देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गजल गायनको उज्ज्वल भविष्य


नेपाली साहित्यमा युवाकवि मोतीराम भट्टले विक्रमको १९४० को दशकमा हिन्दीबाट भित्र्याएको गजल लेखनका हिसाबले पछिल्लो समय व्यापक बनिसकेको छ । विस्तृत र परिष्कृत पनि हुँदै छ । मोतीरामकै सिर्जना, जसलाई गजल भनिए पनि संरचनाका हिसाबले गजल नभएर गीत हो, ’यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्’ सेतुरामको स्वरमा १९६५ सालमै रेकर्ड भएको पाइन्छ । आधुनिक संगीतको रेकर्ड परम्परामा हालसम्म यही गीत पहिलो मानिएको छ ।

त्यसयता गीत भनेर धेरै रचना गाइए पनि गजल नै भनेर गाइएका कम छन् । छिन्नलताका केही रचनालाई गजल भनिए पनि ती गीत हुन् भने गुलाम अलीले गाएका मविवि शाहका रचना गजल गायक गुलाम अलीले स्वर दिएकै कारण गजल भनिए तर ती विशुद्ध गीत हुन् ।

विक्रमको २०५० को दशकमा शक्तिबल्लभलगायत केही संगीतकर्मीले गजल संगीतमा चासो देखाए पनि त्यसबेला जसरी लेखिन्थे, तिनै सिर्जनालाई गजल भनेर गाइए । यद्यपि, ती पनि गीत रहेछन् ।

२०६० सालपछि भने ‘अनाममण्डली’को संस्थागत सुरुवात, अभियानसँगै नेपाली गजलले परिष्कारको बाटो समात्यो र आजसम्म आइपुग्दा नेपाली गजल लेखनमा व्यापक परिष्कारको यात्रामा छ ।

यसैबीच बुलु मुकारुङ, चण्डीप्रसाद काफ्ले, भविन ढुंगाना, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठलगायत संगीतकर्मी शास्त्रीय वा परिष्कृत गजल संगीततर्फ आकर्षित भए । यिनका हरेकजसो गजल भनिएका एल्बममा केही शास्त्रीय गजल पनि समावेश भए । यसले गजल संगीतमा पनि शास्त्रीय रचनाको खोजी हुन थालेको छ ।

विशेषतः २०७९ भदौमा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत र घनेन्द्र ओझाका शब्दमा ४ पुस्ता, ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, निशा देशार र संगीतकार श्रेष्ठ स्वयम् अनि अस्मिता अधिकारीको स्वरमा पूर्णतः शास्त्रीय बहरबद्ध पहिलो गजल एल्बम ‘शुभेच्छा’ बजारमा आएपछि नेपाली गजल गायनमा धेरैको चासो बढेको छ ।

यहीबेला संगीतकार सन्तोष श्रेष्ठ र गजल अभियन्ता घनेन्द्र ओझाले वि.सं. २०८०–२०९०को दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरेका छन् । यसै मेसोमा नेपाल गजल प्रतिष्ठानले सांगीतिक गजल गुञ्जन र मुशायरा नियमितजसो गरिरहेको छ भने अनाममण्डलीले शृंखलाबद्ध गजल गायनका कार्यक्रम राख्ने निर्णय गरेको छ ।

राधा कणेल र घनेन्द्र ओझाका गजलहरूको गायन गत १९ जेठमा सन्तोष श्रेष्ठको संगीत र स्वरमा प्रस्तुत भएपछि धेरै सर्जक र संगीतकर्मीको रुचि प्रत्यक्ष गजल गायनमा समेत बढेको छ ।

दार्जिलिङका संगीतकार जीवनप्रकाश प्रधानको एकल संगीतमा राधा कणेल, रश्मी असफल र घनेन्द्र ओझाका गजलहरूको एल्बम ‘मतला’ तथा सन्तोष श्रेष्ठको संगीत र स्वरमा राधा कणेल र घनेन्द्र ओझाका शब्दहरूमा ‘सागर’ एल्बम पनि चाँडै बजारमा आउने खबर छ ।

समग्रमा, अबको दशक गजल गायनको स्वर्ण दशकका लागि तयार देखिन्छ । अझै पनि केही पुराना र नयाँ संगीत साधकलाई गजल गायनमा आकर्षित गर्न चुनौती भने छ । यद्यपि, माहोल हेर्दा नेपाली गजल गायनको भविष्य निकै सुन्दर र सशक्त देखिन्छ ।