देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतले पाइलट च्यानल खोलेर पुरै गाँउ डुवानमा पार्दा पनि सरकार बेखबर

देशान्तर

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर जस्तै बसेको छ । नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेपछि स्थानीयहरु परिवारसंगै सम्पर्क विहिन भएका छन ।

परियोजनाअन्तर्गतका बाँध नियन्त्रण एवं जल निस्सरण कार्यालय वीरपुरले सम्झौताविपरीत नेपाली भूभागमा बिनाजानकारी खनेको पाइलट च्यानलमा पानी छाड्डा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोवरगाढाको बस्तीमा स्थानीय पुरै थुनिएका छन् ।

कोसीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेका बेला परियोजनाका भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई पाइलट च्यानल खनेर पानी छाडेका हुन् ।

एकतर्फी रूपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छाडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार बस्तीमै थुनिएका छन् ।

सोही नगरपालिका–१३ का वडाध्यक्ष विन्देश्वर यादवले अचानक पानी छाड्डा गाउँभन्दा बाहिर जान सक्ने अवस्था नरहेको बताए । ‘समान्य रूपमा पानी बगिरहेकाले डुंगा राखेर आवतजावत भइरहेको थियो, ‘उनले भने, ‘अचानक पानी छाड्डा डुंगासमेत बगाएर लगेको छ, अहिले गाउँमा कुनै समस्या भए अकालमै ज्यान पनि जान सक्छ ।’

हनुमाननगर कंकालनी नगरपालिका प्रमुख शेलेशकुमार साहले ३ वर्षदेखि कोसीको ५० ढोकामध्ये २८ नम्बरबाट पाइलट च्यानल खनेर कोसीलाई बीच बाटोबाट बगाउने भन्दै खन्दै आएको बताए । उनले भने, ‘भारतीय अधिकारीले नेपाली भूभाग डुबानमा पर्ने गरी पूर्वपट्टि खनिएको बालुवा थुपार्दे बहाव नै नेपालतिर बनाएको छ।’

लामो समयदेखि नेपाली भूभागमा निर्माण गरिएको पश्चिमी तटबन्धको मर्मत सम्भार नगरी पूर्वी तटबन्ध जोगाउन मात्र परियोजनाका कर्मचारी लागेको उनले बताए । वडाध्यक्ष विन्देश्वरका अनुसार अहिले त्यहाँका बासिन्दा पौडेर बस्तीतर्फ आवतजावत गर्छन । पाइलट च्यानलमा ७० किलोमिटर प्रतिघण्टाका दरले पानीको बहाव रहेको स्थानीय बताउँछन् । नेपालतर्फको तटबन्ध भने ३ दशकदेखि मर्मत–सम्भार भएको छैन ।

कोसी सम्झौताअनुसार नै कोसीको नेपाल भू–भागमा हुने कामको जानकारी दिन र लेखाजोखा गर्न सन् १९५५ मा नेपालमा दुई सम्पर्क कार्यालय स्थापना गरिएको थियो । तर, विराटनगरमा रहेको सम्पर्क कार्यालयको जानकारीबिना परियोजनाका भारतीय अधिकारीहरूले काम गर्ने गरेको पाइएको छ । सम्झौताको बुँदा नम्बर १४ मा नेपाल भूभागमा काम गर्दा नेपालको सार्वभौम अक्षुण्ण राखी काम गर्नुपर्ने उल्लेख छ ।

विहारको भीमनगरदेखि दक्षिण करिब १५ किमि रहेको कोसी स्पर नम्बर २०५० देखि अगाडि कोसीको बहाव पूर्वीतटबन्धमा छोएको छ । कोसीको प्राकृतिक बहाव १० वर्षदेखि पूर्वीतटबन्धलाई छोएर बग्दै छ ।

कोसीमा पानीको बहाव बढे सो स्थानमा खतरा हुने भन्दै परियोजनाले त्यहाँ युद्धस्तरमा मर्मत सम्भार गर्दै आएको छ । त्यहाँ बाँधमा कटान भए विहारको सुपौल, अररिया, पूर्णिया, मधेपुरासहित आसपासका बाढी पसेर ठूलो धनजनको क्षति हुने देखिन्छ । त्यसकारण पानीको बहाव पश्चिमी तटबन्धतर्फ योजनाबद्ध रूपमा पाइलट च्यानल बनाएर मोड्ने गरेको बताइएको छ ।

पश्चिमी तटबन्धतर्फ पानीको बहाव बढे नेपालतर्फको चार स्थानीय तहमा कोसीको पानी पस्छ । हनुमाननगर कंकालनी नगरपालिकाका मेयर शैलेन्द्र साहका अनुसार पश्चिमी तटबन्धतिर पानीको बहाव बढे नेपालको हनुमाननगर कंकालनी नगरपालिकाका अधिकांश वडासहित कोइलारी तिलाठी नगरपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका जोखिममा पर्नेछ ।