काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी सहितको वर्षा भएको छ । वर्षासँगै उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा घटिरहेको छ ।
बुधबारसम्म विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको रुपमा रहेको काठमाडौंको प्रदूषण आज धेरै मात्रामा घटेको छ । बिहान साढे ८ बजेको रिर्पोटअनुसार काठमाडौंको एयर क्वालिटी (एक्यूआई) १ सय १२ रहेको छ । जुन स्वास्थ्यका लागि भने हानिकार नै मानिन्छ ।
यसअघि बुधबार सम्म काठमाडौंको एक्यूआई २ सय भन्दा माथि थियो । आज सबैभन्दा प्रदूषित सहरको सूचीमा पाकिस्तानको लहोर सिटी रहेको छ भने दोस्रो नम्बरमा भारतको नयाँ दिल्ली सहर रहेको छ । नेपाल यो सूचीमा आज १३औँ स्थानमा पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्नेछ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया