देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण मंगलबार र बुधबार हेटौंडामा हुने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण हेटौंडामा हुने भएको छ । प्रदेश ३ अन्तर्गत् ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला मंगलबार र बुधबार हेटौंडामा हुने भएको हो ।

भेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस मकवानपुर सभापति तथा प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । बानियाँका अनुसार नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भेला तथा प्रशिक्षण हेटौंडामा हुन लागेको हो । यसअघि सात जिल्लाका भेला भक्तपुरमा सम्पन्न भइसकेको छ ।

भेलाको उद्घाटनमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा।शशांक कोइरालालगायतका नेताहरु समेत हेटौंडा आउने बताइएको छ । हेटौंडामा दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणको सम्पूर्ण तयारी सम्पन्न भइसकेको र महाधिवेशन प्रतिनिधिहर हेटौंडा आउने क्रम सुरु भइसकेको सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

भेला तथा प्रशिक्षणमा ३ नम्बर प्रदेशअन्तर्गत्का ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ । प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका दुईसय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरुकोसहभागिता रहने जनाइएको छ ।

सहभागीलाई प्रतिष्ठानका प्रमुख निधी, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्षहरु डा। गोविन्द पोखरेल, डा।जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा। आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गर्ने जनाइएको छ ।

‘नेपाली राजनीतिक वर्तमान अवस्थाबारे चर्चा गर्नुका साथै प्रतिपक्षी दलले खेल्नुपर्ने भूमिकाबारे केन्द्रीय पदाधिकारीसहितको उपस्थितिमा छलफल हुनेछ,’ नेपाली कांग्रेसका नेता बानियाँले दुई तिहाई नेतृत्वको सरकार ठिकढंगले अगाडि बढेको छ वा छैन भन्ने विषयको समिक्षा भेला तथा प्रशिक्षणमा हुने बताए ।