देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दा

देशान्तर

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा जनकमान्डर भनिएका विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराध अभियोगमा अनुसन्धान गर्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ।

आजै झापा, भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईंमाथि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणामाथि लगाइएका आरोपहरूसँगै अदालतबाट अनुसन्धान म्याद लिने तयारी गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहराका अनुसार, प्रारम्भमा राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अनुसन्धानको म्याद लिइनेछ भने पछि अन्य सम्भावित अपराधहरूमा पनि अनुसन्धान विस्तार गरिनेछ।

प्रहरीका अनुसार, प्रसाईंलाई तीनकुने घटनाको मुख्य योजनाकारको रूपमा अनुसन्धान अघि बढाइँदैछ। उनले प्रदर्शनका दिन प्रहरीमाथि ‘मारौँला झैँ’ भन्दै गाडी हाँकेको घटनालाई समेत प्रहरीले गम्भीर रूपमा लिएको छ र यसमा ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान हुने बताइएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, “तीनकुनेको प्रदर्शनको तयारीदेखि घटनाका दिनसम्म प्रसाईंले गरेका अराजक गतिविधि र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी उनले नै लिनुपर्ने देखिन्छ। घर तथा गाडीमा तोडफोड, आगजनी, र प्रदर्शनकै कारण दुई जनाको मृत्यु भएको छ, जसको जिम्मेवारी पनि प्रसाईंले लिनुपर्छ।”

प्रवक्ता बोहराका अनुसार, प्रसाईंविरुद्ध आएका उजुरीको समुचित दर्ता गरी पूरक जाहेरीको रूपमा थप अनुसन्धान अगाडि बढाइनेछ।