काठमाडौं । गीतसंगीतको क्षेत्रमा पर्दा पछाडि रहेर काम गर्ने संगीत संयोजकको निकै नै महत्वपूर्ण देन हुन्छ । गीतकारको सिर्जनाअनुसार संगीतकारले निर्माण गरेको लयलाई संगीत संयोजकले एउटा सुन्दर संरचनामा ढाल्ने काम गर्छ । लय अथवा संगीत घरको नक्सा हो भने संगीत संयोजन त्यही नक्साको निर्देशनमा रहेर बनाइएको घरको संरचना । संगीतकार इन्जिनियर हुन् भने संगीत संयोजक राम्रो कालिगड । लय एउटा अवधारणा हो भने संगीत संयोजन एउटा मूर्त रूप । गीत लेखन, लय निर्माण र संगीत संयोजन भैसकेपछि गीतले लगभग एक किसिमको ट्र्याक लिइसकेको हुन्छ । गीतमा संगीतकारको लयलाई आधार मानेर लय, ताल र बाजाहरूको समायोजन गर्ने काम संगीतसंयोजकले गरेको छुन्छ । सायद छरिएका लय र बाजाहरूलाई एकत्रित पार्ने भएकाले नै यो जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई संगीतसंयोजक अर्थात एरेन्जर भनिएको होला । अतः राम्रो लयमाथि पनि फितलो संगीतसंयोजन भयो भने त्यो सिर्जना राम्रो बन्न सक्दैन । एउटा गीतकारले गीतको प्रकृतिअनुसार जसरी संगीतकार छान्ने गर्छ त्यसरी नै एउटा संगीतकारले सो गीतमाथि बनेको लयलाई न्याय दिलाउन सोही किसिमको संगीत संयोजक छान्ने काम गर्छ । संगीतसंयोजन गरिसकेपछि सो ट्र्याकमा के कति बाजा राख्ने र ट्र्याकको लम्बाइ कति हुने सबै थाहा हुन्छ । यो ठाउँमा, मादल, यो ठाउँमा गितार, यो ठाउँमा सारंगी या बाँसुरीलगायतका बाजाहरू राख्ने भन्ने काम नै संगीत संयोजकले गरेको हुन्छ ।
यस आलेखमा मैले एक जना त्यस्तै संगीतसंयोजकको बाल्यकाल, संघर्ष, मिहिनेत र उपलब्धिका विषयलाई उठान गर्ने प्रयास गरेको छु । करिब चार दशक अगाडि नुवाकोट जिल्लामा जन्मिएका साहस शाक्य अहिले संगीत संयोजकको रूपमा चर्चित छन् । २०५० को दशकमा नेपालभरि नै विभिन्न ब्यान्डहरू स्थापना गर्ने चलन थियो । त्यसैको प्रभावस्वरूप साहस बस्ने टोलका अग्रजहरू मिलेर सोही समयमा क्षितिज ब्यान्ड नामक पप समूहको स्थापना गरे । आफ्नै दाजुसमेत ब्यान्डको सदस्य भएकाले सो ब्यान्डका अन्य दाइहरूसँग घुलमिल हुन साहसलाई सहज थियो । पहिलो पटक दाइहरूले ड्रमसेट बजाएको देखेपछि ड्रमसेटप्रति साहसको आकर्षण बढ्यो र घरमै ग्यालिन र स्टिलको थालबाट ड्रमसेट बनाएर बजाउन सिक्न थाले । जतिबेला उनी लगभग १० वर्षका थिए ।
उनी केही समयमै स्थानीय स्तरमा ड्रमरका रूपमा स्थापित भए । फलस्वरूप जिल्लाभित्र र जिल्लाबाहिर हुने कार्यक्रममा ड्रम बजाउने काममा साहसको माग हुन थाल्यो । कक्षा ६ मैं पढ्दै गर्दा उनको ड्रम बजाउने कला देखेर काठमाडौंबाट नुवाकोट जाने राष्ट्रिय टिमले समेत ड्रमरको रूपमा बोलाउन थाले ।
सानैदेखि गायन, वाद्यवादन, चित्रकला र प्रविधिमा विशेष रुचि राख्ने साहसले विद्यालय स्तरीय कार्यक्रमहरूमा सहभागी भई पुरस्कारसमेत हात पार्थे । नुवाकोटमा त्यतिबेला थुप्रै कन्सर्टहरू हुन्थे । फुच्चे भएर पनि ड्रम बजाउन र गायनमा पोख्त भएकाले उनी हरेक कार्यक्रमको मुख्य आकर्षण नै बन्थे ।
