देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेसहित चारजनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै

देशान्तर

पोखरा । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चारजनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।

अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । अभियोग पत्र तयार गर्ने काम भइरहेको बताइएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल र जीबीसँग जोडिएकी लीला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ र ती सबै ठाउँमा रविको बयान गराइएको छ ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ ।

समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीवी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ ।