको जुनसुकै अवस्थामा पनि उपचार गर्न प्रतिष्ठानका अस्पताल प्रशासनसँग आग्रह गर्दै अघिल्लो सरकारले सर्वसाधारण नेपालीको स्वास्थ्य सुधारमा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा अस्पताल निर्देशक प्राडा अरबिन्दकुमार सिन्हा तथा प्रतिष्ठानका सूचना अधिकृत तथा नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सचिव सुजेन्द्र तामाङले प्रतिष्ठानलाई अझ बढी भौतिक पूर्वाधारयुक्त बनाई दक्ष जनशक्ति उत्पादनका लागि राज्यले विशेष सहयोग गर्नुपर्ने माग गरे ।

यसैबीच मोरङको बेलबारीमा कार्यकर्तासँग आज कुराकानी गर्दै नेता महतले वर्तमान समस्या आन्तरिक र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताएका छन् ।

उनले पारवहनमा भइरहेको अवरोध नेपाल र भारत बीचको कूटनीतिक पहल तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिएर गर्न सकिने स्पष्ट पारे । अहिले तराई मधेसमा संविधानमा व्यवस्था गरिएका प्रावधानका विषयमा मधेसवादी दलहरुले गरेको गलत सूचना प्रवाहका कारण आन्दोलन भइरहेको नेता महतको भनाए थियो ।

नयाँ संविधानमा मधेसी, आदिवासी, जनजाति, दलित, महिला, पछाडि पारिएका समुदायका हकअधिकार, सङ्घीयता, प्रदेशको सीमाङ्कन, नागरिकता, निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयमा स्पष्टसँग किटान गरिएको र अधिकार सम्पन्न बनाइएको भए पनि त्यसलाई अफवाह फैलाएर मधेसवादी दलहरुले तराई मधेसमा भड्काएर आन्दोलन उचालिरहेको नेता महतले दाबी गरे ।

]]>