देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

बीपीलाई बिर्सियो कांग्रेसले   

देशान्तर

परिवार र वंशवादको नाममा राणा र शाहवंशीय राजाहरूले जनतामाथि थोपरेको निरंकुशताविरुद्ध क्रान्तिको बिगुल फुक्ने जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्ती नेपालसहित संसारभर फैलिएका नेपालीले मनाउँदै छन् । नेपाली कांग्रेसका संस्थापक, पहिलो जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक बीपी कोइराला राजनीतिमा समन्यायिक सिद्धान्तका पक्षधर थिए । समान न्याय र अवसरको वकालत गर्ने बीपी राजनीतिमा मात्रै नभई साहित्य र दर्शनमा पनि उत्तिकै चर्चित थिए । त्यसैले त उनलाई राजनीतिसँगै साहित्यानुरागीहरूले पनि उत्तिकै स्मरण गर्ने गर्दछन् । नेपाली कांग्रेसले यसपालि उनको सम्झनामा साहित्य मेला नै आयोजना गरेको छ । राजनीति, साहित्य र दर्शनमा प्रख्यात बीपीलाई महामानवका रूपमा पनि स्मरण गर्ने गरिन्छ । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेसका लागि मात्रै नभई नेपालमा राजनीति गर्ने जो कसैका लागि पनि आदर्श पुरुष हुन् । प्रजातान्त्रिक समाजवादका प्रवर्तक बीपी कोइरालाले नेपालका लागि जुन राजनीतिक तथा आर्थिक व्यवस्थाको परिकल्पना गरे, अहिलेमात्रै नभई आगामी कयौं वर्षका लागि उत्तिकै सान्दर्भिक र आवश्यक रहनेमा कसैको दुई मत छैन । विचार, क्रान्ति, आन्दोलन, निर्माण र वितरणलाई एकसाथ राखेर राजनीतिक व्यवस्थाको कल्पना गर्ने र सोहीअनुसार मुलुकलाई अगाडि बढाउन खोज्ने एकमात्र नेता बीपी कोइराला नै हुन् । 

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो भने २०३९ साउन ६ गते निधन भएको थियो । त्यसैले हरेक वर्ष भदौ २४ मा बीपी जयन्ती र साउन ६ गते बीपी स्मृति दिवस मनाउने गरिन्छ । कोइराला विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । 

राजनीतिक आन्दोलनमा मात्र नभई नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका कोइरालालाई साहित्यिक क्षेत्रले पनि उत्तिकै रूपमा सम्झिने गरेको छ । संसारकै राजनीतिक अवस्थाको सही विश्लेषण गरेर सोहीअनुसार कदम चाल्न सक्ने नेता बीपी कोइरालाले राणा र राजाहरूको दासत्वबाट आम नागरिकलाई मुक्त गर्न पटकपटक संघर्षको नेतृत्व गरे । स्वदेशमात्रै नभई भारत प्रवासमा रहँदासमेत उनले आन्दोलनकै नेतृत्व गरे । आन्दोलन देशभित्रै बसेर गर्दा मात्रै सफल हुन्छ भन्नेमा विश्वास राख्ने बीपीले त्यसका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरी स्वदेश फर्किए । आफूलाई तत्कालीन राजाले मृत्युदण्ड दिन सक्ने बुझ्दाबुझ्दै पनि मेलमिलापको नीति लिई स्वदेश फर्किनु उनको सबैभन्दा ठूलो साहस मानिन्छ । 

आत्मवृत्तान्त र जेल जर्नलजस्ता कृतिमा बीपीले आन्दोलन र आफूले कल्पना गरेको व्यवस्थाका बारेमा विस्तृत रूपमा बताएका छन् । जेल बस्दा उनले लेखेका तर प्रकाशन नभएका कतिपय विषय यसपालि जेल डायरीका रूपमा प्रकाशन भएको छ । पटकपटक सुन्दरीजल जेलमा थुनिएका बीपीका विचार र सिद्धान्त जेलमा थुनिएनन्,  संसारभर फैलियो, अन्ततः मुलुकले काँचुली फे¥यो । २००७ सालदेखि अहिलेसम्म आउँदा क्रमिक रूपमा राजनीतिक व्यवस्था फेरिइरह्यो । उनले स्थापना गरेको कांग्रेस र कांग्रेसजनले मात्रै नभई कम्युनिस्टहरूले पनि बीपीलाई आदर्श मान्ने गरेका छन् । स्पष्ट आर्थिक नीतिसहित राजनीतिक व्यवस्थाको कल्पना गर्ने नेता बीपीबाहेक अन्य कोही देखिएका छैनन् ।   

तर, पछिल्लो समय उनले नै स्थापना गरेको दल नेपाली कांग्रेसले नै बीपी कोइरालाको नीति छाड्दै गएको बहकाउमा लाग्दै गएको भन्दै आलोचना हुने गरेको छ । वर्षमा एक, दुई पटक स्मरण गर्ने तर, उनले देखाएको बाटोमा नहिँड्ने आरोप कांग्रेसका नेताहरूमाथि लाग्ने गरेको छ । बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई सही रूपमा बुझ्न नसकेको र सरकारमा हुँदासमेत कार्यान्वयन गर्न नसकेको आरोप कांग्रेसमाथि नै लाग्दै आएको छ । 

निमुखा नागरिकलाई केन्द्रमा राखेर शासन व्यवस्था सञ्चालन गर्नुपर्ने र सबै नागरिकलाई राजनीतिक र आर्थिक अधिकारबाट सम्पन्न बनाउनुपर्ने बीपीको नीति पूर्णरूपमा कार्यान्वयन आउन सकेको छैन । बीपीले नै भने झैं सुकिला मुकिलाले पार्टी सन्चालन गर्ने, उनीहरूले सत्तामा हालीमुहाली गर्ने र हुनेखानेलाई नै पक्षपोषण गर्ने काम कांग्रेसकै सरकारबाट हुने गरेको देखिएको छ । त्यसैले बीपीका बारेमा चिन्तन गर्नेहरूले उठाउने मुख्य प्रश्न नै यही बनेको छ । उनीहरूको भनाइ छ, बीपीलाई श्राद्ध गर्ने काम भयो, श्रद्धा व्यक्त गरिएन, उनको सिद्धान्त व्यवहारमा लागू गरिएन । 

बीपी कोइराला राजनीतिक अगुवामात्रै थिएनन्, साहित्य क्षेत्रका नक्षत्र पनि थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदिआइन्’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । दुई कथा संग्रह ‘श्वेतभैरवी’ र ‘दोषी चस्मा’ नेपाली साहित्यका सदाबहार कृति बनेका छन् ।