काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । गत आइतबार फागुन २५ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम निर्देशकका लागि सिफारिस गरेका थिए । न्याम्स ऐनअनुसार अस्पतालको निर्देशकको नियुक्ति प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सहकुलपति (शिक्षामन्त्री)ले नियुक्त गर्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।
वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए । मन्त्री पौडेलले उनैलोई निर्देशक बनाउन खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा डा. शर्मा निर्देशक बनेका हुन् । त्यस्तै, बुधबारको मन्त्रिपरिषद् बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय ग¥यो । सचिवका लागि अतिरिक्त सचिवहरू डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो । गत फागुन १२ गते बसेको बढुवा सिफारिस समिति बैठकले सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको समितिले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनलगायत हेरेर सचिव नियुक्तिका लागि सिफारिस गरेका हुन् । सिफारिस समितिमा मुख्यसचिव एकनारायण अर्याल, विज्ञका रूपमा पूर्वस्वास्थ्य सचिव डा. किरण रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र आयोग अध्यक्षले तोकेका एक सदस्य थिए । सिफारिस समितिले क्रमशः डा. मिश्र, डा. देवकोटा र डा. बाराकोटीको नाम सिफारिस गरेको थियो । यीमध्ये डा. मिश्र वरिष्ठ हुन् । मिश्रभन्दा सात महिनापछि मात्रै डा. देवकोटा र डा. बाराकोटी १२औँ तहमा बढुवा भएका थिए । डा. मिश्र २०७९ असार २३ गते १२ औं तहमा बढुवा हुँदा सोही वर्ष चैत १३ गते एकै दिन डा. देवकोटा र डा. बाराकोटी बढुवा भएका थिए ।
आफूभन्दा कनिष्ठलाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिव नियुक्त गरेको भन्दै डा. मिश्रले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएकी छिन् । कानुनतः बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये कसैलाई पनि मन्त्रिपरिषदले सचिव नियुक्ति गर्न सक्छ । तीनजना मध्येबाट मन्त्रिपरिषद्ले आफ्नो स्वविवेक प्रयोग गरेर छान्न सक्छ । यसभन्दा अघि पनि राज्यका धेरै ठाँउमा पहिलो नम्बरमा सिफारिस भएका उमेदवारको सट्टा दोस्रो, तेस्रोमा परेका नियुक्त भएका छन् । तर नियुक्तिमा असन्तुष्टि जनाउँदै डा. मिश्र अहिले स्वास्थ्य मन्त्रालय गएकी छैनन् तर राजीनामा दिने पक्षमा पनि छैनन् । बरु मधेसी महिलाको ‘करिअर’ सक्न खोजेको आरोप लगाउँदै उनले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले डा. मिश्रलाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिव नियुक्त नगरेको भन्दै स्वास्थ्य मन्त्री पौडेललाई बर्खास्त गर्न माग गरे ।
शुक्रबारको प्रतिनिधि सभामा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले राज्यले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको भन्दै प्रश्न उठाइन् । पुरूष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? भन्दै डा. कार्कीले स्वास्थ्य सचिव नियुक्तिबारे प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जवाफ मागेकी थिइन् । मिश्र, देवकोटा र बाराकोटी तीनैजना १२औँ तहका डाक्टर हुन् ।
त्यस्तै, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.टंकप्रसाद बाराकोटी नियुक्त भएका छन् । उनले शुक्रबारबाट विभागको जिम्मेवारी सम्हालेका हुन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत मंगलबार २७ फागुन मन्त्रिस्तरीय निर्णय गर्दै डा. बाराकोटीलाई विभागको महानिर्देशक बनाएका थिए । तर उनले त्यसबेला नियुक्त गरिएको पत्र पाएका थिएनन् । निर्णय भएको दोस्रो दिन बुधबार समेत पत्र नपाउँदा केही अन्योल समेत उत्पन्न भएको थियो ।
महानिर्देशक बाराकोटीले आफूलाई महानिर्देशक बनाउने २७ फागुनकै निर्णय भएको तर शुक्रबार पाएको बताए ।
विसं ०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी ०७९ चैत १३ मा १२औँ तहमा बढुवा भएका थिए । त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै स्वास्थ्य मन्त्रालयमा आएका हुन् ।
प्रतिक्रिया