देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रैथाने जातका धानको संरक्षणसहित धान चामलमा आत्मनिर्भर बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड

देशान्तर

काठमाण्डाै ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका रैथाने धानका जातको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेर देशलाई धान, चामलमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश व्यक्त गदै उनले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वसँग धान खेतीको सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि ठाउँ ओगटेको उल्लेख गरे ।

नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन–२०७५ कार्यान्वयन भइरहेको उल्लेख गरेका छन् ।

उहाँले भोकमरी अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्यहरू प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवर्द्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको सन्देशमा उल्लेख गरे ।