२०५५ सालतिर क्षितिज ब्यान्डको एउटा कन्सर्टमा नुवाकोट आइपुगेका इफोर्ट ब्यान्डका सदस्य अष्ट लामासँगै साहसले पनि प्रस्तुति दिने मौका पाए । त्यतिबेला सो ब्यान्डको ‘चरी बस्यो बाँसैको सै सै’मा भन्ने गीत चर्चित भैसकेको थियो । २०५६ सालमा एसएलसी पास गरेपछि काठमाडौं आएर इन्जिनियरिङ विषयमा भर्ना हुने र सँगसँगै गायनलाई पनि अलि व्यवस्थित रूपमा अगाडि बढाउने लक्ष्यसहित काठमाडौं पसेका साहसले इन्जिनियरिङ पढ्नका लागि नाम निकाल्न सकेनन् । त्यसपछि आफ्नो चाहनामा ठेस लागेर विरक्तिएका उनी नुवाकोटमै फर्केर त्यहाँको त्रिभुवन त्रिशूली उच्च माविमा १० जोड २ अध्ययन गर्न थाले ।
२०५७ सालतिर अष्ट लामाको संगीत संयोजनमा साहसले आफ्नै शब्द, संगीत र स्वरमा पहिलो पटक हृदयमा छुपाउन सकिन बोलको गीत रेकर्ड गरे । साहस २०५९ सालतिर काठमाडौं आएर वसन्त उप्रेतीसँग संगीतको औपचारिक ज्ञान लिए । २०६० देखि एल्बम निकाल्ने सोचमा गीतहरू रेकर्ड गर्न थाले । काठमाडौंमै भएका केही सांगीतिक कार्यक्रमहरूमा दीपक बज्राचार्य, सुगम पोखरेलजस्ता कलाकारसँगै आफ्नो प्रस्तुति दिने अवसर पनि पाए ।
२०६२ सालको अन्ततिर साहसले लगभग एउटा एल्बम तयार गरिसकेका थिए । उनलाई आर्थिक रूपमा र अग्रज संगीतकर्मीहरूसँग चिनजान गराउन आफ्नै दाइ सागरले सहयोग गरेका थिए । साहसले सो समयका देशका चर्चित संगीतकर्मीहरू रविन दर्शनधारी, सुनिल बर्देवा, जेम्स प्रधान, पवन वाङ लामा आदिसँग सहकार्य गरे । सोही एल्बमको जुनी जुनीको बोलको गीतमा तत्कालीन समयकी चर्चित गायिका प्रीति कौरले पनि गायनमा साथ दिएकी थिइन् । २ ओटा गीतका भिडियो समेत बनाएर साहस काठमाडौँका विभिन्न क्यासेट कम्पनीहरूमा धाउन थाले । त्यतिबेला कम्पनीका मालिकहरूले अनेक खोट लगाएको, कतिले ढोकाबाटै भित्र छिर्न नदिएको सम्झँदा उनी निकै दुःखी बनेका थिए । कम्पनीका मालिकहरूको व्यवहारले उनका मनमा यिनीहरूका अगाडि केही गरेर देखाउँछु भन्ने ईख जाग्यो ।
संगीतको रसमा राम्रैसँग डुबुल्की मारेका साहसले २०६३ सालमा बुवाआमासँग जन्मदिनको उपहारको रूपमा कम्प्युटर माग गरे । छोराको संगीतप्रतिको लगाब देखेर सो प्रस्तावलाई उहाँहरूले सहजै स्वीकार गर्नुभयो र घरमा कम्प्युटर भित्रियो । अत्यन्तै जिज्ञासु र प्रबल इच्छाशक्ति भएका साहसले आफैँले सफ्टवयरहरू संकलन गरेर संगीत संयोजनको काम सिक्न थाले । केही समयपछि नाना ब्यान्डका टीका पुन र किरण पुनसँगको सहकार्यमा राम्रो गीत रेकर्ड भएर पनि बजारमा आउन सकेन । कम्प्युटर किनेको एक वर्ष पुग्दा नपुग्दै उनले आफ्नै शब्द, संगीत र संगीत संयोजनमा २५ ओटा गीतका डमी तयार गरी कम्पनी खोज्दै रेवल क्रियसन पुगे । सो कम्पनीका प्रबन्ध निर्देशक गगन