काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सरकार देश र जनताको हित् प्रतिकूल निरङ्कुश ढङ्गले अगाडि बढ्दै गएको भन्दै सत्ता गठबन्धन केबल अराजनीतिक साँठगाँठ भएको पुष्टि भएको बताएको छ । अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै सरकारको अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको जनाएका छन् । ओली सरकारले अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको समाजवादीको आरोप छ ।समाजवादीले आन्दोलनद्वारा पार्टी निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ । यो प्रस्तावलाई अघि बढाउन महासचिव घनश्याम भुसाललाई संयोजक बनाइएको उल्लेख छ ।
जिम्मेवारीअनुसार भुसालले पार्टीको तात्कालिक कार्ययोजनाका रूपमा आन्दोलनलाई केन्द्रमा राखेर विचार तथा सङ्गठनका कामलाई सँगसँगै अगाडि बढाउने अवधारणाअनुरूप यो प्रस्तावलाई अघि बढाउने अपानिमा उल्लेख छ । यस कार्यक्रमबारे आगामी केन्द्रीय कमिटीको बैठकमा विस्तृत छलफल गरेर कार्यान्वयनमा लगिने सो पार्टीको भनाइ छ ।
यस्तै नेपालको संविधानमा संशोधनका सम्बन्धमा अहिले उठिरहेका सबै विषयमा पार्टीको धारणा तय गर्नका लागि प्रकाश ज्वालाको संयोजकमा एक कमिटी बनाइएको छ । समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज पनि तोकेको छ । त्यस्तै विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख उपप्रमुख र इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकेको छ । विभागीय प्रमुखको जिम्मेवारी पदाधिकारी र पोलिटब्युरो सदस्यले पाएका छन् भने जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूले पाएका छन् ।
प्रतिक्रिया