देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कसरी भयो ध्वजावाहकको कन्तबिजोग ?

देशान्तर

काठमाडौं । नेपाल सरकारले पूर्वघोषित कार्यक्रमअनुसार सन् २०२० मा भिजिट नेपाल मनाउँदै छ । नेपालमा बढीभन्दा बढी पर्यटक ल्याउनका लागि यस्तो कार्यक्रम अघि सारिएको हो । सरकारले विशेष प्राथमिकता दिएर यस्तो कार्यक्रम बनाउने गरिन्छ । यस्ता कार्यक्रमको मुख्य विशेषता भनेकै नेपालको प्रवद्र्धन गर्नु हो ।

प्रवद्र्धनका लागि सरकारले विशेष कार्यक्रम बनाउँछ । देश विदेशमा नेपालको प्रवद्र्धन हुने गरी कार्यक्रम गरिन्छ । यसका लागि स्थायी संयन्त्र नेपाल पर्यटन बोर्ड छ । त्योसँगै विशेष काम गर्ने गरी भ्रमण वर्ष सचिवालय पनि बनाइएको छ । यसले पनि प्रवद्र्धनको काम गर्छ । तर यी सबैभन्दा मुख्य कुरा एयरलाइन्स चाहिन्छ । नेपालमा पर्यटक नआउनुको मुख्य कारणका रूपमा हवाई भाडालाई लिइएको छ । विदेशी एयरलाइन्सहरूका ट्रान्जिट फ्लाइटमा पर्यटक आउन महँंगो पर्ने भएकाले समग्र पर्यटनमा असर परिरहेको छ ।

संसारभरका सरकारहरूले देशमा पर्यटक ल्याउनकै लागि राष्ट्रिय ध्वजावाहक चलाएका हुन्छन् । सरकारी स्वामित्वमा सञ्चालन हुने यस्ता एयरलाइन्सले सस्तोमा सेवा सञ्चालन गर्छन् । यस्ता एयरलाइन्स घाटामा गए पनि पर्यटकबाट हुने आम्दानीलाई क्षतिपूर्तिका रूपमा लिन्छन् । यसैगरी नेपालमा पनि नेपाल एयरलाइन्स सञ्चालित छ । तर नेपाल एयरलाइन्स पछिल्लो समय बिरामी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको झापा मोहले राष्ट्रिय ध्वजावाहकलाई धुजाधुजा बनाइदिएको छ । इतिहासमै पहिलोपटक वाइडबडी जहाज किनेको एयरलाइन्सको नेतृत्वमा असक्षम नेतृत्व ल्याएर ओलीले धुजाधुजा बनाइदिएका हुन् । बाहिर भ्रमण वर्षका कुरा गर्ने तर भ्रमण वर्षको मुख्य सारथि राष्ट्रिय ध्वजावाहक भने ध्वस्त भएको छ । यसबारेमा ओलीलाई कुनै पनि पश्चताप छैन ।

वाइडबडी जहाज आएपछि त्यसलाई कसरी चलाउने ? एयरलाइन्सको व्यापार तथा व्यवस्थापन कसरी सुधार गर्ने त्यो जिम्मा जसले किनेको हो त्यसैको हुनुपर्ने थियो । त्यो भूमिकामा सुगतरत्न कंसाकार थिए । कंसाकारले २४ अर्बका जहाज किनेका थिए । उनले चलाउँछु पनि भनेका थिए । तर उनको क्षमता पुष्टि हुने वातावरण सरकारले बनाइदिएन । ओली प्रधानमन्त्री हुनेबित्तिकै झापाकै मदन खरेललाई एयरलाइन्सको अध्यक्ष बनाइदिए । त्यसपछि एयरलाइन्सको उधोगति सुरु भयो ।

खरेल आएपछि जहाज चलाउनुको साटो कर्मचारी चलाउन थाले । अधिकांश मुख्य विभागको जिम्मेवारीमा झापालीलाई खोजीखोजी ल्याए । यदि झापाली नभए एमाले उनको रोजाइमा प¥यो । विवादित र जुनियरहरूलाई उनले विभागीय जिम्मेवारी दिँदै गए । उनको प्राथमिकतामा कहिल्यै पनि जहाज उडाउनै परेन ।

खरेलले सबैभन्दा पहिले आन्तरिक उडान ध्वस्त बनाए । वाई १२ जहाज उडाउने तीन जना क्याप्टेन थिए । त्यसमध्ये जुनियरलाई उनले एयरबस ए३२० जहाज उडान पठाइदिए । त्यसपछि बाँकी दुईजनाले पनि जहाज उडाउन छाडिदिए । एकातिर पाइलट छैनन् भनेर जहाज नउडाउने अर्कोतिर भएकै पाइलट पठाइदिएर उनले जहाज उडाउने वातावरण बिगारिदिए । उनले राजनीतिक आस्थाकै कारण जुनियर पाइलटको बढुवा गरिदिएपछि सक्षम पाइलट असन्तुष्ट हुनु स्वाभाविक थियो । त्यसपछि लथालिंग भएको आन्तरिक उडान अहिले पनि उस्तै छ ।