प्रधानले साहसको कामलाई मन पराइसकेपछि दुई पक्षबीच मौखिक सम्झौता भयो । सोही समयमा रेवल क्रियसनबाट गायक शिव परियारको एल्बम तयार हुँदै थियो । विशेषगरी साहसको संगीतसंयोजनमा केही सम्भावना देखेका गगनले उनलाई सोही एल्बमको ‘तिमी मेरो हुनैपर्छ’ बोलको गीतको संगीत संयोजन गर्न दिए । जुन काम परीक्षणका लागि दिइएको थियो । सायद साहसले राम्रै तरिकाले परीक्षा दिएछन् क्यारे सोही कामपश्चात् उनलाई अफिसियल एरेन्जरको रूपमा राखियो । उनले त्यही एल्बमका तिम्रै निम्ति मखमली चोली, अलिकति नजर तिम्रो झुकाएर आऊसहित ३ वटा गीतमा काम गर्न पाए । जम्माजम्मी ६ वटा गीत रहेको सो एल्बममा उनको भागमा ३ ओटा र महाराज थापाको भागमा ३ वटा गीत परेका थिए । उमेर र अनुभवले अलि सिनियर महाराज थापा त्यतिबेलासम्म चर्चित र व्यस्त संगीत संयोजक भैसकेका थिए । शिव परियारको ‘अलिकति नजर तिम्रो’ गीतमा संगीत संयोजन गरेपछि साहसको पनि बजारमा राम्रै माग हुन थाल्यो ।
रेवलमै काम गर्दा २०६४÷०६५ सालतिर राजनराज शिवाकोटीको संगीतमा तयार भएका जिन्दगी यो ‘फूलैफूलको थुंगो हुँदैन’, ‘प्रिय तिम्रो सिउँदोमाझ’, ‘तिम्रै हातको सिन्दूर लाउँछु’लगायतका गीतमा साहसले संगीत संयोजन गर्ने अवसर पाए ।
साहसले वसन्त सापकोटाका ‘शिरैमा शिरबन्दी’, ‘म त मर्छु कि क्या हो ठूली’, ‘टुक्रिएको देश हैन’लगायत दर्जनौँ गीतमा सहकार्य गरेका छन् । महेश खड्काको ‘हङ्गामा भोझ र चलचित्र रातो घरको’, ‘झकास झापाली’ बोलका गीतमा संगीत संयोजन गरेका साहसलाई २०६८ सालतिर चण्डीप्रसाद काफ्लेको संगीत र शिव परियारको स्वरमा बजारमा आएको ‘क्या दामी भोझ बोलको गीतले चर्चाको शिखरमा पु¥यायो । गायक शिव परियार पनि यही गीतबाट नै चर्चामा आएका थिए ।
शम्भुजित बाँस्कोटाको संगीतमा रहेको २०१४ टि ट्वान्टी क्रिकेट विश्वकपका लागि ‘ताली बजाईदेऊ नेपाली’ बोलको गीतले साहसलाई संगीत संयोजकका रूपमा झन् चर्चित बनायो । दर्जनौं सर्जक कलाकारहरूसँग सहकार्य गरेका उनले हालसम्म २५ सयको हाराहारी गीतमा संगीत संयोजन गरेका छन् । उत्कृष्ट संगीत संयोजकका रूपमा एपिक नेपाल म्युजिक अवार्ड ,म्युजिक एन्ड फेसन अवार्ड लगायत आधा दर्जनभन्दा बढी अवार्ड हात पारिसकेका साहसले थुप्रै संघसंस्थाहरूबाट सम्मान समेत प्राप्त गरेका छन् ।
गायक बन्छु भनेर काठमाडौं छिरेका साहस अन्ततः चर्चित संगीत संयोजक बने । रोचक विषय त यो छ कि जुन जुन म्युजिक कम्पनीका मालिकहरूले फुच्चे नयाँ केटो भनेर साहसलाई बेवास्ता गरेका थिए तिनीहरूका पछिल्ला एल्बमहरूमा उनले संगीत संयोजकका रूपमा काम गरिसकेका छन । यसो त साहसले यो बीचमा फाट्टफुट्ट गीत नगाएका पनि हैनन् । गायनमा वेस्टर्न र फ्युजन शैलीलाई मन पराउने उनले कोरोना कहरको सुरुआतमा आफ्नै संगीत र स्वरमा गाएको मेरो विश्व मेरो घरले निकै चर्चा पाएको थियो ।
प्रतिक्रिया