काठमाडौं । प्रकाश सुवेदी कविता र गीत लेखनमा करिव दुई दशकभन्दा समयदेखि सक्रिय र परिचित नाम हो । कास्कीको रूपा गाउँपालिकामा जन्मिएका उनी २०६२ सालमा काठमाडौं छिरेका थिए । उनले ‘क्रिएटिभ मनकामना फिल्मस्’ नामक कम्पनीको प्रबन्ध निर्देशक हुँदा ‘गुरुदक्षिणा’ र ‘सिग्नेचर’जस्ता ठूलो पर्दाका चलचित्रहरूको निर्माण मात्र गरेनन्, टेलिशृंखलाहरूको शीर्ष गीत लेखनसँगै राष्ट्रिय भावका गीतहरू, बालगीतहरू, आधुनिक गीतहरू पर्व गीतहरू, जागरण गीतहरू लेखेर आफूलाई सफल र व्यावसायिक गीतकारका रूपमा स्थापित गराएका छन् ।
प्रकाशले २०६२÷६३ ताका ‘भोलि कहिल्यै देखिँदैन’ र ‘जिन्दगी अलवेज कम्प्रोमाइज’ नामका धारावाहिक टेलिशृंखलाका लागि शीर्ष गीत लेखेका थिए । २०६५ सालमा सार्वजनिक भएको ‘गुरुदक्षिणा’ चलचित्रमा रहेको ‘नहटोस् स्वाभिमान नझुकोस् शिर’ बोलको राष्ट्रभावको चर्चित गीत उनैले लेखेका हुन् । जुन गीतमा वसन्त सापकोटाको संगीत र शिव परियारको स्वर रहेको छ । प्रकाशको रचनामा करिव १० वर्षअघि ‘भावना’ नामक एकल गीतिसंग्रह सार्वजनिक भएको थियो भने २०७३ सालमा प्रकाशको एकल एल्बम ‘प्रदीप्त’ र सामूहिक एल्बम ‘समिश्रण’ बजारमा आएको थियो । ‘प्रिशा’ एल्बममा पनि प्रकाशका ‘जति माया लाग्छ मामूको’ (बालमनोविज्ञान सम्बन्धी) र ‘टुक्रिएको देश हैन’ (राष्ट्रिय भावनासम्बन्धी) बोलका दुई गीत छन् । जुन २०७२ सालमा नै सार्वजनिक गरिएको थियो । यसबाहेक उनका दर्जनौँ फुटकर गीतहरू सार्वजनिक भएका छन् । प्रकाशका ‘असारै लाग्यो दर्कियो पानी’, ‘आहा कति सुन्दर ठाउँ’, ‘सन्ततिले धिक्कार्लान् फेरि’, ‘हुन्छ हुन्छ हुन्छ भन्दाभन्दै टा¥यौ सान्नानी’, ‘एउटै छानो एउटै मानो’लगायत गीत दर्शकमाझ लोकप्रिय छन् ।
प्रकाशले विभिन्न स्थानीय निकायका स्थान विशेष परिचयात्मक गीत पनि लेखेका छन् । ‘हाम्रो प्यारो रूपा’ ‘संस्कृतिले भरिपूर्ण सम्पदाकी खानी’ ‘पनौती सुन्दर पनौती’लगायत उनले लेखेका गीतहरूले आन्तरिक पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याएका छन् । प्रकाशलाई नजिकबाट नियालेका प्रसिद्ध कवि तथा गजलकार देवी नेपालले एक आलेखमा सुवेदीका बारेमा भनेका छन्, ‘प्रकाशले चर्मको आँखाले भन्दा बढी मर्मको आँखाले देशलाई हेर्छन्, चेतनाको चक्षुले समाजलाई चियाउँछन् र सम्पूर्ण नेपालीको सामूहिक आवाजको प्रतिनिधित्व गर्न सक्ने गीत लेख्छन् ।’
गीतकार प्रकाश सुवेदीका शब्दहरूलाई गायक–गायिकाहरू स्वरूपराज आचार्य, शिव परियार, सिडी विजय अधिकारी, कमल खत्री, अञ्जु पन्त, अञ्जना गुरुङ, मेलिना राई, मिलन नेवार, जुनू रिजाल, राज सागर, शिवकुमार चौधरी, रीता केसी, संगी अधिकारी, रचना रिमालजस्ता नेपाली संगीतमा स्थापित गायक–गायिकाहरूले आवाज भरेका छन् भने सुरेश अधिकारी, वसन्त सापकोटा, हरि लम्साल, लक्ष्मण शेष, श्रीकृष्ण बम मल्ल, साहस शाक्य, सागर शरद अधिकारी, राज सागर, राजकुमार बगरजस्ता चर्चित संगीतकारसँग प्रकाशले संगीतमा सहकार्य गरेका छन् ।
यस अवधिमा प्रकाशले आठौँ रापती म्युजिक अवार्ड, छैटौँ निम अवार्ड, चौथो हिमालयन इन्टरनेसनल अवार्डलगायतबाट सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका छन् भने दोस्रो क्वालिटी इन्टरटेन्मेन्ट अवार्डबाट गीतकारका रूपमा जुरी अवार्ड पाएका छन् । उनी गीतकार संघ नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल, गीतकार प्रतिष्ठान नेपाललगायत संघ–संस्थामा आजीवन सदस्य र विभिन्न संघ–संस्थामा मानार्थ सदस्य र सल्लाहकारका रूपमा पनि आबद्ध छन् ।
प्रकाशका गीतहरूको प्रकृति र प्रवृत्तिबारे समीक्षा गर्दै कवि देवी नेपाल थप्छन्, ‘उनी माटो र मुटुका गीतकार हुन्, विवेक र संवेगका गीतकार हुन्, यथार्थ र आदर्शका गीतकार हुन्, प्रकृति र संस्कृतिका गीतकार हुन्, मूर्त स्थानीयता र अमूर्त आत्मीयताका गीतकार हुन्, देश र परदेशका गीतकार हुन्, रागात्मक सौन्दर्य र वैचारिक गाम्भीर्यका गीतकार हुन् अनि मानवीय बाह्य यथार्थ र आन्तरिक यथार्थको सूक्ष्म अन्वेषण गरी सार्थक अभिव्यक्ति दिने कुशल शब्दशिल्पी पनि हुन् । उनका गीतमा शब्दसौन्दर्य, लयमाधुर्य र भावगाम्भीर्य तीनैै कुराको सबल उपस्थिति देख्न पाइन्छ । त्यसैले उनी सफल गीतकार हुन् ।’
प्रतिक्रिया