त्यसपछि उनले एयरबस ए३२० कै क्याप्टेनमाथि राजनीति गरे । एमालेका नेताका आफन्त पर्ने पाइलटलाई क्लियरेन्स नदिएकै कारण एकजना भारतीय क्याप्टेनलाई अपमानजनक व्यवहार गरे । त्यतिमात्र होइन उनको ठाउँमा आवश्यकता नहुँदा पनि पाइलट ल्याए ।

यसले गर्दा काम गर्ने वातावरण नभएको भन्दै एयरलाइन्समा गत महिना पाँच जना पाइलट बिदामा बसेका थिए । त्यही कारण कतिपय उडान रद्द भएका थिए ।

विदेशबाट पाइलट ल्याउने, होटेलको ठेक्का गर्ने, जीएसएमा आफ्नो मान्छे आउँछ कि आउँदैन भनेर खोजी हिँडे, उनी । खरेलको ध्यान उडाउनेतिर भन्दा कमाउनेतिर छ भन्ने कुरा थाहा पाउन जापान उडान नै काफी छ । असारबाट जापान उडान गर्ने भन्दै एयरलाइन्सले सूचना जारी गरेको थियो । त्यसका लागि सबै तयारी पूरा भएको भन्दै जानकारी गराइएको थियो । तर एकाएक यात्रु अभाव भन्दै उडान स्थगन भयो । भएको के थियो ?

एयरलाइन्स सम्बद्ध सूत्रहरूका अनुसार त्यहाँ तयारीको कुनै पनि फ्याक्टर थिएन । यदि तयारीकै कुरा गर्ने हो भने अहिले पनि त्यही हो । यात्रु पनि त्यति नै छन् । तर अहिले आएर उडान भयो त्यतिबेला किन भएन ? यसको सरल जवाफ छ, जापानमा नेपाल एयरलाइन्सको एजेन्टमा आफ्नो मान्छे वा आफूलाई पैसा कसले दिन्छ भन्नेमा उनको ध्याउन्न थियो ।

लामो समयदेखि जापानमा नेपाल एयरलाइन्सको प्रतिनिधि भएका देवमान हिराचनले एक सुका नदिने भएपछि खरेलले अर्कै पार्टी खोजेका थिए । हिराचनले कुनै पनि हालतमा नछाड्ने धम्की दिएपछि खरेल केही समय हच्किए । तर उनलाई अदातले नै बाटो खुला गरिदिएपछि आफूलाई पैसा दिने मान्छे पाएर काम सुरु गरे । र उडान पनि सुरु भयो । खरेलको स्वार्थका कारण जापान उडान एक महिना ढिला भयो । एक महिना उडान ढिला भएपछि त्यसको घाटा करोडौंमा हुने जानकारहरू बताउँछन् ।

खरेलले उडानमा भन्दा दुबईको होटेलको टेन्डरमा ध्यान दिएको वायुसेवाकै कर्मचारीहरूको आरोप छ । त्यहाँ अनियमिता भएको भन्दै संसदीय समितिले नै आपत्ति जनाएपछि उक्त टेन्डर खारेज भएको छ ।

त्यस्तै, उनले नेपालमा पाइलटको पतपूर्ति गर्नुभन्दा विदेशबाटै ल्याउने ध्याउनमा लाग्दा अहिलेसम्म वाइडबडीमा पर्याप्त पाइलट छैनन् । स्वदेशमै विज्ञापन जारी गरे पनि प्राविधिक टेस्टको नामा फेल गराएर विदेशी ल्याउने खेलमा उनी लागेका छन् । यसो गर्दा समय पनि लामो लाग्ने भएकाले अहिलेसम्म पाइलट थप गर्न सकेका छैनन् । यसमा दुनियाँलाई छारो हाल्नका लागि विज्ञापन जारी गर्ने तर नपाइएको भन्दै विदेशबाट ल्याउने बाध्यता भन्दै बहना बनाउन खोजेका छन् ।

भ्रमण वर्षको सम्मुखमा नेपाल एयरलाइन्सका वाइडबडी जहाज यतिबेला जापानसँग कोरिया, चीन उडिसक्नुपर्ने थियो । तर उनी सेफ्टी अडिटको डरले प्रक्रिया अघि बढाउन सकेका छैनन् । नागरिक उड्डयन प्राधिकरणकै अडिट पास गर्न नसकेको एयरलाइन्सले कोरियाको अडिट पास गर्न कठिन हुने भन्दै प्राधिकरण आफैंले रोकिदिएको छ । कोरिया उडानका लागि पूरा गर्नुपर्ने सेफ्टीका आधारभूत मापदण्डबाट उनी चुकेका छन् ।